हुन्छ कि हुँदैन भन्ने संशय रहँदा रहँदै फागुन २१ गते आमनिर्वाचन सम्पन्न हुने सम्भावना प्रबलमात्रै होइन कि सुनिश्चित जस्तै भएको छ । आमनिर्वाचनको घोषणासहित सुशीला कार्की नेतृत्वको सरकार सत्तारोहण गर्दैगर्दा कतिपय राजनीतिक दलहरूले स्वतन्त्र निर्वाचनको विश्वास गरेका थिएनन् भने जेन-जी आन्दोलनकै अगुवा भनेका केही आशंकितहरूले पनि निर्वाचन हुन दिँदैनन् जस्तो सबैलाई लागेको थियो । भदौ २३ र २४ गतेकै जस्तै कुनै उत्पात भएन भने तोकिएको चुनाव अब सर्दैन भन्नेमा सबै ढुक्क छन् । फागुन ७ का लागि पूर्वराजाले दिएको वक्तव्य र त्यसलाई समर्थन गर्दै केही राजनीतिक दलले गरेका गतिविधिले केही आशंका उब्जाएको भए तापनि समस्त नेपाली जनको राजनीतिक स्थायित्वप्रतिको चिन्ताले सबैलाई परास्त गरेको छ ।
जति निर्वाचन नजिकिँदै छ, उति नै एकले अर्कोलाई लगाउने आरोप बढ्दै पनि छ । कुनै दलका सभापति भने अर्कोलाई गाली गर्दै नगर्नु भनी उर्दी जारी गर्दैछन् भने कुनै दलका सभापति अरूलाई आक्षेप लगाउन व्यस्त छन् । घृणाको राजनीतिबाट माथि उठ्नुपर्ने र उठाउनुपर्ने दायित्व सबैको बनेको छ र पनि कतिपय आरोप-प्रत्यारोपलाई नै राजनीति ठान्ने छन् । आफूलाई दशवटा मुद्दा छन् तर सुध्रिई सकेका अर्कालाई तिमी सुध्रिएर आऊ भन्ने सल्लाह दिने क्रम पनि चलेकै छ । यस्तै व्यूहभित्र पसेर हाम्रो भविष्य हामी आफैंले सुधार्नुपर्ने जिम्मेवारी मतदाताका काँधमा आएको छ ।
संसद्मै पुग्नै नहुन व्यक्तिले विजय प्राप्त गरे भने यत्रा युवाले ज्यान गुमाएर गराइएको शीघ्र निर्वाचन व्यर्थ नै हुन्छ । संसद्मा सानो संख्यामा प्रतिनिधित्व गर्नुपर्ने दलले अत्यधिक सिट ल्यायो भने पनि मुलुकवासीले तिरेको करको ठूलो हिस्सा खर्च गरेर सम्पन्न भएको निर्वाचनको कुनै अर्थ रहँदैन । यसले त देशवासीको समृद्धिको आकांक्षा र सुशासनको चाहनामाथि झनै प्रहार हुनपुग्दछ ।
८४ को चुनाव ८२ मा मात्रै हुने हो कि यो निर्वाचनले मुलुकलाई एउटा प्रतिनिधिसभा मात्रै दिन्छ या साँच्चिकै एउटा निकाश दिन्छ भन्ने हेर्न चाहिँ फागुनको अन्तिम साता कुर्नै पर्ने हुन्छ । संसद्मै पुग्नै नहुन व्यक्तिले विजय प्राप्त गरे भने यत्रा युवाले ज्यान गुमाएर गराइएको शीघ्र निर्वाचन व्यर्थ नै हुन्छ । संसद्मा सानो संख्यामा प्रतिनिधित्व गर्नुपर्ने दलले अत्यधिक सिट ल्यायो भने पनि मुलुकवासीले तिरेको करको ठूलो हिस्सा खर्च गरेर सम्पन्न भएको निर्वाचनको कुनै अर्थ रहँदैन । यसले त देशवासीको समृद्धिको आकांक्षा र सुशासनको चाहनामाथि झनै प्रहार हुनपुग्दछ । निर्वाचन साँच्चिकै निर्वाचन बनाउन मतदाता सचेत हुन सक्नैपर्दछ ।
अहिले सबै दलहरूले संकल्प पत्र, प्रतिज्ञा पत्र, वाचा पत्र आदि नाम दिएर घोषणापत्र ल्याएका छन् । मतदाताले ती पत्रहरूको अध्ययन गर्नैपर्ने हुन्छ । विसं २०४८, २०५१, २०५६ देखिका घोषणपत्रमा ती दलहरूले गरेका वाचाका बारेमा पनि संस्मरण गर्नुपर्ने हुन्छ । नयाँ दलले ल्याएका घोषणापत्रहरूमा भएका र ती दलका उम्मेदवारहरूले विगतमा देखाएका व्यवहारमा पनि तुलना गर्नैपर्दछ । यी सबै कुराहरू जानकारीमा राखेर घरमा मत माग्न आएका उम्मेदवारसँग उचित प्रश्न राखी उत्तरको अपेक्षा गर्ने मतदाताले मात्रै विवेकको मतदान गर्न सक्दछ । हावादारी आश्वासनका पोका बोकेर आएका उम्मेदवारका पछाडि मतदाता दौडिए भने जनताका चाहना जहाँको त्यहीँ रहनेमात्रै होइन कि मुलुक अझ पश्चगमनको मार्गमा दौडिने निश्चित छ ।
निर्वाचन घोषणा भएपछि आजका दिनसम्म आइपुग्दा देखिएका निर्वाचनका लहरहरू हेर्दा नेपालका मतदाता पूर्णरूपमा सचेत भइसके जस्तो लाग्दैन । कुन उम्मेदवार सही छ र कुन उम्मेदवारमा आफ्नो मत पर्यो भने आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेजस्तो हुन्छ भनी खुट्याउने मतदाताहरूको खाँचो वर्तमानको परिवेशले देखाइरहेको छ । नेपालको मुहार फेर्नसक्ने दल यही हो र यो दलले उत्तेजनामात्रै सिर्जना गर्ने हो भनी निर्क्यौल गरी मतदान गर्नसक्ने मतदाताको अझै कमी छ कि झैँ देखिँदैछ । कसलाई जिताउँदा आफ्नो र आफ्नो क्षेत्रको इज्जत बढ्छ र कसले जितेमा यस्ताका मतदाता भनी अरूले गिज्याउँदा शिर निहुर्याउँदै हिँड्नुपर्ने हुन्छ भन्ने सबैले ख्याल राख्लान् जस्तो पनि देखिएको छैन ।
यही परिस्थिति कायम रही रहेमा नेपालको संसद्ले स्थिरता दिने सम्भावना ज्यादै कम छ । संसद् के हो ? जनप्रतिनिधि भनेको के हो ? जनप्रतिनिधिको भूमिका कस्तो हुनुपर्दछ ? सांसद् भएपछि आफूले गर्ने काम के के हुन् ? पार्टीबाट बनेको उम्मेदवारले पार्टीको निर्देशन बेगर के कस्तामात्रै काम गर्न सक्दछ ? जस्ता कुराहरूको ज्ञान नै नभएकाहरू पनि निर्वाचनको मैदानमा उम्मेदवारका रूपमा देखिएका छन् । आफ्नो दायरा, क्षमता र दक्षतालाई मूल्यांकन नै नगरी जनताको यावत् समस्या फू मन्तर गरी समाधान गरिदिनेछु भन्ने वाचा गर्दै मत बटुल्न प्रयास गरिरहेका दृश्यहरू आमरूपमा देख्न पाइन्छ । मतदाताहरूको चरित्र हेर्दा यस्तै उम्मेदवारहरूले कतिपय क्षेत्रमा विजय हासिल गर्न नसक्लान् भन्ने पनि छैन । यसो भयो भने देशको संसद् एउटा नाटक मञ्चनको थलो बन्नेबाहेक केही हुँदैन ।
दलहरूले घोषणापत्र निकाली सकेका छन् यद्यपि आफ्नै दलको घोषणापत्रमा के लेखिएको छ थाहा नपाउने उम्मेदवार पनि मै जित्छु भनेर हिँडिरहेका छन् । देशको मुहार फेर्न र यो क्षेत्रका विकासका लागि तपाईंका योजना के के छन् र तपाईंको प्रतिबद्धता के मा छ भनेर मतदाताले सोद्धा अहिल्यै भन्दा अरूले थाहा पाउँछन्, पछि भन्छु भन्दै हिँड्नेहरू पनि देखिएकै छ । मञ्चमा उभिएर आफ्ना कुराहरू पाँच मिनेट राख्न नसक्ने र जनतासंग वा पत्रकारका प्रश्नमा दश मिनेट नटिक्नेहरू पनि उम्मेदवार भेटिएका छन् । यस्तै उम्मेदवारका पछाडि लाग्नेहरूको लर्को पनि सानो नहुँदा भोलिको संसद्का बारेमा कस्तो हुन्छ भनी यसै भन्नसक्ने अवस्था देखिएको छैन ।
पुराना दलबाहेकका अधिकांश नयाँ उम्मेदवारहरू पुराना दलका नेताहरूले आर्जन गरेका सत्ताशक्ति, धनसम्पत्ति र शानशौकतबाट लोभिएरमात्रै उम्मेदवार बनेका हुन् भनेर कसैले भन्यो भने त्यसलाई पूर्णतया अस्वीकार गर्न सक्ने अवस्था पनि छैन । अधिकांश नयाँ उम्मेदवारहरूमा नेपालको भौगोलिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक संरचना, चरित्र र स्वभाव कस्तो छ भन्ने जानकारी छैन र पनि मुलुकको अवस्था बदल्ने उद्घोष गर्दैछन् भन्न मिल्दैन भन्न पनि सकिन्न । यस्तो अवस्थामा देशको चिन्ता गर्दै मतदान गर्ने जिम्मेवारी मतदाताकै हो ।
जुन दलका उम्मेदवारहरू विगतमा राजनीतिमा नभए पनि अन्य कार्यक्षेत्रहरूमा रहँदा गलत साबित भइसकेका छन् भने त्यो दल र त्यसका प्रतिनिधिहरूले जनताको सही प्रतिनिधित्व कदापि गर्न सक्दैनन् । आज एउटा दलमा र भोलि अर्कै दलमा गर्दै हिँड्ने उम्मेवारहरूको बाहुल्य भएका राजनीतिक दलहरूले पनि जनताका चाहना बमोजिमको विकास दिने अपेक्षा गर्न सकिँदैन ।
कुन दलमा बसेर आफूले राजनीति गर्दैछु र त्यो दलको सिद्धान्त, विचार र आदर्श के हो भन्ने जानकारी नभएका उम्मेदवारहरू पनि प्रशस्तै भेटिएका छन् । आफ्नो दलले लिने आर्थिक नीति र राजनीतिक आस्थाका बारेमा ज्ञान नभएका पनि धेरै छन् । समाजवादी आर्थिक नीति, साम्यवादी आर्थिक नीति, उदारवादी नीति आदिका बारेमा थाहा पाउने कति छन् भन्ने त टाढाको प्रश्न हो । त्यतिमात्र नभई केही महिना अघिमात्रै आफैंले अत्यन्त आपत्तिजनक अश्लील शब्द प्रयोग गर्दै गाली गरेको दलबाट उम्मेदवारी दिएर मुलुक हाँक्ने सपना देखेकाहरू पनि मैदानमै छन् । यस्ता मध्येबाट कसलाई विजयी बनाउने हो मतदाताले सोच्न सकेनन् भने ८४ को चुनाव ८२ मा हुनु झन् प्रत्युत्पादक हुन्छ ।
असल र खराब जताततै हुन्छ नै । हरेक दलमा असलहरूको संख्या पर्याप्त नै हुन्छ र खराब व्यक्तिहरूको पनि संख्या उल्लेख्य नै हुन्छ । चाहे पुराना दलमा होस् या नयाँ दलमा, दुबैखाले व्यक्तिहरू भेटिन्छन् । मतदाताले मूल्यांकन गर्ने भनेको कुन दलले कस्ता व्यक्तिलाई प्राथमितकता दिएको छ भन्ने हो । अधिकांश उम्मेदवार सही छन् र कुनै–कुनैमात्रै बाध्यतावश वा झुक्किएर गलत उठाउन पुगेको छ भने त्यो दललाई उचित ठान्नुपर्दछ । त्यस्ता दलका असल जतिलाई जिताएर खराबलाई ठेगान लगाउने क्षमता मतदातासँग मात्रै हुन्छ । आफ्नो यस्तो शक्तिलाई कसरी प्रयोग गर्ने भन्ने उचित निर्णय गर्ने थलो मतदान केन्द्रमात्रै हो ।
कुनै दलको नेतृत्व नै बद्नाम छ भने त्यो दलले मुलुकलाई अग्रगति दिने सपनामा पनि सोच्न सकिन्न । जुन दलका उम्मेदवारहरू विगतमा राजनीतिमा नभए पनि अन्य कार्यक्षेत्रहरूमा रहँदा गलत साबित भइसकेका छन् भने त्यो दल र त्यसका प्रतिनिधिहरूले जनताको सही प्रतिनिधित्व कदापि गर्न सक्दैनन् । आज एउटा दलमा र भोलि अर्कै दलमा गर्दै हिँड्ने उम्मेवारहरूको बाहुल्य भएका राजनीतिक दलहरूले पनि जनताका चाहना बमोजिमको विकास दिने अपेक्षा गर्न सकिँदैन । त्यस्ताको त जहिल्यै आफ्ना महत्वाकांक्षा पूरा गर्नेमात्रै लक्ष्य हुन्छ र उनीहरूको ध्यान जहिले पनि सत्ता वरपरमात्रै घुमिरहेको हुन्छ ।
निरन्तर सत्ताको अवसरको खोजीमा रहिरहेका र सत्ताबाट प्राप्त हुने रसास्वादन प्राप्त गर्न छाडेको एक महिना नहुँदै पुरानो दल छाडी नयाँ दलहरूबाट उम्मेदवारी दिनेको संख्या पनि यथेष्ट छ । त्यस्तै मान्छेहरू जम्मा पारेर खुलेका दलहरू पनि देखिएकै छन् । यस्ताबाहेक जनताका सेवामा निरन्तर लागेका अनि यो चुनावमा उम्मेदवार बनेकाहरू पनि पर्याप्त छन् । मुलुकमा सुशासन र भ्रष्टाचारमुक्त समाजको सपना देखेका उम्मेदवार प्रशस्तै छन् । यस्ताका बीचमा गुहु र गोबर छुट्याउने जिम्मेवारी मतदाताकै हो । मतदाताले के गर्छन् भन्ने थाहा पाउन फागुन २१ कुर्नै पर्दछ ।
सामाजिक सञ्जालका पछाडि दौडिएर चिन्दै नचिनेका उम्मेदवारलाई यसपटक नेपाली मतदाताले निश्चय नै भोट हाल्ने छैनन् । पुराना दलले खराबमात्रै गरे भन्ने भाष्य निर्माण गरी भए गरेका कामहरूलाई नजरअन्दाज पनि पक्कै हुने छैन । नयाँ दलका पनि सबै खराब छैनन् भन्ने पनि हेक्का राख्न सक्नैपर्दछ । मतदाताले ख्याल गर्नुपर्ने के हो भने भोलिका दिनमा आफ्ना सांसद्ले बलात्कार गरे, दिउसै बन्दुक पड्काए, जुवाखालबाट माननीय पक्डिए, मदिरा वा लागूपदार्थमा लठ्ठ सांसद् मेरै परे भन्ने जस्ता दिन नआऊन्, हार्दिक शुभकामना !







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर