अमेरिका र इजरायलले इरानी सर्वोच्च धार्मिक नेता आया तोल्लाह खामेनीसहित त्यहाँका उच्च पदस्थ नेता, सैनिक अधिकृत, राजनीतिक सल्लाहकार आदिलाई अनायास आक्रमण गरी मारेको बदला यतिखेर इरान पनि लिइरहेको छ । चारदिन पहिले भएको यो भयानक हिंसाको मूल कारण खासगरी इजरायलको बाँच्ने अधिकारसँग सम्बन्धित रहेको दाबी गरिएको छ । अत्यन्त लामो संघर्षपछि स्वतन्त्र भएको र स्थापित भएको यहुदी राष्ट्र इजरायलका सबै छिमेकीहरू इस्लामिक देश रहेका छन् । सानो देश इजरायल सबैभन्दा कान्छो भए पनि यी बितेका असी वर्षमा अत्यन्त शक्तिशाली भएको छ र एक प्रकारले अमेरिकाको मध्यपूर्वमा सर्वाधिक विश्वासिलो मित्र बनेको छ ।
मध्यपूर्वमा आफ्नो विश्वासिलो सहयोगी इजरायललाई हरतरहले शक्तिसम्पन्न तुल्याउन अमेरिका निरन्तर प्रतिबद्ध देखिन्छ । कैयौं पटक युद्धको सामना गरेको इजरायल र मध्यपूर्वको भूमिमा लाखौं मानिसको रगत भिजेको र जीवन गुमेको इतिहास छ । प्यालेष्टाइनहरूसँगको संघर्षमा रगत बहाएका यहुदीहरूले स्वतन्त्रता पछि पुनः प्यालेष्टाइनहरूसँग नै युद्ध गरिरहेका छन् । यसरी मध्यपूर्व पुनः खतरनाक युद्ध विभीषिकाको समुद्रमा प्रवेश गरेको छ । यो युद्ध सामान्य देखिँदैन । तेल राजनीतिले उत्पन्न गरेको युद्धले पूरै मध्यपूर्वको जमिनलाई खरानी बनाउने लक्ष्यण देखाएको छ । मध्यपूर्वको युद्धको डढेलोबाट उत्पन्न धुवाँले बाँकी विश्वको स्वास थुन्ने काम गर्दैछ । करिब पचपन्न वर्ष पहिले इजरायलले छिमेकी दशवटा देशसँग युद्ध लडेको जस्तै गरी अहिले इरानले लड्न लागेको छ । इरानले अमेरिका वा इजरायलविरुद्ध मात्रै होइन नजिकमा रहेका छिमेकी देशहरूमाथि समेत आक्रमण तेज गराएको छ । कतार, युएई, सिरिया, सउदी अरेबिया, बहराइन, साइप्रस, लेबन, आदि देशहरूमा यतिखेर इरानी ड्रोनको प्रहार केन्द्रित छ ।
उल्लिखित देशहरूमा अमेरिकी सैन्य आधार रहेको छ । मध्यपूर्वदेखि युरोपसम्म तिनै सैन्य आधार क्षेत्रबाट अमेरिकाले आफ्नो वर्चस्वको, स्वार्थको विस्तार गर्दै आएको छ । नजिकै डियागो गार्सियामा समेत उसको उपस्थिति छ । अमेरिकी सैन्य ठेगाना रहेको नाममा इरानले आफ्ना नजिकका मित्रदेशहरूमाथि आक्रमण गरेर दुश्मनी विस्तार गर्ने रणनीति लिएको हुनाले उसले कतार, यएई, हराइन, जस्ता अलि उदार देखिने देशहरूको जमिनमा ड्रोन र मिसाइल गिराउन लागेपछि ती देशहरूले पनि प्रतिरक्षा प्रणाली स्थापित गर्दै इरानको सामना गर्नुपर्ने स्थिति देखिएको छ । सन् सत्तरीको दशकमा तत्कालीन राजा रेजा पहल्वलाई चत्ताच्युत गरी धर्म गुरु आया तोललाह रुललाह खोमेनीले इरानलाई गणतान्त्रिक देश बनाएका थिए । त्यही समयदेखि अहिलेसम्म यो देश इस्लामिक गणतन्त्रका रूपमा परिचित छ । तेल र अन्य खनिज पदार्थ, फलफूल आदिका कारण इरान समृद्धितर्फ उन्मुख रहेकै समयमा इरान र इराकबीचको युद्ध हुनपुग्यो ।
इराकमा अमेरिकी हस्तक्षेप र तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको पतनसँगै मध्यपूर्वको राजनीतिमा फरक अवस्था सिर्जना हुनलागेको थियो । इरानसँग सीमा जोडिएको दक्षिण एसियाको भूपरिवेष्ठित राष्ट्र अफगानिस्तानमा भएको तत्कालीन सोभियत संघको हस्तक्षेप र त्यसबाट उत्पन्न परिस्थितिले पनि मध्यपूर्वको राजनीतिमा अमेरिकाको सहज प्रवेशको जमिन पैदा गरेको हुनुपर्छ । तर अफगानिस्तानमा प्रविष्ट सोभियत संघ र त्यसपछि आएको अमेरिका असफल भएर फर्किएको विगत छ । यिनै घटना परघटनालाई केलाउँदा अमेरिकाको प्रयास हरहालतमा मध्यपूर्वको तेल भण्डारदेखि पूर्वी एसियाको राजनीतिमा प्रभावको खोजिमा सक्रिय हुँदै आएको स्पष्ट छ ।
दुई वर्ष पहिले हमासले इजरायलको भूमिमा अकस्मात् आक्रमण गरी करिब बाह्र सय निर्दोष मानिसको ज्यान लिएको थियो । त्यो आततायी हत्या प्रकरणको मूल्य अहिलेसम्म लेवनान, प्यालेष्टाइन नागरिकसहित गाजापट्टिका नागरिकले चुकाइरहेका छन् । यो घटनालाई इरानी धार्मिक नेतृत्वले सदा धार्मिक रूपले नै स्थापित गर्ने प्रयास गरिरहेको थियो । इसलाम धर्मविरुद्ध इसाई र युहदीहरूको आक्रमण भन्ने सिद्धान्त स्थापित गर्दै इस्लाम धर्मावलम्बीहरूको समर्थन हमासका पक्षमा बनाउने भरमग्दूर प्रयास भएको देखिन्थ्यो । तर विषय यतिमा सीमित छैन । सन् १९८० देखि अमेरिकाको कट्टरविरोधी भएर देखपरेको इरानले परमाणु अस्त्र विकास गर्ने योजना बनायो ।
यो योजनालाई निष्फल तुल्याउन अमेरिका र इजरायल प्रतिबद्ध देखिन्छन् । यदि इरान परमाणु शक्ति सम्पन्न भएमा इजरायलमाथि गम्भीर खतरा उत्पन्न हुने विश्लेषण अमेरिकीहरूको रहेको छ । दोस्रो विश्व युद्धमा सर्वाधिक हत्या गरिएको धार्मिक समुदायमा पर्ने यहुदी समुदायलाई अमेरिकाले आफ्नो समर्थन दिइरहेको छ । अमेरिकामा समेत यहुदी समुदाय निर्णायक रहेका छन् । इरान इस्लाम धर्मावलम्बीहरूको प्रतिनिधि राज्य र नेतृत्वको दाबी गरिरहेको देखिन्छ । उसले विगतमा हरेक पटकका असहमी वा संघर्षहरूलाई इसलाम खतरामा भन्ने नारामार्फत सशक्त बनाउने रणनीति अपनाएको देखिन्छ । अहिले इरानकै सहयोग, समर्थन, आर्थिक योगदान आदि द्वारा प्रोक्सी शक्तिका रूपमा अन्तर्राष्ट्रिय समुदायले आतंककारी घोषित गरेका गैरसरकारी समूह हमास, हुतु, हिज्बुल्लाहको उपयोग इरानले गरिरहेको सुनिन्छ । प्रत्यक्ष आफ्ना सेनाको उपयोगभन्दा पनि अप्रत्यक्ष यसता संगठनहरूको सहयोग लिएको हुनाले पनि इजरायल र अमेरिकासहित अरू पश्चिमी राष्ट्रहरू सशंकित देखिन्छन् ।
करिब असी वर्षयताको यो विगतको उत्कर्ष अहिले प्रत्यक्ष हुन लागेको छ । अमेरिका र इजरायलले गरेको सैन्य करबाही र इरानी नेताहरूको हत्याप्रति चीन र रुसले कडा शब्दमा निन्दा गरेका छन् । बाँकी विश्वले पनि रुचाउको छैन । आतंकवादविरुद्ध रहे पनि साना राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, ती देशको स्थायित्व र शान्तिका पक्षमा रहेका सबै देश र जनता यस्तो कारबाहीको समर्थन गर्न सक्दैनन् । चार वर्ष पहिले युक्रेनमा रुसले आक्रमण गर्दा जुन् रूपमा निन्दा भएको थियो अहिले इरानविरुद्ध भएको अमेरिकी इजरायली कारबाही पनि निन्दनीय छ । केही महिना पहिले इरानको परमाणु योजनालाई क्षतविक्षत गर्न अमेरिकाले गरेको कारबाहीलाई सामान्यतः शान्तिका पक्षमै हुने अपेक्षा धेरैको थियो । हतियारको होड र परमाणु अस्त्रहरूको विकासले सम्पूर्ण मानवता, जल, स्थल निवासी सबै आतंकित छन् । सभ्यताको विनाश गर्ने यस्ता घातक अस्त्रहरूको उत्पादन र प्रवर्द्धन रोकिनुपर्छ । अहिलेसम्म उत्पादित त्यस्ता घातक हतियार क्रमशः निष्क्रिय पार्ने प्रयास हुनुपर्छ भन्ने सबैको मान्यता हुनुपर्ने हो । मध्यपूर्वको यो घटनाले महायुद्धको ढोका ढकढकाउन लागेको देखिन्छ । यसबाट सभ्यताको सर्वनाश हुने हो कि ? भन्ने संशय सर्वत्र छ । तत्काल यस्तो आक्रमण, प्रत्याक्रमण रोकिनुपर्छ र संवादबाटै समस्याको हल खोज्नुपर्छ भन्नेमा सबैको ऐक्यबद्धता रहनुपर्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच