काठमाडौं । आज फागुन १९ गते मंगलबारको दिन हाम्रो आकाशमा एउटा खगोलीय घटना घट्दै छ, त्यो हो चन्द्रग्रहण । यस पटकको ग्रहणलाई ज्योतिष शास्त्रको भाषामा ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण भनिएको छ । ग्रहण लागिसकेको अवस्थामा अर्थात् ग्रहणले छोपिसकेको अवस्थामा चन्द्रमा उदाउने भएकाले यसलाई ग्रस्तोदित भनिएको हो । त्यसैगरी खण्डग्रास भनेको पूरै चन्द्रमा नढाकिई त्यसको केही भागमात्र ढाकिनु हो । मंगलबार बेलुकी जब हाम्रो आकाशमा चन्द्रमा उदाउनेछ, त्यो पहिल्यै ग्रहण लागेको र केही भाग काटिएको जस्तो देखिनेछ । यो वर्ष नेपालबाट देखिन लागेको यो दोस्रो चन्द्रग्रहण हो ।
ग्रहण मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमै सुरु हुनेछ । दिउँसोको उज्यालो समय भएकाले सुरुवाती अवस्थामा हामीले यो ग्रहण देख्न सक्दैनौं । जब काठमाडौंको आकाशमा बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रमा उदाउँछ, तबमात्र हामीले ग्रहण देख्न पाउनेछौं । चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउनेछ । त्यसपछि करिब एक घण्टासम्म हामीले यो ग्रहण देख्न सक्नेछौं र बेलुकी ७ बजेर २ मिनेट जाँदा ग्रहण पूर्णरूपमा सकिनेछ ।
सूतक कसले बार्ने, कसले नबार्ने ?
हाम्रो धर्मशास्त्रानुसार ग्रहण लाग्नुभन्दा अगाडिको निश्चित समयलाई सूतक भनिन्छ । सूर्यग्रहणमा १२ घण्टाअघि र चन्द्रग्रहणमा ९ घण्टा अघिबाट सूतक लाग्ने नियम छ । दिउँसो ३ः३४ बजेबाट ग्रहण सुरु हुनेभएकाले, त्यसको ठीक ९ घण्टा अगाडि अर्थात् मंगलबार बिहान ९ बजेर ३ मिनेटबाटै सूतक सुरु हुनेछ र बेलुकी ७ बजेर २ मिनेटमा ग्रहण सकिएपछि मात्र सूतक खुल्नेछ । सूतक लागेपछि सामान्यतया भोजन गर्नुहुँदैन भन्ने हाम्रो शास्त्रीय मान्यता छ । तर बालबालिका, वृद्धवृद्धा र बिरामी व्यक्तिहरूले सूतक बार्न अनिवार्य गरिएको छैन । उहाँहरूले आफ्नो स्वास्थ्य र आवश्यकता अनुसार खानपान गर्न सक्नुहुन्छ । तर जो स्वस्थ हुनुहुन्छ र वयस्क हुनुहुन्छ, उहाँहरूले भने बिहान ९ बजेपछि अन्न भोजन नगर्नु नै राम्रो मानिन्छ ।
कुन राशिलाई कस्तो फल ?
ज्योतिष शास्त्रानुसार ग्रहण कुन नक्षत्र र राशिमा लागेको छ भन्ने कुराले हाम्रो जीवनमा पर्ने प्रभाव निर्धारण गर्छ । मंगलबारको ग्रहण विशेषगरी पूर्वाफाल्गुनी नक्षत्र र सिंह राशि भएका व्यक्तिहरूलाई परेको छ । त्यसैले यो नक्षत्र र राशि भएका व्यक्तिहरूले अलि बढी सजगता अपनाउनुपर्ने हुन्छ । कुन राशिलाई कस्तो फल मिल्छ भनेर मुहूर्तचिन्तामणिमा यसरी उल्लेख गरिएको छ ः
जन्मर्क्षे निधनं गृहे जनिभतो घातः क्षतिः श्रीर्व्यथा
चिन्तासौख्यकलत्रदौस्थ्यमृतयः स्युर्माननाशः सुखम् ।
लाभोपाय इति क्रमात्तदशुभध्वस्त्यै जपः स्वर्णगो-
दानं शान्तिरथो ग्रहं त्वशुभदं नो वीक्ष्यमाहुः परे ।।
यस श्लोकको अर्थ र गणितका आधारमा हेर्दा १२ वटै राशिका लागि आजको ग्रहणको फल फरक-फरक छ । मिथुन राशिलाई श्रीप्राप्ति अर्थात् धन र समृद्धि मिल्नेछ । तुला राशिलाई चारैतिरबाट लाभ र फाइदा हुनेछ । वृश्चिक राशिलाई सुख र मीन राशिलाई आनन्द प्राप्त हुने देखिन्छ । यी चार राशिका लागि ग्रहण निकै शुभ छ । तर मेष राशिलाई मनमा चिन्ता, वृष राशिलाई शरीरमा व्यथा, कर्कट राशिलाई केही नोक्सानी वा क्षति, सिंह राशिलाई चोटपटक वा घात, कन्या राशिलाई खर्च बढ्ने, धनु राशिलाई मान-सम्मानमा ठेस पुग्ने, मकर राशिलाई कष्ट र कुम्भ राशिलाई पारिवारिक तनाव वा स्त्रीपीडा हुने ज्योतिषीय हिसाब छ । शास्त्रले के भन्छ भने, जुन राशिलाई अशुभ फल बताइएको छ, उहाँहरूले ग्रहणको समयमा बाहिर निस्कने वा नांगो आँखाले ग्रहण हेर्ने काम गर्नुहुँदैन । नराम्रो फलको असर कम गर्न भगवान्को नाम जप्ने र दान गर्ने सल्लाह दिइएको छ ।
बर्जित गरिएका कार्यहरू
ग्रहणको समय भनेको प्रकृतिको ऊर्जा परिवर्तन हुने निकै संवेदनशील समय हो । त्यसैले प्राचीन ऋषिमुनिहरूले यो समयमा केही काम गर्न पूर्णरूपमा रोक लगाएका छन् । धर्मसिन्धु नामक ग्रन्थमा यसबारे प्रष्ट पार्ने एउटा महत्वपूर्ण श्लोक छ :-
निद्रायां जायते व्याधिर्मूत्रे दारिर्द्यमाप्नुयात् ।
पुरीषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।
आभ्यञ्जने भवेत् कुष्टिर्भोजने स्यादधोगतिः ।
बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।।
अर्थात् ग्रहण लागेको समयमा सुत्यो भने शरीरमा रोग लाग्नसक्छ । एकदमै च्यापेको अवस्थामाबाहेक यो बेला दिसा–पिसाब गर्नाले दरिद्रता बढ्छ भनिएको छ । यस समयमा श्रीमान्–श्रीमतीबीच शारीरिक सम्पर्क गर्नाले पाप लाग्ने र शरीरमा तेल लगाउने वा शृंगार गर्नाले रोग लाग्नसक्ने शास्त्रमा उल्लेख छ । त्यसैगरी ग्रहणको बेला खाना खाँदा अवनति हुने, कसैलाई बाँधेर राख्नाले वा काटमार र हिंसा गर्दा ठूलो पाप लाग्ने बताइएको छ । साथै ग्रहणमा श्राद्ध गर्नु शुभ भए पनि श्राद्धको भोजन भने गर्नुहुँदैन ।
गर्नुपर्ने शुभ कार्यहरू :
नकारात्मक कुराहरू मात्र होइन, ग्रहणको समयलाई त झन् आध्यात्मिक प्रगतिका लागि ठूलो अवसर मानिएको छ । यो बाहिरी काम छोडेर भित्री मनलाई शान्त बनाउने उत्कृष्ट समय हो । ग्रहण लागेको समयमा आफूलाई मन पर्ने भगवान्को नाम लिने, मन्त्र जप्ने वा ध्यान गर्नाले अरू बेलाको भन्दा हजारौं गुणा बढी फल मिल्छ । विद्यार्थीहरूका लागि त यो झनै विशेष समय हो । यो बेला पढेको कुरा छिटो याद हुने र विद्या सिद्ध हुने भएकाले विद्यार्थीले आफ्नो पढाइलाई निरन्तरता दिनु एकदमै राम्रो हुन्छ । यसका साथै ग्रहणमा स्नान अर्थात् नुहाउनुको पनि ठूलो महत्व छ । सकेसम्म तीर्थस्थलमा वा नजिकको नदी, तालमा गएर नुहाउनु राम्रो हुन्छ । त्यहाँ जान सम्भव नभए घरमै नुहाउने पानीमा कुश राखेर नुहाउनुपर्छ भन्ने कुरा निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख छ । ग्रहणमा नुहाउनाले रोगव्याधि हटेर जान्छन् । त्यसैगरी यो समय लिनुभन्दा दिने अर्थात् दान गर्ने समय हो । गरिब-दुःखीलाई अन्न वा वस्त्र दान गर्नु यो समयमा निकै शुभ मानिन्छ । ग्रहणको समयमा गरिएको दानले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
ग्रहण एउटा प्राकृतिक चक्र हो, यसदेखि धेरै डराउनु पर्दैन । हाम्रा ऋषिमुनिहरूले वैज्ञानिक र मनोवैज्ञानिक दृष्टिकोणबाटै मन र शरीरलाई स्वस्थ राख्न बनाएका यी सरल नियमहरूलाई पालना गर्दा हामीलाई नै फाइदा पुग्छ । यो विशेष समयलाई सकारात्मक ऊर्जा बढाउन र मानसिक शान्ति प्राप्त गर्न उपयोग गरौं ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच