काठमाडौं । आसन्न प्रतिनिधिसभा लक्षित चुनावी प्रचारप्रसारको निर्धारित समय सकिन अब केही दिन मात्र बाँकी छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई यही फागुन १८ गतेसम्म मात्र चुनावी प्रचारप्रसारको समय दिएको छ । १८ गते मध्यरातिदेखि मौन अवधि सुरु हुनेछ । उक्त अवधिमा राजनीतिक दलहरूले कुनै पनि माध्यमबाट प्रचारप्रसार अर्थात् मत माग्न पाउने छैनन् । प्रचारप्रसारको निर्धारित समय उत्तरार्धमा आइपुग्दा राजनीतिक दलहरूले मतदाता रिझाउने प्रयासलाई उत्कर्षमा पुर्याएका छन् । विगतका निर्वाचनभन्दा यसपटकको निर्वाचन केन्द्रित प्रचारप्रसार केही फरक बन्न पुगेको छ, विशेष गरी शीर्ष नेताहरूको लागि । विगतका चुनावहरूमा प्रमुख दलका शीर्ष नेताहरू देशका विभिन्न निर्वाचन क्षेत्रमा जाने गरेका थिए । त्यहाँ रहेका आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अनेकौँ वाचा र आश्वासन दिने गरेका थिए । तर, यसपटकको निर्वाचनमा भने त्यस्ता दृश्य र भाषणहरू सीमित भएका छन् । प्रमुख दल एमाले र कांग्रेसका शीर्ष नेतादेखि साना दलका शीर्ष नेताहरू यो निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा खुम्चिएका छन् । शीर्ष नेताहरूको जिम्मेवारी आफू मात्र जित्नु नभई आफ्ना पार्टी उम्मेदवारलाई पनि जिताउन माहोल बनाउनु पनि हो । तर, यसपटक दलहरूका शीर्ष नेताहरू पार्टीलाई जिताउनुपर्ने जिम्मेवारीमा हुँदाहुँदै पनि आफ्नो हार रोक्नमा केन्द्रित देखिएका छन् ।
आफ्नै निर्वाचन क्षेत्रमा सबैभन्दा अगाडि यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखिनुभएको छ । अघिल्ला चुनावमा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा एक-दुईपटक मात्रै पुगेर सभा गर्ने गर्नुभएको थियो । विजयी हुन ओलीलाई त्यही एक-दुई सभाले पर्याप्त हुने गरेको थियो । तर, यसपटकको चुनावमा भने ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा अड्डा नै जमाएर बस्नुभएको छ । यसपटक ओलीले विगतको चुनावी प्रचार शैली र रणनीति नै परिवर्तन गर्नुभएको छ । विगतको चुनावी प्रचारलाई नै बदल्ने गरी ओली यसपटक मतदाताको घरघरमा पुगेर मत मागिरहनु भएको छ ।
माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरेपछि ओलीले अधिकांश समय झापामै बिताउनुभएको छ । अध्यक्ष ओलीले यसपटक पार्टीका अन्य उम्मेदवारको क्षेत्रमा ठूला सभालाई सम्बोधन गर्नुभएको छैन । उहाँले आफ्नो पार्टीका अन्य उम्मेदवारको निर्वाचन क्षेत्रलाई महत्व नदिएको देखिन्छ । ओली यसरी आफ्नो निर्वाचन क्षेत्रमा खुम्चिनुको प्रमुख कारण नयाँ दल र युवा नेताहरूले दिएको चुनौती नै हो । खासगरी काठमाडौं महानगरका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह आफूले जित्दै आएको निर्वाचन क्षेत्रमा भिड्न आएपछि ओली रक्षात्मक बन्नुभएको हो । देशभर नै बालेन र रास्वपाप्रति देखिएको ‘क्रेज’ले ओलीलाई थप झस्काएको छ ।
विगतका निर्वाचनहरूमा सबैभन्दा बढी देश दौडाह गर्ने र अधिकांश निर्वाचन क्षेत्रमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने गर्नुभएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि यसपटक आफ्नै निर्वाचन क्षेत्रमा सीमित बन्नुभएको छ । हरेक निर्वाचनमा निर्वाचन क्षेत्र फेर्दै आउनुभएका संयोजक प्रचण्ड यसपटक रुकुम पूर्वबाट उम्मेदवार बन्नुभएको छ । लगभग जित निश्चित बनाउन रुकुम पूर्वबाट उम्मेदवारी दिनुभएका प्रचण्ड पनि उम्मेदवारी दर्तापछि अधिकांश समय रुकुम पूर्व क्षेत्रका मतदातासँग बिताइरहनु भएको छ । मतदाताका घरको पिँढीमा बसेर रोटी खाएको देखि हिउँमा खेलेका र नाचेका दाहालका भिडियोहरू सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छन् । संयोजक दाहाल आफ्नी छोरी अर्थात् नेकपाकी नेतृ रेनु दाहालले उम्मेदवारी दिएको तथा आसन्न निर्वाचनको हट सिटमध्ये एक मानिएको चितवन–३ मा समेत पुग्नुभएको छैन ।
प्रतिनिधिसभा चुनावकै मुखमा साहसपूर्व पार्टीको नेतृत्व हत्याउन सफल हुनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि यसपटक रक्षात्मक अवस्थामै देखिनुभएको छ । विगतमा आफूले चुनाव जित्दै आएको काठमाडौं-४ छोडेर यसपटक सर्लाही-४ बाट उम्मेदवारी दिनुभएका सभापतिले आफ्नै निर्वाचन क्षेत्रमै बढी समय दिनुभएको छ । थापाले पार्टीका अन्य कार्यक्रमलाई समेत मधेसमा राखेर आफ्नो माहोल निर्माण गर्ने प्रयास गर्नुभएको छ । थापाले उम्मेदवारी दिएको सर्लाही-४ मा रास्वपाले कांग्रेस पृष्ठभूमिका नेता अमरेशकुमार सिंहलाई अगाडि सारेको छ । अन्य स्थापित दलका उम्मेदवारले पनि कडा टक्कर दिएका छन् । थापा छिटफुट रूपमा पार्टीका अन्य उम्मेदवारको क्षेत्रमा गए पनि विशेष ध्यान आफ्नै निर्वाचन क्षेत्रमा छ । यद्यपि, आफ्नो पार्टीप्रति विश्वास जगाउने गरी सभापति थापाले सामाजिक सञ्जालमा उपस्थिति बढाउनुभएको छ ।
नेकपाका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि आफ्नो निर्वाचन क्षेत्रमा नै केन्द्रित हुनुभएको छ । यसपटक सह-संयोजक नेपालले पार्टीका अन्य उम्मेदवारको क्षेत्रमा आयोजना भएका सभालाई सम्बोधन गरेको विरलै देखिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्र छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी स्थापना गर्नुभएका जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, आमजनता पार्टीका अध्यक्ष प्रभु साह, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलगायत पार्टीका नेतृत्वहरू पनि बढी आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित भएका छन् । नेकपा एमालेले आसन्न चुनावको लागि चुनावी कमाण्डर तोकेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि अहिलेसम्म पार्टीका उम्मेदवारको निर्वाचन क्षेत्रमा पुग्नुभएको छैन ।
आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित हुनेमा नयाँभन्दा पुराना र परम्परागत दलका शीर्ष नेताहरू बढी छन् । नयाँ पार्टीहरूको उदय र नयाँ लहरका कारण राजनीतिक अस्तित्व नै संकटमा पर्ने भयले नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित भएका विश्लेषण गरिएको छ । कति निर्वाचन क्षेत्रमा त पार्टीका प्रमुख नेताको उपस्थितिले चुनावी माहोल नै बिग्रने खतराका कारणले पनि उम्मेदवारहरू सचेत भएको सम्बन्धित पार्टीकै कतिपय नेताहरूको जिकिर छ ।
‘जेन-जी’ आन्दोलनसँग जोडिनुभएका एमाले अध्यक्ष ओली, सहकारी ठगी मुद्दामा जोडिनुभएका रवि लामिछाने, पतञ्जलि मुद्दामा मुछिनुभएका माधवकुमार नेपाल, सिंहदरबार जलाएको आरोप खेपिरहनु भएका बालेन साह मतदाताको मनोविज्ञान बुझेर सचेततापूर्वक चुनावी प्रचार गरिरहनु भएको छ । यस्तै, मतदातामा फेरिएको मनोविज्ञान र चाहनाले पनि उम्मेदवारहरूलाई आफ्नै निर्वाचन क्षेत्रमा सीमित हुन बाध्य पारेको छ । पार्टीका प्रमुख नेता नै निश्चित निर्वाचन क्षेत्रमा खुम्चिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले भने देश दौडाह नै गर्नुभएको छ । पुराना दलप्रतिको वितृष्णा र नयाँप्रतिको आकर्षणको कारण लामिछाने र साहलाई पुराना राजनीतिक दलका शीर्ष नेताहरूको भन्दा चुनावी प्रचारमा जान सहज भएको छ ।
एमालेको चुनावी पोस्टरबाट अध्यक्ष ओली आउट ?
नेकपा एमालेले चुनावी रणनीति परिवर्तन गरेको छ । पार्टीका उम्मेदवारको प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर नै हटाइएको छ । नेपाली कांग्रेसको चुनावी अभियानमा बनाइएका पोस्टरमा पार्टी सभापति गगन थापाको तस्वीरलाई विशेषगरी हाइलाइट गरिएको छ । नेकपाका अधिकांश उम्मेदवारहरूले पनि कार्यक्रमसँग सम्बन्धित चुनावी पोस्टरमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर राखेको देखिन्छ । रास्वपाका देशैभरका उम्मेदवारले आफूसँगै पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको तस्वीर पनि राखेका छन् । तर, एमालेले नेपाली राजनीतिमा जबरजस्त राजनेताको रूपमा स्थापित गर्न खोजिएका पात्र अर्थात् अध्यक्ष ओलीको तस्वीर भने यतिबेला एमालेका सबै उम्मेदवारको चुनावी पोस्टरबाट गायब भएको छ । लामो समयदेखि ओलीको गुटमा रहेर काम गरेका उम्मेदवारदेखि अन्य सबै एमालेका उम्मेदवारले चुनावी पोस्टरबाट ओलीको तस्वीर पूर्ण रूपमा हटाएका छन् । आफ्नो क्षेत्रको चुनावी कार्यक्रममा बोलाउँदासमेत असर पर्ने डरले पार्टीका कुनै पनि उम्मेदवारले ओलीलाई सार्वजनिक चुनावी कार्यक्रममा आमन्त्रण नगरेको एक नेताले जानकारी दिएका छन् । ओलीप्रति ‘जेन-जी’ पुस्तामा आक्रोश रहेकाले तस्वीर चुनावी प्रचार सामग्रीबाट हटाइएको हुनसक्ने अनुमान गरिएको छ ।
शेरबहादुर देउवाद्वारा चुनावलाई अघोषित बहिष्कार
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पाँच पटकका मुलुकको प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा चुनावलाई अघोषित रूपमा बहिष्कार गर्नुभएको छ । देउवाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा मतदानसमेत गर्ने/नगर्ने टुंगो छैन । विशेष महाधिवेशनबाट सभापति पद गुम्नुका साथै निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि देउवा पूर्णरूपले राजनीतिमा निष्क्रिय देखिनुभएको छ । पार्टीको आधिकारिकताबारे सर्वोच्च अदालतले समेत अन्तरिम आदेश नदिएपछि देउवाले अन्तिमपटक रूख चिह्नबाट चुनाव लड्ने प्रयास गर्नुभएको थियो । तर, सभापति गगन थापाले टिकट नदिएपछि देउवा प्रतिनिधिसभा निर्वाचनका सबै प्रक्रियाबाट बाहिरिनुभएको थियो । पार्टी पदाधिकारीहरूले विभिन्न च्यानलबाट पार्टीको चुनावी अभियानलाई साथ दिन आग्रह गरे पनि देउवाले मान्नुभएको छैन । पार्टी प्रवक्ता देवराज चालिसेले पूर्वसभापति देउवालाई पार्टीका उम्मेदवार जिताउने अभियानमा सामेल गराउने प्रयास भइरहेको जानकारी दिनुभएको छ । तर, देउवाको सचिवालयले भने कसैसँग भेटघाट र कुराकानी नभएको तथा कसैको प्रचारमा जाने सम्भावना पनि नरहेको उल्लेख गरेको छ । स्वास्थ्य र सुरक्षाको कारण देउवा यसपटक मतदानको लागि डडेल्धुरा जाने सम्भावना पनि कम रहेको निकट नेताहरूले बताएका छन् ।







ढोरपाटनमा पर्यटकको ओइरो : एक
दलित समुदायका थर सूचीकरण गर्नुअघि
एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई
अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि
ग्यासको कालोबजारी आरोपमा दुवाकोटका व्यापारी
२६ वर्षपछि हेटौँडा कपडा उद्योगमा