हाम्रा चाडपर्वहरू केवल रमाइलोका अवसरमात्र होइनन्, ती हाम्रो सभ्यता, संस्कृति र सामूहिक स्मृतिका जीवन्त दस्तावेज हुन् । तिनैमध्ये रंग, उमंग र आत्मीयताको अनुपम संगम हो होली । भारतमा ‘होली’ भनेर चिनिने यो पर्व नेपालमा परम्परादेखि ‘फागु पर्व’का रूपमा प्रख्यात छ, तराई क्षेत्रमा ‘फगुवा’ भनेर चिनिन्छ । समयको बहावसँगै अहिले देशका अधिकांश भागमा ‘होली’ नाम नै प्रचलित हुँदै गएको छ, तर यसको आत्मा भने उही रंग र हर्षोल्लासले भरिएको फागु नै हो ।
होली केवल पर्व होइन, जीवनप्रतिको उत्सव हो, वसन्तको स्वागत हो, यो प्रेम, सद्भाव र आशाको उज्यालो हो । रंगहरूको छटामा सजिएको यस पर्वले हामीलाई हरेक वर्ष सम्झाइरहन्छ, जीवन आफैंमा एक रंगीन उत्सव हो, जसलाई खुलेर मनाउन जान्नुपर्छ । यतिबेला हामी निर्वाचनको माहोलका बीचमा रंगीत पर्व फागु मनाइरहेका छौं । निर्वाचनका आचारसंहिता पालना गर्दै, होली मनाऔं ।
फागुन शुक्ल अष्टमीका दिन विभिन्न रंगीन कपडाहरू मिलाएर बनाइएको ‘चीर’ गाडेपछि होली पर्वको विधिवत् आरम्भ भएको मानिन्छ । राजधानी काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित वसन्तपुर दरबार स्क्वायरमा शुभसाइत हेरी धार्मिक विधिपूर्वक चीर ठड्याइन्छ । रंगीविरंगी ध्वजापताकाले सुसज्जित तीन खण्डे चीर जब आकाशतिर उभिन्छ, तब केवल कपडाको थुप्रोमात्र उठ्दैन उठ्छन् आशाका रंग, हर्षका तरंग र वसन्तको आगमनको सन्देश । चीर ठड्याएसँगै राजधानी काठमाडौंसहित मुलुकभर औपचारिक रूपमा होलीको सुरुवात भएको मानिन्छ ।
यसरी सुरु भएको उत्सव फागुन शुक्ल पूर्णिमासम्म निरन्तर हर्षोल्लासका साथ मनाइन्छ । पूर्णिमाको दिन चीर ढालेर जलाइएपछि पर्व सम्पन्न हुन्छ । चीर दहन केवल परम्परा होइन, यो असत्य, अहंकार र नकारात्मकताको अन्त्यको प्रतीक हो । पुराणमा वर्णित भक्त प्रह्लाद र हिरण्यकश्यपुको कथा यस पर्वसँग गाँसिएको छ, जसले सत्य र भक्ति अन्ततः विजयी हुन्छ भन्ने सन्देश दिन्छ । त्यसैले होली केवल रंग खेल्ने दिन होइन, यो सत्य, सद्भाव र सदाचारको विजय उत्सव पनि हो ।
नेपालमा होली कहिलेदेखि मनाउन थालियो भन्ने यकिन तिथिमिति नभए पनि मल्लकालदेखि नै यसले औपचारिकता पाएको विश्वास गरिन्छ । मल्ल राजाहरूको पालादेखि दरबार क्षेत्रमा चीर ठड्याउने परम्परा सुरु भएको ऐतिहासिक सन्दर्भ पाइन्छ । समय बदलिँदै जाँदा स्वरूपमा केही परिवर्तन आए पनि यसको मौलिकता र सांस्कृतिक गहिराइ भने उस्तै छ । होलीलाई वसन्त ऋतुको आगमनसँग जोडेर हेर्ने गरिन्छ । कठ्यांग्रिने जाडोपछि जब प्रकृति हरियालीको ओढनी ओढ्न थाल्छ, फूलहरू मुस्कुराउँछन्, खेतबारी नयाँ जीवनले स्पन्दित हुन्छन् त्यही क्षणलाई रंगले अभिवादन गर्ने पर्व हो होली । यसदिन मानिसहरूले एकअर्कालाई अबिर, गुलाल र विभिन्न रंग लगाएर मनका मैला पखाल्ने प्रयास गर्छन् । रिस, ईर्ष्या र द्वेष बिर्सेर आत्मीयतासाथ अंगालो हाल्ने दिन हो ।
पहाडी जिल्लामा एक दिन र तराई-मधेसमा अर्को दिन मनाइने प्रचलनले पनि नेपालको भौगोलिक विविधतालाई झल्काउँछ । सरकारले सार्वजनिक बिदा दिएर यस पर्वको राष्ट्रिय महत्वलाई स्वीकार गरेको छ । साथीभाइ, आफन्त र परिवारबीच भेटघाट, मीठो परिकार, गीतसंगीत र हासो-ठट्टाले वातावरण झनै रंगीन बन्छ । होलीको वास्तविक सुन्दरता रंगमा मात्र सीमित छैन, हृदयहरूको मिलनमा छ । रंगले अनुहार रंगिन हुन्छ, तर आत्मीयताले सम्बन्धहरू । एक दिनका लागि भए पनि समाजका सबै वर्ग, जात, उमेर र पेशाका मानिसहरू एउटै रंगमा रंगिन्छन्, मानवताका रंगमा । यसरी होली केवल पर्व होइन, यो जीवनप्रतिको उत्सव हो, यो वसन्तको स्वागत हो, यो प्रेम, सद्भाव र आशाको उज्यालो हो । रंगहरूको छटामा सजिएको यो पर्वले हामीलाई हरेक वर्ष सम्झाइरहन्छ जीवन आफैंमा एक रंगीन उत्सव हो, जसलाई खुलेर मनाउन जान्नुपर्छ ।
निर्वाचन सकिएपछि पनि यही समाजमा सँगै बस्नुछ, सँगै काम गर्नुछ, सँगै अगाडि बढ्नुछ । आउनुहोस् रंग खेल्दा सहमति लिऔं, उत्सव मनाउँदा मर्यादा अपनाऔं, विचार राख्दा सभ्यता नछोडौं र लोकतन्त्रको मर्म जोगाउँदै, सद्भाव र एकताको सन्देश फैलाऔं । यसपालिको होली केवल रंगीन नहोस् जिम्मेवार, सभ्य र चेतनशील बनोस् । निर्वाचनका आचारसंहिता पालना गर्दै, होली मनाऔं । रंगले होइन, संस्कारले चम्कियोस् हाम्रो होली ।
यसपालिको होली विगतका वर्षहरू जस्तो केवल रंग, पानी र हाँसोको उत्सवमात्र छैन । देश चुनावी माहोलले तरंगित छ झण्डा, नाराहरू, भाषणहरू र आशाहरूको रंगले आकाश नै रंगिएको छ । यही परिवर्तनको लहरबीच हामी स्वागत गर्दैछौँ रंग र सद्भावको महान् पर्व होलीलाई । राजनीतिक नाराहरूले चोक–गल्ली गुञ्जाइरहेका बेला, हामी मनभित्रको नारालाई सम्झिन चाहन्छौं सद्भाव, एकता र प्रेमको नारा । कागजका पर्चामा लेखिएका वाचाहरूभन्दा माथि उठेर, हामी अनुहारमा अबीर दल्दै विश्वासका रंगहरू साट्न चाहन्छौं । निर्वाचनले हामीलाई विकल्प दिन्छ, तर होलीले हामीलाई अपनत्व दिन्छ । मतपेटिकाले नेतृत्व चयन गर्छ, तर होलीले मन र मनबीचको दूरी मेटाउँछ । देशको भविष्य कोर्न यतिबेला आफूलाई मतदान गर्न आग्रह भइरहेका बेला, हामी रंगको ब्रसले आशा र सद्भावको चित्र बनाऊ । किनकि लोकतन्त्रको सुन्दरता केवल मतमा होइन, मनको मेलमा पनि निहित हुन्छ ।
राजनीतिक भिन्नताले हामीलाई फरक विचारमा उभ्याए पनि रंगले सबैलाई एउटै आकाशमुनि उभ्याउँछ । निर्वाचनको संवेदनशील समयमा हामी सबैको कर्तव्य हो, आचारसंहिताको पूर्ण पालना । लोकतन्त्रको यो पर्वमा जति मतको सम्मान आवश्यक छ, त्यति नै मनको सम्मान । निर्वाचनका आचारसंहिता पालना गर्दै फागु मनाऔं, आपसी सद्भाव बढाऔं । फागु केवल रंगहरूको खेल होइन, मन र मन जोड्ने अवसर हो । उत्सवले कसैको अधिकार, विचार वा स्वतन्त्रतालाई आघात पुर्याउनु हुँदैन ।
हामी सबै फरक-फरक विचार राख्न सक्छौं, फरक दललाई समर्थन गर्न सक्छौं तर हामी एउटै समाजका नागरिक हौं । मत फरक हुनसक्छ, मन फुट्नु हुँदैन । निर्वाचन सकिएपछि पनि यही समाजमा सँगै बस्नुछ, सँगै काम गर्नुछ, सँगै अगाडि बढ्नुछ । आउनुहोस् रंग खेल्दा सहमति लिऔं, उत्सव मनाउँदा मर्यादा अपनाऔं, विचार राख्दा सभ्यता नछोडौं र लोकतन्त्रको मर्म जोगाउँदै, सद्भाव र एकताको सन्देश फैलाऔं । यसपालिको होली केवल रंगीन नहोस् जिम्मेवार, सभ्य र चेतनशील बनोस् । निर्वाचनका आचारसंहिता पालना गर्दै, होली मनाऔं । रंगले होइन, संस्कारले चम्कियोस् हाम्रो होली ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि