एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोककला, संस्कृति र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९८ मा स्थापना भएको एक विशुद्ध सामाजिक संस्था हो । यस संस्थाले दुई दशकभन्दा बढी समयदेखि नेपाली लोकनृत्य, संगीत र परम्परालाई विश्वसामु चिनाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । सन् २०१२ देखि दक्षिण कोरियामा केन्द्रीय कार्यालय रहेको फेडेरेसन अफ इन्टरनेसनल डान्स फेस्टिभलको सदस्य बनेपछि संस्थाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदान-प्रदानमा अझ सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सन् २०२४ मा नेपालमा सम्पन्न अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको उत्कृष्ट व्यवस्थापनको कदर गर्दै दक्षिण कोरियाको छनान शहरमा आयोजित विशेष समारोहमा संस्था तथा अध्यक्ष आरसी कोइरालालाई व्यक्तिगत रूपमा सम्मान गरिएको थियो । १३औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६ का संयोजकसमेत रहनुभएका अध्यक्ष रामचन्द्र कोइराला (आरसी)सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
एभरेष्ट नेपाल कल्चरल ग्रुप स्थापना गर्नुको मूल उद्देश्य के थियो ?
नेपाली लोककला, संस्कृति र परम्परा हाम्रो पहिचानको आधार हो । तर, आधुनिकताको तीव्र प्रभावका कारण लोकसंस्कृतिप्रति आकर्षण घट्दै गएको महसुस गरियो । यही चिन्ताबाट केही संस्कृतिप्रेमीहरूको सामूहिक पहलमा सन् १९९८ मा संस्था स्थापना गरिएको हो । हाम्रो मूल लक्ष्य लोकसंस्कृति र लोकनृत्यको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो पहिचानलाई विस्तार गर्नु हो ।
‘लोकसंस्कृति देशको आत्मा हो । यसको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व हो । सरकार, निजी क्षेत्र र सम्पूर्ण नेपाली समाजको सहकार्य भएमा यस्तो अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान अझ प्रभावकारी बन्न सक्छ । नेपाली लोककला र संस्कृतिलाई विश्वमाझ चिनाउन हामी सबैले हातेमालो गर्न आवश्यक छ ।’
अन्तर्राष्ट्रियस्तरमा संस्थाको भूमिका कस्तो रह्यो ?
सन् २०१२मा दक्षिण कोरियामा केन्द्रीय कार्यालय रहेको फेडेरेसन अफ इन्टरनेसनल डान्स फेस्टिभल (एफआइडिएएफ)को सदस्य बनेपछि हाम्रो अन्तर्राष्ट्रिय पहुँच अझ फराकिलो भयो । अहिलेसम्म नेपाली सांस्कृतिक टोलीले विश्वका १०० भन्दा बढी अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाहरूमा सहभागिता जनाएको छ । जहाँ-जहाँ नेपाली टोली पुगेको छ, त्यहाँ नेपाली लोकनृत्य र संस्कृतिले गहिरो छाप छोडेको छ । यसले नेपालको सांस्कृतिक कूटनीतिमा सकारात्मक योगदान पुर्याएको छ ।
सन् २०२४ मा प्राप्त अन्तर्राष्ट्रिय सम्मानलाई कसरी लिनुहुन्छ ?
यो सम्मान केवल संस्थाको मात्र होइन, सम्पूर्ण नेपाली कला-संस्कृतिप्रेमीहरूको हो । नेपालमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको व्यवस्थापन उत्कृष्ट भएको मूल्यांकनपछि दक्षिण कोरियाको छनानमा आयोजित कार्यक्रममा हामीलाई सम्मान गरिएको थियो । यसले आगामी दिनमा अझ जिम्मेवारी थपेको महसुस भएको छ ।
१३औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६ को तयारी कस्तो छ ?
सुरुमा फागुन १५ देखि २४ गतेसम्म आयोजना गर्ने योजना थियो । तर, सोही अवधिमा आमनिर्वाचन तय भएपछि निर्वाचन आयोगको औपचारिक अनुरोधलाई सम्मान गर्दै मेला चैत ५ देखि १४ गतेसम्म सारिएको छ । लोकतान्त्रिक प्रक्रियाप्रति सम्मान जनाउँदै हामीले यो निर्णय गरेका हौं । तयारी आन्तरिक रूपमा भइरहेको छ । पहिलाका भन्दा अझ राम्रो र भव्य बनाउन जुटेका छौँ ।
मिति परिवर्तनले कत्तिको प्रभाव पार्यो ?
केही व्यवस्थापकीय चुनौती आए पनि अधिकांश विदेशी कलाकार समूहहरूले नयाँ मितिअनुसार सहभागिता सुनिश्चित गरिसकेका छन् । इस्टोनिया, पोल्याण्ड, जर्मनी, इजरायल, बंगलादेश, बोत्स्वाना, भारत, दक्षिण अफ्रिका, टर्की, ताइवानलगायत १२-१५ देशका ३५० भन्दा बढी कलाकार नेपाल आउने तयारीमा छन् ।
मेला कहाँ-कहाँ आयोजना हुनेछ ?
मेला काठमाडौं, पोखरा, काभ्रेको पाँचखाल र पनौतीलगायत विभिन्न स्थानमा आयोजना हुनेछ । यसले केवल राजधानीमा सीमित नभई देशका विभिन्न शहरमा सांस्कृतिक उत्सवको माहोल सिर्जना गर्नेछ ।
आगामी कार्यदिशा के छ ?
हाम्रो लक्ष्य सांस्कृतिक आदान–प्रदानमार्फत् नेपालको अन्तर्राष्ट्रिय पहिचान अझ फराकिलो बनाउनु हो । नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले यहाँको लोकसंस्कृति आफैंमा पर्यटकका लागि ठूलो आकर्षण हो । सांस्कृतिक पर्यटन प्रवर्द्धन हाम्रो प्राथमिकतामा छ ।
अन्त्यमा ?
लोकसंस्कृति देशको आत्मा हो । यसको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व हो । सरकार, निजी क्षेत्र र सम्पूर्ण नेपाली समाजको सहकार्य भएमा यस्तो अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान अझ प्रभावकारी बन्न सक्छ । नेपाली लोककला र संस्कृतिलाई विश्वमाझ चिनाउन हामी सबैले हातेमालो गर्न आवश्यक छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच