लाहोर । आइसिसी टी-२० विश्वकप क्रिकेटमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले राष्ट्रिय टोलीका सबै खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ अर्थात् झण्डै १८ हजार अमेरिकी डलर जरिवाना गरेको छ । पिसिबीले यो जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण लगाएको जनाएको हो ।
विशेषगरी समूह चरणमा भारतसँग ६१ रनले पराजित भएपछि बोर्डले तत्कालै जरिवानाको निर्णय गरेको थियो । त्यतिबेला सेमिफाइनल पुगे जरिवाना फिर्ता हुन सक्ने संकेतसमेत दिइएको थियो । पाकिस्तान ‘सुपर एट’ चरणसम्म पुगे पनि त्यसपछि समस्यामा पर्यो । न्युजिल्याण्डसँगको खेल वर्षाका कारण रद्द भयो भने इंग्ल्याण्डसँग पराजित हुनुपर्यो ।
त्यसपछि सेमिफाइनल पुग्न अन्य नतिजामा भर पर्नुपर्ने अवस्था बनेको थियो । श्रीलंकासँग ठूलो अन्तरको जित आवश्यक भए पनि पाकिस्तानले त्यो अनुरूप खेल्न सकेन र टोली बाहिरियो । यससँगै पाकिस्तान लगातार चौथोपटक आइसिसी पुरुष प्रतियोगिताको सेमिफाइनलमा पुग्न असफल भयो । प्रतियोगिताभर टोलीभित्र कुनै अनुशासनसम्बन्धी समस्या नभए पनि प्रदर्शनकै आधारमा सामूहिक रूपमा जरिवाना लगाइनु दुर्लभ र सम्भवतः अभूतपूर्व कदम मानिएको छ ।
यसअघि पनि पिसिबीले ठूला प्रतियोगितापछि कडा निर्णय लिँदै आएको छ । केही महिनाअघि एसिया कपको फाइनलमा भारतसँग हारेपछि बोर्डले खेलाडीहरूलाई विदेशी टी-२० लिग खेल्न दिइने एनओसी अस्थायी रूपमा निलम्बन गरेको थियो, यद्यपि पछि त्यो निर्णय फिर्ता लिइएको थियो ।
निर्णयप्रति पूर्वकप्तानको आपत्ति
आफ्नो टोली निराशाजनक प्रदर्शनसहित आइसिसी टी-२० विश्वकप क्रिकेटको उपाधि होडबाट बाहिरिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले खेलाडीमाथि चर्को जरिवाना लगाउने निर्णय गरेको भन्दै पूर्वकप्तान रुष्ट बन्नुभएको छ । ‘हामीले निरन्तर निराशाजनक प्रदर्शन गर्दै आएका छौं । तर, खेलाडीलाई जरिवाना तिराएर प्रदर्शनमा सुधार आउँदैन । यस्तो निर्णय गर्नु तुच्छ काम हो,’ उहाँले भन्नुभएको छ ।
पूर्वकप्तान अफरिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो साख फर्काउन पाकिस्तानी क्रिकेटमा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । ‘खेलाडीमाथि जरिवाना लगाउनु समस्याको समाधान होइन । पाकिस्तानी क्रिकेटको स्तर उकास्न प्रणालीगत र नीतिगत सुधार आवश्यक छ,’ उहाँले भन्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा खराब प्रदर्शन गर्ने खेलाडीलाई तत्काल घरेलु क्रिकेट खेल्न पठाउनुपर्ने उहाँको धारणा छ ।
पछिल्लो समय व्यस्त खेल तालिकाका कारण खेलाडीले पर्याप्त आराम नपाएको पनि उहाँको भनाइ थियो । अफरिदीको धारणा सार्वजनिक भएपछि यस विषयमा सामाजिक सञ्जालमा पनि चर्को बहस सुरु भएको छ । केही पाकिस्तानी समर्थक अफरिदीको विचारसँग सहमत देखिन्छन् भने केही समर्थकले खेलाडीलाई जवाफदेही बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरिरहेका छन् । सलमान अली आगाको कप्तानीमा रहेको पाकिस्तानी टोलीले लामो समयदेखि विश्वकपमा गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच