सडक सभ्यताको पनि प्रतीक हो । पर्यटकका निम्ति सडकले तत् स्थानको पनि प्रतिनिधित्व गरिरहको हुन्छ । त्यो देश, त्यो स्थानको संस्कृति र सभ्यताको झल्को पनि सडकले दिइरहेको हुन्छ । किनकि जसको पनि अधिक दृष्टि र भोग गर्ने स्थान सडक नै हो । यातायातका निम्ति सडक सबैका लागि अपरिहार्य छ । यसका साथ साथै सडक सभ्यताको पनि प्रतीक हो । सडक जस्तो हुन्छ त्यो स्थान एवं समाज पनि त्यस्तै प्रकृतिको छ भन्ने अनुमान लगाउन सकिन्छ । विकसित मुलुकले पनि सडकबाट नै आफ्ना संस्कृृति र सभ्यताका झलक प्रस्तुत गरेका हुन्छन् । यातायातको माध्यमका साथै सडकले तत् स्थानको स्थानीय परिवेशलाई पनि झल्काइरहेका हुन्छ । स्थान अनुसारका पहिचान पनि सडकमा प्रयुक्त पाइन्छन् ।
काठमाडौं उपत्यका सडकमा पनि स्थनीय पन देख्न पाइन्छ । छेउछाउका फल्चा, आसपासमा स्थानीय कालाकृतियुक्त इँटाको प्रयोग, मन्दिर, देव देवीस्थान, स्थानीय कलाकृतियुक्त भित्तेचित्र आदिले पनि सडकको सौन्दर्य र पहिचानलाई दर्शाइरहेका हुन्छन् । स्थानीय कला कौशलले सडको सौन्दर्य बढाइरहको हुन्छ यसका साथै स्थानीय सांस्कृतिक पहिचानलाई पनि प्रदर्शन गरिहेका हुन्छ । सडकसँगै समस्य पनि नभएका होइनन् । सडकमा मानवनिर्मित समस्यका पनि थुप्रै विषयवस्तु आलोच्य पाइन्छन् ।
आज राम्रो चिल्लो बाटो भोलि नै भत्काइएको पाइन्छ । कहिले बिजुली, कहिले खानेपानी त कहिले ढल अनि कहिले सडककै मर्मत । आज हिँडेको बाटो भोलि बन्द भएको र अर्कै बाटोबाट यात्रा गर्नुपर्ने बाध्यात्मक परिस्थिति उपत्यकाका गल्लीमा सामान्यजस्तै बनिरहेको छ । नियमित मर्मत सम्भार हुन नसक्दा भोग्नुपर्ने समस्या पनि उस्तै छन् ।
आज राम्रो चिल्लो बाटो भोलि नै भत्काइएको पाइन्छ । कहिले बिजुली, कहिले खानेपानी त कहिले ढल अनि कहिले सडककै मर्मत । आज हिँडेको बाटो भोलि बन्द भएको र अर्कै बाटोबाट यात्रा गर्नुपर्ने बाध्यात्मक परिस्थिति उपत्यकाका गल्लीमा सामान्यजस्तै बनिरहेको छ । नियमित मर्मतसम्भार हुन नसक्दा भोग्नुपर्ने समस्या उस्तै छन् । ढल व्यवस्थापनको समस्या पनि उस्तै पाइन्छ । यसैगरी राम्रो पिच बाटोमा पनि बीचमा ढल छोप्ने मंगलका खाल्डाले गर्दा ढुक्कसँग गाडी हाँक्नसक्ने स्थिति पनि वर्तमानमा पाइँदैन । यसैगरी पर्याप्त पैदल मार्ग नहुँदा उही सडक पैदलयात्रीका निम्ति पनि बन्न पुगेको छ । जसका कारण सडक दुर्घटना पनि अधिक हुनेगरेका छन् । अस्तव्यस्त सडकले गर्दा सवारीसाधन र पैदलयात्री दुवैलाई असर त परेको नै छ यसका साथै हाम्रो सांस्कृतिक पहिचानलाई पनि खुम्च्याइरहेको छ ।
सडक निर्माण गर्दा आवश्यक पर्ने विषयवस्तुलाई पनि एकीकृत रूपमा योजनाबद्ध समावेश गरी तय गर्नु आज आवश्यक देखिन्छ । आज बिजुलीका तार भूमिगत गराउने कार्यले खनिएको सडक भोलि फेरि पानीका पाइपका कारण खनिन्छ । यसैगरी बिजुलीका तारसँगै नेटका केवल पनि भूमिगत गर्ने संरचनामा ध्यान दिइएको पाइँदैन । पानीको पनि अनेकौ स्रोत हुने, भिन्न भिन्न आयोजनाका भिन्ना भिन्नै पाइप हुने अनि कुनै एक बिग्रिँदा सबै सडक प्रायःजसो बिग्रिएकै अवस्थामा रहने वर्तमानको स्थिति पाइन्छ ।
सडक चिल्ला राम्रा भए पनि अधिकांश स्थानमा हुने ढल निकासमा मंगलका खल्डाले पनि समस्य सिर्जना गरिरहका छन् । सडकको उचाइसँग सामञ्जस्य गर्नसक्ने ढलका मंगल निर्माणमा केही कठिनाइ हुनसक्नछन् । तर, ती पक्षको पनि सही नापजाँच गरी एउटै तहमा राख्नसके सडक प्रयोगकर्तालाई पनि सहज हुने थियो र दुर्घटना पनि कम हुने थियो । अधिकांश सडकमा यस्ता खाल्डा पाइन्छन् । सडक राम्रो पिच भए पनि तिनै खाल्डाका कारण ढुक्क भएर सडकमा सवारी चलाउन सक्ने स्थिति बन्न सकेको छैन । अब त ढल निकासका निम्ति बन्न पुगेका खाल्डायुक्त सडक पनि हाम्रा पहिचान जस्तै हुन पुगेको पाइन्छ ।
सडक सफाइ पनि हाम्रो परिवेशमा निकै समस्या ग्रस्त छ । आमजनमा सचेतना नहुँदा बाटामा गर्ने फोहोरमैला पनि सडकका निम्ति समस्य नैबनेको पाइन्छ । हामीमा त्यो चेतनाले अझै पनि कार्य गर्न सकेको छैन । बाटोमा कुनै कुरा फ्याक्नु हुँदैन, थुक्नु हुँदैन भन्ने चेतनाले अझै कार्य गर्न सकेको छैन । पालिकाले मात्र सफा गरेर पनि हुँदैन । हरेक पक्ष यसमा सभ्य हुनु आवश्यक छ । गाडीबाट बाहिर थुक्ने, पान, गुट्खा खाएर सडकमा थुक्ने, यसैगरी चाउचाउ बिस्कुटका खोल पनि खाइसकेपछि बाटोमा फ्याक्ने प्रवृत्तिबाट हाम्रो चेतनामाथि उठ्न सकेको छैन । यस्तो प्रवृत्तिले हामी उन्नत हुन सक्दैनौं ।
वर्तमानमा चीनको सडक विकास प्रशंसायोग्य पाइन्छ । भोलिको भविष्यलाई हेरेर आजका योजना बनाइन्छन् । यसैले सडकका सन्दर्भमा पनि चिनियाँ विकास उन्नत पाइन्छ । सडक बत्ती पनि अत्याधुनिक बनाइएका छन् । एआइयुक्त, सडक व्यवस्थापन भएको पाउन सकिन्छ । सडक किनारालाई हरियालीयुक्त बनाउने, धुँवा धुलोरहित बनाउने यसका साथै अत्याधुनिक र उन्नत बनाउने कार्य यसका साथै एकीकृत योजना, सम्भावित अवस्थाको पूर्वआँकलन गरी योजना गर्ने प्रवृत्ति विकासकानिम्ति अनुकरणीय कार्य हुन् ।
पशुचौपाय पनि सडकका समस्या बन्न पुगेका छन् । सडकमा कुकुरले पनि निकै व्यवधान खडा गरेको पाइन्छ । समान्य अवस्थामा हिँडिरहेको व्यक्तिलाई हठात् भुक्ने, तर्साउने कतिपय अवस्थामा त टोक्ने पनि गरेका छन् । सवारीमा रहेका व्यक्तिलाई कुकुरले लखेट्दा पनि दुर्घटना हुने प्रवृत्ति बढ्दो छ । यसैगरी सडकमा छोडिएका गाई गोरुले पनि समस्या निम्त्याएको पाइन्छ ।
सडक हाम्रै हो भन्ने भावना हमी सबैमा हुनु आवश्यक छ । आफ्नो घर सफा राखेजस्तै सडक पनि सफा हुनुपर्दछ भन्ने चेतना आज सबैमा हुनु आवश्यक छ । यसका साथै सडकलाई व्यवस्थित गर्ने हाम्रा योजना पनि एकपक्षीय विषययलाई मात्र केन्द्रित गरी बनाइन्छन् । सडक बनाउँदै मुनि व्यवस्थित पाइपलाइन पनि राख्ने हो भने सामान्य समस्या भोग्नुपर्ने थिएन । छिन छिनमा सडक भत्काउनुपर्ने थिएन । यसरी भत्काएको सडकलाई पनि महिनौसम्म बेवारिसे छोड्ने प्रवृत्तिले हामी पछिपरिरहेका छौं । पुनः निर्माणपश्चात् टालिएका सडक पनि कमसल, अमिल्दा र क्षणभरमै खाल्डा हुनेजस्ता समस्या पनि निकै देखिएका छन् । यसैले यस्ता विषय पनि सडकका दृष्टिले विचारणीय देखिन्छन् । जसको समग्र समाधानसहितको सिर्जनात्मक इन्जिनियरिङ अब आवश्यक देखिन्छ ।
सडक हामी सबैको हो । हाम्रो घर वरपर जसरी सफा र सुन्दर राखिन्छ त्यसैगरी सडकलाई सुन्दर राख्नुपर्दछ भन्ने ज्ञानको सञ्चार पनि हामीमा कमी छ । यसैले सडक सधैं समस्याग्रस्त नै बनिरहेको छ । कहिले पानी त कहिले ढल अनि कहिले अन्य कारणले निरन्तर बिग्री नै रहेको हुन्छ । यी सबैको एकीकृत व्यवस्थापन गर्ने प्रणाली अब आवश्यक छ । तदनुकूलको योजना र कार्यान्वयन पनि हुनुपर्दछ । यसका साथै प्रयोक्तको सचेतना अभिवृद्धि हुनुपर्दछ । अन्यथा सडकका समस्या समस्या नै रहिरहने स्थिति देखिन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि