हङकङ । हङकङ स्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्ले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विश्वव्यापी इको कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगितामा कुल पुरस्कार राशि एक लाख रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतियोगिताको प्रचार-प्रसार र निर्णायक मण्डल गठनका लागि पर्यावरणीय अभियानमा सक्रिय नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानलाई विश्व संयोजकको जिम्मेवारी दिइएको छ । महासचिव भविन लिम्बुका अनुसार हितानकै सल्लाह अनुसार रचना पठाउने मिति तथा उत्कृष्ट कविताको घोषणा मिति संशोधन गरी पुनः सूचना प्रकाशित गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने रचनाकारले मौलिक र नेपाली भाषामा लेखिएको पर्यावरण-केन्द्रित कविता पठाउनुपर्नेछ । कविताको शब्दसीमा अधिकतम ३५० शब्द रहेको छ । रचना नेपाली युनिकोड वा प्रीति फन्टमा टाइप गरी एमएस वर्ड वा पीडीएफ फाइलमार्फत पठाउन सकिनेछ । फोटो खिचेर पठाइएका वा अन्य फन्टमा लेखिएका रचना अमान्य हुनेछन् ।
साथै, रचनासँग रचनाकारको पूरा नाम, सम्पर्क नम्बर (ह्वाट्सएप सहित), इमेल ठेगाना, स्थायी ठेगाना, हालसालै खिचिएको स्पष्ट फोटो तथा संस्थाले रचना प्रयोग गर्न सक्ने सहमति अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । रचना इमेल वा ह्वाट्सएप मार्फत मात्र पठाउन सकिने जनाइएको छ ।
प्रतियोगितामा प्राप्त रचनामध्ये उत्कृष्ट २३ कविताहरूको ई-पुस्तिका प्रकाशित गरिनेछ रचना बुझाउने अन्तिम म्याद २८ मार्च २०२६ तोकिएको छ । प्रतियोगिताको नतिजा विश्व पृथ्वी दिवस २२ अप्रिल २०२६ साँझ ६ बजे संघको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ । संस्थाले रचनाहरू संकलन सुरु भइसकेको जानकारी दिँदै, साहित्यप्रेमीहरूलाई समयमै आफ्नो सिर्जना पठाउन आह्वान गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच