काठमाडौं । नेपालभाषा चलचित्र, संगीत तथा सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने उद्देश्यका साथ नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म ‘नेवा फ्लिक्स’सार्वजनिक गरिएको छ । इलोहं इन्टरटेनमेन्टको आयोजनामा शनिबार कीर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा प्लेटफर्मको औपचारिक घोषणा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्य, ‘नेवा फ्लिक्स’का प्रमुख कार्यकारी अधिकृत (सिइयो) दर्शनवीर शाक्य, किर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जन, वरिष्ठ फोटोग्राफर राजभाई सुवाल तथा विभिन्न कला-संस्कृतिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम प्रज्ञादेवी शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
सो अवसरमा अध्यक्ष डिसीले विगतको सांस्कृतिक आन्दोलन स्मरण गर्दै भाषा संरक्षणको संघर्ष अहिले डिजिटल माध्यममा केन्द्रित भएको बताउनुभयो । ‘कुनै बेला हामी पम्प्लेट छाप्थ्यौं, भित्ते लेख्थ्यौं । त्यो भाषा जोगाउने संघर्षको समय थियो। अहिले संघर्षको रूप फेरिएको छ–अब डिजिटलमै भाषा जोगाउनुपर्छ’, उहाँले भन्नुभयो ।
प्रविधिसँग नजोडिएको भाषा र सिनेमा दीर्घकालीन रूपमा टिक्न नसक्ने उल्लेख गर्दै उहाँले ‘नेवा फ्लिक्स’ जस्ता प्लेटफर्म समयको आवश्यकता भएको जिकिर गर्नुभयो । ‘आजको पुस्ता मोबाइलमै छ । हाम्रो सिनेमा र सामग्री पनि त्यहीँ पुग्नुपर्छ । अब नेपालभाषा सीमित घेराभित्र होइन, विश्व बजारमा पुग्नुपर्छ’, उहाँले थप्नुभयो ।
अध्यक्ष डिसीले बोर्डले पुराना क्लासिक कृतिहरू-‘सिलु’ र ‘राजमती’ लगायतका चलचित्रको डिजिटलाइजेशनमा जोड दिइरहेको जानकारी दिँदै डिजिटल आर्काइभ र ओटीटी प्लेटफर्म संरक्षण र प्रवर्द्धनको प्रभावकारी माध्यम बन्ने बताउनुभयो । निजी क्षेत्रको यस्तो पहललाई बोर्डले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै आवश्यक सहकार्यका लागि सधैं तयार रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २६ वर्षदेखि प्रकाशन क्षेत्रमा सक्रिय संस्थाले समयानुसार प्रविधिसँग अघि बढ्ने निर्णय गर्दै ‘नेवा फ्लिक्स’ सुरु गरेको बताउनुभयो ।
सिइयो दर्शनवीर शाक्यका अनुसार दुई वर्षको तयारीपछि प्लेटफर्म सञ्चालनमा आएको हो । इन्टरनेटमार्फत नेपालभाषाका सिनेमा, म्युजिक भिडियो तथा सांस्कृतिक सामग्री हेर्न सकिने जानकारी दिँदै उहाँले दर्शकको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले नेपालभाषा चलचित्र प्रदर्शनमा समस्या आए सहकार्य गर्न तयार रहेको बताउनुभयो । वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले चलचित्र प्रदर्शनको स्वरूप रिलबाट ओटीटीमा रूपान्तरण हुँदै गएको उल्लेख गर्दै नेपालभाषा सिनेमा नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।
आयोजकका अनुसार ‘नेवा फ्लिक्स’ले सिनेमा हलसम्म पुग्न नसक्ने दर्शकलाई घरमै बसेर सामग्री हेर्ने अवसर प्रदान गर्नेछ । साथै नेपालभाषा चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने दीर्घकालीन लक्ष्य राखिएको जनाएको छ । नेपालभाषा सिनेमा डिजिटल युगमा प्रवेश गरेको संकेत गर्दै ‘नेवा फ्लिक्स’ लाई भाषा संरक्षण र व्यावसायिक विस्तारको नयाँ अध्यायका रूपमा हेरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच