नयाँदिल्ली । भारत र श्रीलंकामा जारी आइसिसी टी-२० विश्वकप अन्तिम चरणतिर छ । सुपर आठको रोमाञ्चक यात्रा सकिँदै गर्दा टी-२० विश्वकपमा ब्याटरहरूको लय सुस्त रहेको छ । २० टोली सहभागी महाकुम्भको सुरुवातमा रनको वर्षा हुने अनुमान गरिए पनि ५५ मध्ये ४९ खेल सकिँदा त्यो देखिएन । यद्यपि, यही कठिन परिस्थिति र बलरहरूको दबदबाबीच केही यस्ता ब्याटरहरू निस्किए, जसले आफ्नो ब्याटबाट शतक बनाए । जारी विश्वकपमा अहिलेसम्म चार शतक बनेका छन् ।
यो विश्वकपमा शतकको खाता खोल्ने श्रेय श्रीलंकाका २७ वर्षीय ओपनर पाथुम निसान्कालाई जान्छ । अष्ट्रेलियाविरुद्धको समूह ‘बी’को खेलमा उहाँले देखाएको संयमता र आक्रामकता तारिफयोग्य थियो । १८२ रनको लक्ष्य पछ्याउने क्रममा पाथुमले ५२ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै अविजित १०० रन बनाउनुभयो । यद्यपि श्रीलंका सुपर आठबाट अघि बढ्न सकेन, तर पाथुमले ६ खेलमा २०८ रन बनाउँदै आफ्नो व्यक्तिगत छाप भने छोड्न सफल हुनुभयो ।
क्यानडाका १९ वर्षीय युवा ब्याटर युवराज सिंह समराले यसपटक क्रिकेट जगत्लाई स्तब्ध पारिदिनुभयो ।न्युजिल्याण्डजस्तो बलियो टेष्ट राष्ट्रविरुद्ध ६५ बलमा ११० रन बनाउँदै उहाँ विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छो खेलाडी बन्नुभयो । चेन्नईको मैदानमा ११ चौका र ६ छक्का बर्साउनुभएका उहाँ टेष्ट राष्ट्रविरुद्ध शतक प्रहार गर्ने पहिलो ‘एसोसिएट’ खेलाडीसमेत बन्नुभयो ।
पाकिस्तानका साहेबजादा फरहानका लागि यो विश्वकप सपना जस्तै रह्यो । नामिबियाविरुद्ध कोलम्बोमा ५८ बलमै अविजित १०० रन जोड्दै उहाँले आफ्नो करियरकै पहिलो शतकलाई विश्वकपको मञ्चमा यादगार बनाउनुभयो । ११ चौका र ४ छक्काको मद्दतले पाकिस्तानलाई २०० रनको योगफलमा पुर्याउनुभएका फरहानले ५ इनिङ्समा २८३ रन बनाउँदै आफूलाई टोलीको मुख्य खम्बा साबित गर्नुभयो ।
इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले यसपटक ब्याटर र कप्तान दुवै भूमिकामा न्याय गर्नुभयो । पाकिस्तानविरुद्धको निर्णायक सुपर आठ खेलमा ५१ बलमै शतक प्रहार गर्दै उहाँ टी-२० विश्वकपको इतिहासमा शतक बनाउने पहिलो कप्तान बन्नुभयो । यो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो । ब्रुक अब इंग्ल्याण्डका लागि तीनै संरचना (टेष्ट, ओडिआई र टी-२०) मा शतक बनाउने तेस्रो खेलाडी (डेविड मलान र जोस बटलरपछि)समेत बन्नुभएको छ । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच