परिवर्तनको अर्थ र यसको मर्यादा स्खलित भएको हो कि परिणामलाई सफलताको राजमार्गमा डोर्याउन नसकिरहेको राजनीतिक, प्रशासनिक, न्यायिक र अन्य सम्बन्धित क्षेत्रको लापर्बाही हो ? यो प्रश्न निरन्तर सान्दर्भिक भएर उठरहने गरेको छ । देशले पछिल्ला केही दशकहरूमा राजनीतिक परिप्रेक्ष्यमा धेरै उतार–चढाव अनुभव गर्यो । संविधानसभाबाट लोकतान्त्रिक व्यवस्थापना हुँदै हालको संघीय संरचनामा आएको सुधारले जनताको अधिकार, प्रतिनिधित्व र लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउने अपेक्षा राखेको छ । यद्यपि संघीयतालाई सबल गराउने अनेक कानुनहरु अझै निर्माण नभएको अवस्था छ । तरपनि, प्रत्येक निर्वाचनका बेला उठ्ने प्रश्न भनेकै, ‘के हामी परिवर्तनतर्फ अग्रसर छौं वा पुरानै संरचना र प्रवृत्तिमा निरन्तरता देखाइरहेका छौं ?’ नियमित प्रश्न भएको छ ।
निर्वाचन एउटा जनमतको प्रतिनिधित्वमात्र होइन, यो राजनीतिक परम्परा र सामाजिक धारणाको पनि ऐना हो । मतदाताले आफ्नो निर्णयमार्फत सत्ता, नीति, नेतृत्व र विकासको दिशा निर्धारण गर्छन् । त्यसैले, हरेक निर्वाचनमा जनता परिवर्तनको आशा राख्छन्, नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दृष्टिकोण ।
तर, व्यावहारिक रूपमा हामी प्रायः देख्छौं कि परिवर्तन र निरन्तरताबीचको सन्तुलन जटिल हुन्छ । धेरै निर्वाचनमा पुराना राजनीतिक दल, पुराना नेतृत्व र परम्परागत संरचनाले आफ्नो प्रभुत्व कायम राख्ने प्रवृत्ति देखिन्छ । यसले समाजमा निरन्तरता र स्थिरता त ल्याउँछ तर नवप्रवर्तन र सुधारको गतिलाई सुस्त बनाउँछ ।
उदाहरणका लागि, चुनावी रणनीति, प्रचारप्रसारका तरिका, राजनीतिक गठबन्धन र पार्टीहरूबीचको प्रतिस्पर्धा प्रायः हरेक निर्वाचनमा उस्तै देखिन्छ । यसले मतदातामा परिवर्तनको आशा र उत्साह कम गर्न सक्छ । तर अर्कोतर्फ, निरन्तरता पनि राज्य सञ्चालनमा स्थिरता, नीति कार्यान्वयन र दीर्घकालीन योजनाको लागि जरुरी छ ।
यस सन्दर्भमा महत्वपूर्ण प्रश्न यो हो कि जनता के चाहन्छन्-नव नेतृत्व र नयाँ सोच जसले तत्काल सुधार ल्याउँछ, वा स्थिरता र परिचित नेतृत्व जसले क्रमिक विकासमा विश्वास राख्छ ? उत्तर स्पष्ट छैन, किनकि दुवै पक्षमा लाभ र चुनौती दुवै छन् । देशका विभिन्न क्षेत्रमा मतदाताको प्राथमिकता फरक-फरक देखिन्छ । शहरी क्षेत्रमा युवाहरू प्रायः आक्रामक परिवर्तनको पक्षमा हुन्छन्, नयाँ विचार र प्रविधिमूलक दृष्टिकोणको माग राख्छन् । ग्रामीण क्षेत्र वा परम्परागत संरचनामा आधारित समाजले निरन्तरता र अनुभवजन्य नेतृत्वलाई बढी मूल्य दिन्छ । यसले निर्वाचनमा मत परिणाममा विविधता ल्याउँछ ।
केही दिनभित्रै हुने प्रतिनिधिसभा निर्वाचनमा पनि पुराना स्थापित नेताहरू र उदाउँदै गरेका नयाँ पुस्ताका नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । २०४७ सालको प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ मा सम्पन्न पहिलो आमनिर्वाचनदेखि निरन्तर सक्रिय रहेका केही नेताहरू अझै पनि चुनावी मैदानमा उत्रिएका छन् । तीन दशकभन्दा बढी समयदेखि दोहोरिँदै आएको नेतृत्व शैली र अनुहारप्रति मतदातामा परिवर्तनको चाहना बढेको संकेत यसपटक स्पष्ट देखिएको छ ।
पुराना नेताहरू आफ्नो परम्परागत निर्वाचन क्षेत्र जोगाउन केन्द्रित देखिन्छन् । झापा-५ मा आफ्नै जनमत सुरक्षित गर्न केपी शर्मा ओली व्यस्त रहनुभएको छ भने अन्य वरिष्ठ नेताहरू पनि आफ्नै क्षेत्रमा सीमित देखिएका छन् । तर, नयाँ पुस्ताका उम्मेदवारहरू भने देशव्यापी अभियानमा सक्रिय छन् । आफ्नो क्षेत्रसँगै अन्य ठाउँमा पनि मतदातासँग प्रत्यक्ष संवाद गर्न उनीहरू अग्रसर देखिन्छन् । सामाजिक सञ्जाल, जनसभाहरू र युवा परिचालनमार्फत उनीहरूले व्यापक उपस्थिति जनाइरहेका छन् ।
समग्रमा हेर्दा आगामी निर्वाचन पुराना र नयाँ पुस्ताबीचको प्रत्यक्ष प्रतिस्पर्धाका रूपमा उभिएको छ । विजयीको हुन्छ भन्ने निर्णय मतपेटिकाले गर्नेछ, तर परिणाम जस्तोसुकै आए पनि अबको संसद्मा नयाँ अनुहारहरूको उल्लेख्य उपस्थिति हुने संकेत बलियो छ । यस प्रतिस्पर्धाले देशव्यापी रूपमा उत्साह र प्रतीक्षा दुवै बढाएको छ ।
नेपाली राजनीति अहिले निर्णायक मोडमा उभिएको छ । यो निर्वाचन केवल व्यक्तिहरूबीचको प्रतिस्पर्धामात्र होइन, राजनीतिक संस्कार, कार्यशैली र प्राथमिकताबीचको छनोट पनि हो । लामो समयदेखि सत्ता र शक्तिको केन्द्रमा रहेका नेताहरूले अनुभव, संगठन र संरचनाको बलमा आफ्नो प्रभाव कायम राख्न खोजिरहेका छन् भने नयाँ पुस्ताले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी शासनको नारासहित मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।
लोकतन्त्रको सुन्दर पक्ष नै यही हो-अन्ततः निर्णय जनताकै हातमा हुन्छ । मतदाताले स्थायित्व रोज्ने कि परिवर्तन, अनुभव रोज्ने कि ऊर्जा, परम्परा रोज्ने कि नवीनता-यसको उत्तर मतपेटिकाबाट प्रकट हुनेछ । तर, जे परिणाम आए पनि अबको राजनीतिक यात्रामा पुस्तान्तरण, नीति-आधारित बहस र कार्यसम्पादनमुखी नेतृत्व अपरिहार्य भइसकेको छ ।
यस निर्वाचनले केवल नयाँ सरकार बनाउने मात्र होइन, नेपालको राजनीतिक संस्कृतिलाई कुन दिशातर्फ मोड्ने भन्ने ऐतिहासिक निर्णय पनि गर्नेछ। त्यसैले यो प्रतिस्पर्धा परिणामभन्दा पनि भविष्यको मार्गचित्र तय गर्ने दृष्टिले बढी महत्वपूर्ण छ ।
अन्ततः, निर्वाचनमा परिवर्तन वा निरन्तरता भन्ने प्रश्न जनताको सचेत विकल्प र राजनीतिक दलको उत्तरदायित्वमा निर्भर गर्दछ । यदि दलहरूले जनताको अपेक्षानुसार सुधार र नवप्रवर्तन देखाउँछन्, नागरिकहरू परिवर्तनतर्फ जान सक्छन् । यदि दल र नेतृत्व पुरानै सोच र प्रवृत्तिमा अडिग रहन्छन् भने, निरन्तरता जारी रहने सम्भावना उच्च हुन्छ । नयाँ दल र नयाँ अनुहारका नाममा नेपाली जनता अराजकतालाई स्वागत गर्नसक्दैनन् भन्ने पनि स्पष्ट छ ।
सम्पूर्णमा भन्नुपर्दा, निर्वाचन भनेको केवल मतगणना र विजय-पराजयको विषयमात्र होइन । यो जनताको राजनीतिक चेतना, नेतृत्वको गुणस्तर र राष्ट्र निर्माणको दिशासँग गहिरो सम्बन्धित हुन्छ । आजको अवस्थामा हामीले चाहेको परिवर्तन र निरन्तरता बीचको सन्तुलनले मात्र लोकतन्त्रलाई बलियो र समृद्ध बनाउनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच