काठमाडौं । नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन गरिएको ‘चलचित्र कथा-लेखनसम्बन्धी एकदिने आधारभूत कार्यशाला’ को तेस्रो तथा अन्तिम संस्करण सम्पन्न भएको छ । काठमाडौंबाट सञ्चालन गरिएको उक्त कार्यशालाले नयाँ पुस्ताका कथा लेखकहरूलाई चलचित्र लेखनको आधारभूत ज्ञान र सीप प्रदान गर्ने लक्ष्य लिएको थियो ।
नेपाल फिल्म क्याम्पस परिसरमा आयोजित कार्यक्रममा कथा लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता थियो । सहभागीहरू विभिन्न शैक्षिक तथा पेशागत पृष्ठभूमिबाट आएका थिए, जसले नेपाली चलचित्र क्षेत्रमा कथा लेखनप्रति बढ्दो आकर्षण र सम्भावनालाई संकेत गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डियाबाट पोष्ट-ग्राजुएट गरी हाल नेपाल फिल्म क्याम्पसमा फिल्म निर्देशन विभाग प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले चलचित्र कथा विज्ञान, तीन अंकीय संरचना, चरित्र निर्माण, द्वन्द्व विकास, दृश्य-संरचना, संवाद लेखन तथा कथा विकास प्रक्रियाका आधारभूत सिद्धान्तबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा उहाँले सफल चलचित्रका उदाहरूण प्रस्तुत गर्दै सशक्त कथावाचनको महत्व प्रष्ट्याएउनु भएको थियो ।
त्यसैगरी, पटकथा लेखक तथा फिल्म पत्रकार सामिप्यराज तिमिल्सिनाले ‘नेपाली चलचित्रमा कथा’ शीर्षकमा विशेष सत्र सञ्चालन गर्नुभएको थियो । उहाँले नेपाली चलचित्रको कथागत प्रवृत्ति, बदलिँदो दर्शक मनोविज्ञान, बजारको आवश्यकता, मौलिक विषयवस्तुको खोज र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने कथाको निर्माणबारे आफ्ना अनुभव साझा गर्नुभएको थियो । नेपाली चलचित्रमा कथा कमजोर हुँदा समग्र प्रस्तुति प्रभावित हुने उल्लेख गर्दै उहाँले सशक्त कथा नै सफल चलचित्रको मेरुदण्ड हुने धारणा राख्नुभएको थियो ।
तीन चरणमा सम्पन्न यस कार्यशालामा कुल ७५ जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । प्रत्येक संस्करणमा सहभागीहरूले समूह अभ्यास, कथाको रूपरेखा तयार गर्ने अभ्यास र प्रस्तुतीकरणमार्फत सिकाइलाई व्यवहारमा उतार्ने अवसर पाएका थिए ।
कार्यशालाबाट उत्कृष्ट कथा लेखन क्षमता देखाउने दशजना सहभागीलाई छनोट गरी आगामी दिनमा विशेष उन्नत पटकथा लेखन कार्यशाला सञ्चालन गरिने नेपाल फिल्म क्याम्पसले जानकारी दिएको छ । उक्त उन्नत तालिममार्फत चयनित सहभागीलाई पूर्ण लम्बाइको पटकथा विकास प्रक्रियासम्म पुर्याउने योजना रहेको बताइएको छ ।
आयोजकका अनुसार नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय कथाको अभावलाई मध्यनजर गर्दै सिर्जनशील र दक्ष लेखक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । यस्ता प्रशिक्षण कार्यक्रमले नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै चलचित्र क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
कार्यक्रमको समापनमा सहभागीले यस्ता व्यावहारिक तथा सीपमुखी कार्यशाला निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन कथा लेखनमा विशेष ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।
‘स्पट सिंक साउण्ड ट्रेनिङ’
चलचित्र विकास बोर्डको दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत आयोजना गरिएको ‘स्पट सिंक साउण्ड ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको छ । छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दुई दिने उक्त प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीको सहभागिता थियो ।
कार्यक्रम अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन)को संयोजनमा बोर्डले आयोजना गरेको हो । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा छायांकनकै क्रममा ‘लाइभ साउण्ड’ प्रयोग गर्ने अभ्यास बढ्दै गइरहेको सन्दर्भमा यस प्रशिक्षणलाई प्राविधिक स्तरमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
बोर्डका अध्यक्ष दिनेश डिसीले छायांकनस्थलमै गुणस्तरीय ध्वनि अंकन गर्ने निर्देशकहरूको सोचलाई प्राविधिक रूपमा सशक्त बनाउन यस्तो तालिम उपयोगी हुने बताउनुभयो । ‘करिब दुई दर्जन दक्षता अभिवृद्धि कार्यक्रममध्ये ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ एक महत्वपूर्ण कार्यक्रम हो,’ उहाँले भन्नुभयो, ‘यसको दोस्रो चरण पनि चाँडै आयोजना गर्ने तयारीमा छौं ।’
समापन कार्यक्रममा एभिएसएनका अध्यक्ष विपिन स्थापित, बोर्ड सदस्य वीरेन्द्र भट्ट, अन्तर्राष्ट्रियय चलचित्र समितिका सदस्य विष्णु शर्मा, अधिकृतद्वय हरिसिंह रैखोला र निर्मला चौलागाईंलगायतको उपस्थिति थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच