काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आगामी निर्वाचनलाई बालमैत्री र सुरक्षित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला पक्षसँग आग्रह गरेको छ । निर्वाचनको समयमा बालबालिकालाई कुनै पनि प्रकारका राजनीतिक गतिविधि, प्रचारप्रसार, जुलुस, आमसभा तथा दलगत कार्यक्रममा प्रयोग नगर्न विगतदेखि अभियान सञ्चालन गर्दै आएको सिजपले प्रेस विज्ञप्तिमार्फत् यस्तो अपिल गरेको हो ।
सिजपले निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद् तथा निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएका संस्थाहरूसँग सहकार्य गर्दै राष्ट्रिय, प्रदेश र स्थानीय तहमा सचेतनामूलक तथा पैरवी कार्यक्रम सञ्चालन गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भए पनि यस क्रममा जबरजस्ती बालबालिकाको सहभागिता गराइनु, दुरूपयोग गरिनु वा राजनीतिक स्वार्थका लागि प्रयोग गरिनु बाल अधिकारको गम्भीर उल्लंघन हो । नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा निर्वाचन आचारसंहिताले बालबालिकालाई राजनीतिक दुरूपयोगबाट सुरक्षित राख्न स्पष्ट व्यवस्था गरेको भए पनि व्यवहारमा उल्लंघनका घटना देखिएको सिजपको दाबी छ ।
सिजपका अनुसार, निर्वाचनको अवधिमा सामाजिक सञ्जालमार्फत् पक्ष–विपक्षमा बालबालिकालाई रिल, भिडियो तथा टिकटकमार्फत् एआई प्रयोग गरी भोट माग्न लगाउने, विद्यालयमै शिक्षकबाट कुनै दललाई मत दिन सुझाउने, विद्यालय पोशाकमै र्याली र जुलुसमा सहभागी गराउने, झण्डा, ब्यानर, टिसर्ट, क्याप र लोगो प्रयोग गराएर प्रचारमा संलग्न गराउने तथा मतदान केन्द्र तोकिएका विद्यालय क्षेत्रमा सुरक्षाकर्मीको उपस्थितिका कारण बालमैत्री वातावरण प्रभावित हुने जस्ता १५० भन्दा बढी घटना अभिलेखीकरण गरिएको छ । तीमध्ये ७५ भन्दा बढी घटनामा आवश्यक कानुनी कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको जनाइएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका, वैकल्पिक स्याहारमा रहेका तथा विभिन्न कारणले जोखिमपूर्ण अवस्थामा रहेका बालबालिका थप असुरक्षित हुन सक्ने अवस्थाप्रति सचेत रहन सिजपले सबै पक्षको ध्यानाकर्षण गराएको छ । सिजपले राजनीतिक दल तथा उम्मेदवारलाई बालबालिकालाई प्रचारप्रसारमा सहभागी नगराउने प्रतिबद्धता कार्यान्वयन गर्न, विद्यालय र शिक्षकलाई विद्यार्थीलाई निर्वाचन गतिविधिबाट टाढा राख्न, स्थानीय तह र सुरक्षा निकायलाई उल्लंघनका घटनामा निगरानी तथा कारबाही गर्न, अभिभावक र समुदायलाई बालबालिकालाई राजनीतिक प्रयोगबाट जोगाउन सक्रिय हुन आग्रह गरेको छ ।
यसैगरी, सामाजिक सञ्जालमा बालबालिकाको प्रयोग गरी तयार गरिएका राजनीतिक सामग्री सेयर नगर्न, हिंसात्मक वा द्वन्द्वात्मक सामग्रीबाट बालबालिकालाई जोगाउन, मतदान केन्द्र रहेका विद्यालयको भौतिक संरचना सुरक्षित र व्यवस्थित राख्न तथा उल्लंघनका घटना भएमा सम्बन्धित निकायमा सूचना दिन पनि सिजपले अपिल गरेको छ । निर्वाचनसँग सम्बन्धित सबै सरोकारवालालाई बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी आगामी निर्वाचन पूर्ण रूपमा बाल अधिकारको सम्मान गर्दै सम्पन्न गर्न सिजपले अनुरोध गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच