निर्वाचन निष्पक्ष, भयरहीत र स्वतन्त्रतापूर्वक होस् अब हामी सबैको कामना यहीमात्रै हो । जय वा पराजय हाम्रो विषय होइन । तर संघीय लोकतान्त्रिक गणतन्त्र पराजित हुनुहुँदैन । त्यो भन्दा पनि देश र जनताको पराजय हुनुहुँदैन । देश र जनतालाई हराउने गरी जनता आफैंले मतदान गर्नेछन् भन्ने विश्वास गर्नु अनुचित हुनेछ । विगत केही समययता विकसित परिस्थितिको आलोकमा कतै देश र जनता आफैंलाई हराउने मतदान हुने हो कि भन्ने सन्देह व्याप्त छ । तर पनि जनता जनार्दन हुन् । जनताको निर्णय सार्वभौम हुन्छ । तर भ्रमपूर्ण हलल्लाको ठूला स्वरले नकिचोस्, प्रभावित नगराओस् यसमा सचेत हुनु आवश्यक छ ।
विशेष परिस्थितिमा हुन लागिरहेको निर्वाचनको यो चूडान्त अवस्था अर्थात् क्लाइमेक्स हो । आज प्रचारप्रसार गर्न पाइने अन्तिम दिन भएको हुनाले पनि यसको रौनक चौतर्फी देखिएको छ । शहरबजारका टोल गल्ली र सडकहरूमा विभिन्न पार्टी र नेताहरूको प्रचारप्रसारमा माइकिङ भइरहेको छ । गाडीहरू दौडिरहेका छन् । ठाउँठाउँमा कोणसभा र आमसभा भइरहेका छन् । प्रत्येक दश मिनेटमा एकपटक कुनै न कुनै पार्टीको प्रचारमा गुञ्जिएको आवाज सुनिँदैछ । राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको हुँदा आजकै दिनमात्र यसका लागि उपयोग हुने भएकाले पार्टी र उम्मेदवारहरूले आफूलाई सकेसम्म अरूभन्दा अब्बल साबित गर्न जोडबल लगाइरहेका छन् । राजनीति गर्नेहरूको यो धर्म नै हो आफ्नो प्रचार गर्ने ।
प्रचार भनेको एक प्रकारको विज्ञापन पनि हो । कुनै उत्पादक कम्पनीले आफ्नो सामानको विज्ञापन गर्छ र उपभोक्तासम्म त्यो विज्ञापनका माध्यमले आफ्नो उत्पादनलाई सबैभन्दा राम्रो भनेर साबित गर्न चाहन्छ । ठीक यसैगरी राजनीति गर्नेहरूले निर्वाचनका बेला पहिलो कुरा मतदातासम्म आफ्नो पहिचान पुर्याउनु हो र त्यो पहिचान पुर्याउन अपनाइने माध्यम नै चुनाव प्रचारको माध्यम वा सामग्री बन्नपुग्छ । अर्को कुरा कतिपय नागरिकले नेतालाई चिनेका हुँदैनन्, उसको नाम थाहा हुँदैन । पार्टी मन परेर पनि आफूले रुचाएको पार्टीको नेताको नाम कम सुनेका हुन्छन् अथवा सुनेकै हुँदैनन् ।
यस्तो बेलामा उनीहरू समक्ष जानकारी पुर्याउनका लागि राजनीतिक पार्टीहरूले जोडतोडले प्रचारप्रसार गर्ने गर्छन् । अरू बेला नेताहरूले आफूलाई सर्वश्रेष्ठ ठानेका हुन्छन् तर निर्वाचनका बेलामा मतदाताहरू सर्वश्रेष्ठ हुने गर्छन् । त्यस कारणले नेताहरू राजनीति गरेर यो कुरा बुझेका हुँदा मतदाता सामु आफू सानो भएर प्रस्तुत हुन्छन्, उनीहरूका घर दैलामा पुग्छन् र आफ्नो पहिचान प्रस्तुत गर्छन् । मतदाताहरूले त्यही चाहेका हुन्छन् । कतिपय मतदाता राम्रो नेता को हो भनेर मूल्यांकन गर्न सक्दैनन् र आफ्ना सामुमा जो प्रस्तुत भयो त्यसैलाई मत दिन्छन् । फलानो आएन त्यसलाई किन मत दिने भन्ने भावनाले गर्दा उनीहरूको मत आफू सामु आउनेहरूका पक्षमा पर्छ ।
मतदाताहरूको मत आफ्नो पक्षमा पार्न जसरी भए पनि निर्वाचनका बेला चाहिँ नेताहरू मतदाताका घर दैलोमा पुग्छन् । उनीहरूले आफ्नो प्रचार गर्ने माध्यममध्ये एक घरदैलो कार्यक्रम पनि राखेका हुन्छन् र प्रत्येक घरमा पुगेर मतदातासँग आफूलाई मत दिन याचना गर्छन् । यतिसम्मलाई स्वाकुटनपिठनको काम गर्ने, भाविक प्रक्रिया मान्नुपर्छ तर त्यसभन्दा बढ्ता निर्वाचनका बेलामा नेताहरूका अनेकौं झाँकीहरू देखापर्ने गरेका पनि छन् । मतदाताले काम गरिरहेका खेतखलियानमा पुगेर धान काटिदिने, जोतिदिने, खनिदिने, भारी बोकिदिनेदेखि लिएर उनीहरू सँगसँगै नाचगानमा संलग्न भएका देखिएकै छन् । यसरी प्रत्येक जनताका घरमा पुग्नेगरी घरदैलो कार्यक्रम राखेका नेताहरूले सानासाना कोणसभालगायत आमसभा पनि गर्ने गर्छन् ।
आजको दिन प्रचारप्रसारको अन्तिम दिन भएको हुनाले नेताहरू यस्तै अभियानका अन्तिम क्षणमा छन् र त्यसलाई जसरी पनि प्रभावकारी बनाउन लागि परेका हुन्छन् । तर अब आज राति १२ बजेबाट मौनअवधि सुरु हुने भएका कारण १९ र २० गते कुनै पनि प्रचारप्रचारका कार्यक्रम गर्न पाइने छैन । नेता, राजनीतिक पार्टी, स्वतन्त्र उम्मेदवारहरू र सर्वसाधारणले समेत प्रचारप्रसारका गतिविधिलाई अगाडि बढाउन पाइने छैन । यसको पालना गर्नु सबैको दायित्व हुनआउँछ । राजनीतिक गर्नेहरू अरूभन्दा बढी जिम्मेवारी हुनुपर्छ किनभने राजनीतिक गर्नेहरूले भोलिको नेतृत्व आफूले सम्हाल्ने चाहना राखेको हुन्छ । यसैले उनीहरू राजनीतिमा अग्रसर बनेका हुन्छन् ।
जो भोलिको नेतृत्व लिन कम्मर कसेर लागेको हुन्छ त्यसैले मर्यादा पालन गरेन भने त्यसले अरूलाई समेत गलत बाटोबाट अगाडि बढाउँछ । जब मर्यादा पालन हुँदैन, आफू स्थिति बाँध्ने कार्यमा अग्रसर हुँदैन र अरूले बाँधेका स्थितिको पालना पनि गर्दैन भने त्यो अराजक बाटो हो भन्ने बुझ्नुपर्ने हुन्छ । अर्कातिर राजनीति गर्नेहरूलाई सही बाटोमा हिँडाउने जिम्मेवारी सरकारको हो र सरकारले आफ्ना अवयवहरू परिचालन गरेर अमनचैन कायम गर्ने, निर्वाचनलाई मर्यादित बनाउने प्रयास गर्नुपर्ने हुन्छ । त्यतिमात्र होइन एउटा यन्त्रमा सानामसिना उपकरणहरूको पनि त्यत्तिकै महत्व हुने भएजस्तै देशलाई मर्यादित ढंगले सही बाटोमा हिँडाउने जिम्मेवारीमा सम्पूर्ण सचेत हुनुपर्छ । नागरिक समाजले पनि यसतर्फ सकारात्मक पहल गर्नुपर्छ ।
सर्वसाधारण जनता र मतदाता पनि सरकारले तोकेका नियमको पालना गरेर र यसलाई सम्मान गरी अगाडि बढ्नुपर्छ । मौनअवधिमा कोही पनि प्रचारप्रसारमा लाग्नु हुँदैन । सरकारको आँखा छलेर अन्य प्रतिस्पर्धी पार्टीहरूलाई छक्याएर झुक्याएर कुनै अमर्यादित काम गर्न अग्रसर बन्नु हुँदैन । आमनिर्वाचन मर्यादित ढंगले सम्पन्न हुनसक्यो भनेमात्र जनताको मतबाट सही नेतृत्वको छनोट हुनसक्छ । धाँदली गरियो, चुनावमा अनियमितता भयो, मतदाताहरूलाई धम्क्याउने तर्साउने र प्रलोभन दिने काम भयो भने उनीहरूको मत अर्कोतिर मोडिन्छ । एकजना व्यक्ति वा एउटा पार्टीलाई दिने भनिएको मत अर्को व्यक्ति र अर्को पार्टीका पक्षमा खस्न सक्छ । यसो भयो भने जनताको मतको सही प्रतिबिम्बन हुन सक्दैन ।
अनियमिता र धाँधली गरेर आएका व्यक्तिहरू कोही यसरी निर्वाचित भइहाले पनि ती बौद्धिक, कानुन बुझेका, राजनीति बुझेका र देशलाई नेतृत्व दिनसक्ने खालका हुँदैनन् । उनीहरूबाट देशले राम्रो कामको अपेक्षा गर्न सक्दैन । त्यसकारण निर्वाचनमा जनताको धैर्य, लगनशीलता, विवेक र सही छनोटको आवश्यकता हुन्छ । अब आमनिर्वाचन सुरु हुन ७२ घण्टा बाँकी छ । त्यसपछि जनताको विवेकको मत खस्न सुरु हुन्छ । त्यसले कोही व्यक्तिको, कुनै पार्टीको प्रतिनिधित्व गर्छ र भोलि विधायिकासम्म पुर्याउँछ । ती विधायिकाका सदस्यले भोलि देशका लागि आवश्यक पर्ने कानुन बनाउँछन् र देशलाई सही बाटोबाट अगाडि बढाउँछन् । यो अपेक्षा र यथार्थ हो, कल्पना र भावना होइन । गलत प्रचार र उडन्ते हल्लाका पछि नलागी निर्वाचनको पूर्णउपयोग गरौं, स्वाभिमान, धैर्य र विवेकलाई सन्तुलनमा राखेर मतदान गरौं ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच