काठमाडौं । आगामी चैत १९ देखि २३ सम्म हुनलागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दशौं संस्करणको तयारी तीव्र भइरहेको छ । अहिले निफ ‘प्री-इभेन्ट’मा प्रवेश गरेको छ । यसअन्तर्गत रहेर निफले चलचित्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूसँग अन्तर्क्रिया कार्यक्रम जारी राखेको छ ।
नक्सालस्थित कान्तिपुर थिएटरमा निफले ‘हर सिनेमा, हर भोइस’ शीर्षकमा तीन महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
निफका अध्यक्ष केपी पाठकका अनुसार महिला मेकरहरूले फिल्म क्षेत्रमा भोग्नु परेको समस्या उजागर गर्न यो कार्यक्रम राखिएको हो । उहाँले भन्नुभयो, ‘पुरुष प्रधान भनिदै आएको नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकहरूले लिंगकै कारण कस्ता–कस्ता समस्या भोग्ने रहेछन् भन्ने कुरा उनीहरूबाटै सुनाउन खोजिएको हो । उनीहरूको आवाज बहसमा विकास होस् भन्ने हाम्रो उद्देश्य हो ।’
कार्यक्रममा तीन निर्देशकहरूले कामका दौरान महिला भएकै कारण आफूहरूले भोगेको ‘अपमान’ र कठिनाइ शेयर गरे । संगीता श्रेष्ठले महिला निर्देशकहरूको बौद्धिकता र रचनात्मक क्षमताको कदर नभएको यथार्थ सुनाउनुभयो । ‘एउटा भिडियो वा फिल्म तयार हुन्छ तर, त्यसको जस महिला निर्देशकले पाउँदैनन् । ‘क्यामेराम्यानले खिचिदियो होला, सम्पादकले भिडियो तयार गर्यो होला । त्यसले के भूमिका छ र ?’ भन्ने कुरा सुनिन्छ । यो महिला निर्देशकको क्षमतालाई शून्यमा झार्ने काम हो,’ उहाँले भन्नुभयो ।
महिला भएकै कारण आफूले छायांकनस्थलमा निर्देशकको दर्जा नपाएको समुन्द्र भट्टले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘एक फिल्मको सुटिङ सकिएपछि निर्माता र क्यामेराम्यानले अनुमतिबिनै अर्को पुरुष निर्देशक खोजेर बेड सिन खिच्नुभएको छ, जुन फिल्ममा म निर्देशक थिएँ ।’ यस विषयको प्रतिकार गर्दा आफूलाई बदनाम गराउने प्रयास भएको उहाँको दाबी छ ।
अर्को चलचित्रमा भिडियो सम्पादकले ‘एक साता घरमा गएर सुत्नु, बुहारी मान्छे, म आफैँ फिल्म सम्पादन गर्छु’ भनेर रचनात्मक अधिकार र पदीय मर्यादाको सम्मान नगरेको उहाँले सेयर गर्नुभयो । महिला निर्देशकलाई विश्वास गर्ने बजारको खाँचो रहेको उनीहरूको भोगाइ छ ।
निर्देशक उषा रजकले सेयर गर्नुभयो, ‘महिला निर्देशकहरूलाई बजारले पत्याउँदैन । स्पोन्सर र लगानीकर्ता भेट्नै सकिँदैन ।’ यही विषयसँग सम्बन्धित अर्को यथार्थ समुन्द्रले सेयर गर्नुभयो । ‘बजारमा महिला निर्देशकको प्रोजेक्टमा लगानी गर्ने निर्माता पाइँदैनन् । मैले आफ्नै श्रीमान्लाई निर्माता बनाउँदा, ‘मूर्ख बुढाको सम्पत्ति सकाउने भई’ भन्ने टिप्पणी गरेको सुनेको छु ।’
चलचित्र क्षेत्रमा महिला निर्देशकको बौद्धिकता र रचनामा अविश्वास प्रमुख समस्या रहेको उनीहरूको भनाइ छ । महिला भएका कारण सहकर्मीबाट अपमानजनक व्यवहार खेप्नुपर्ने दुःखद् विषय रहेको उनीहरूले भोगाइ सुनाए ।
‘हर सिनेमा, हर भोइस’ निफको दोस्रो ‘प्री इभेन्ट’ अन्तर्क्रिया कार्यक्रम हो । यसअघि ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा अन्तर्क्रिया गराएको थियो, जहाँ युवा फिल्म मेकरहरूबीच अन्तर्क्रिया भएको थियो ।
निफले लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम तय गरेको छ । ‘निर्माताको खोजीमा रहेका लेखकहरूका लागि अवसर’ बन्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको अध्यक्ष पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कार्यक्रममा लेखकहरूले आफ्नो कथा निर्माताहरूलाई सुनाउन पाउनेछन् । हामी लेखकहरूलाई कथा सुनाउने मञ्च दिन्छौं, जहाँ निर्माताहरूको उपस्थिति रहनेछ ।’ यो कार्यक्रम निफको तेस्रो दिन अर्थात् चैत २१ गते हुने निफले बताएको छ ।
यसका लागि लेखकहरूले चैत ६ गतेभित्र निफमा आवेदन दिइसक्नुपर्नेछ । त्यस्तै, युवाहरूलाई फिल्म महोत्सवसँग जोड्ने उद्देश्यले ‘फ्रेम योर फ्युचर’ शीर्षकको प्रतियोगिता ल्याइएको छ ।
यस प्रतियोगितामा सहभागी हुन आफ्नो कथामा दुई मिनेटको भिडियो बनाउनुपर्ने छ । विजेताले पन्द्र हजार, उपविजेताले दश हजार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि चैत ११ सम्म आवेदन दिन सकिन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच