काठमाडौं । आगामी मार्च १० तारिखमा नेपालमा आयोजना हुने तय भएको आइसिसी क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गतका खेलहरू अन्योलमा परेका छन् । मध्यपूर्वमा चुलिँदै गएको तनावका कारण प्रतियोगिताअन्तर्गत नेपाल, ओमान र युएईबीच हुने भनिएको त्रिकोणात्मक सिरिज हुने सम्भावना न्यून बन्दै गएको हो ।
मार्च १० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजक नेपालसँगै ओमान र युएईले प्रतिस्पर्धा गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । तर, अमेरिका र इजरायलले इरानमा आक्रमण गरी त्यहाँका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएको घटनापछि खाडी क्षेत्रमा तनाव बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानले प्रत्याक्रमण जारी राखेपछि त्यसको प्रभाव खेलकुद क्षेत्रमा समेत पर्न थालेको बताइएको छ ।
हाल भारत र श्रीलंकामा आइसिसी टी-२० वर्ल्डकप सञ्चालन भइरहेको छ । प्रतियोगितामा सहभागी वेष्ट इण्डिज र जिम्बाब्वेका केही खेलाडीहरू क्षेत्रीय अस्थिरताका कारण भारतमै अलपत्र परेको खबर सार्वजनिक भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का एक पदाधिकारीका अनुसार, मार्च १० मा तय भएका ५० ओभरको एकदिवसीय विश्वकप छनोटअन्तर्गतका खेल हुने सम्भावना निकै कम छ । ‘ओमान, युएई र नेपालले मध्यपूर्वको अवस्थालाई नजिकबाट नियालिरहेका छन् । तर, यो पूर्ण रूपमा आइसिसीको इभेन्ट भएकाले अन्तिम निर्णय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नै गर्नेछ,’ उहाँले भन्नुभयो । आइसिसीले हालसम्म यस विषयमा कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।
लिगअन्तर्गत ३६ खेलमध्ये नेपालले २० खेल खेलिसकेको छ । नेपालले पाँच खेलमा जित निकाल्दै १२ अंक जोडेको छ भने १३ खेलमा हार बेहोरेको छ । दुई खेल नतिजाविहीन रहेका छन् । हाल अंकतालिकामा नेपाल सातौँ स्थानमा छ ।
आठ टोली सहभागी यस लिगबाट शीर्ष चार टोली एकदिवसीय विश्वकपका लागि छनोट हुने प्रावधान छ । २४ खेल खेलेको अमेरिकाले १८ जितसहित ३६ अंक जोड्दै शीर्ष स्थान ओगटेको छ भने समान खेल खेलेको स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स तेस्रो, ओमान चौथो, क्यानडा पाँचौँ, नामिबिया छैटौँ स्थानमा छन् । २० खेल खेलेको युएई आठौँ स्थानमा छ ।
नेपालले पछिल्लोपटक युएईमा सम्पन्न सिरिजमा चारै खेल गुमाएको थियो । आगामी खेलहरू नेपालका लागि ‘गर या मर’ को अवस्थामा रहेको विश्लेषण गरिएको छ । अबका बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेमात्र नेपाललाई विश्वकप यात्राको सम्भावना जीवित राख्न सकिने देखिन्छ ।
आइसिसी विश्वकप लिग-२ का लागि २० खेलाडी प्रारम्भिक टोलीमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले गत शुक्रबार आगामी विश्वकप लिग–-२ का लागि प्रारम्भिक २० खेलाडीलाई ‘क्लोज क्याम्प’ मा बोलाएको थियो । रोहित पौडेलको नेतृत्वमा छनोट गरिएको प्रारम्भिक टोलीको उपकप्तान दिपेन्द्रसिंह ऐरी रहनुभएको छ । त्यस्तै, कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, इशान पाण्डे, आकाश चन्द र हेमन्त धामी हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आयोजनामा प्रतियोगिता यही २६ फागुन देखि ६ चैतसम्म टियू मैदान कीर्तिपुरमा हुने कार्यतालिका छ ।
मध्यपूर्व द्वन्द्वले विश्वकप फुटबलमा पनि प्रभाव
मध्यपूर्वमा बढ्दो तनाव र युद्धका कारण विश्व खेलकुद क्षेत्रमा पनि ठूलो असर परेको छ । विशेषगरी सन् २०२६ को फुटबल विश्वकपमा इरानको सहभागितालाई लिएर अन्योलता उत्पन्न भएको छ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि इरानका फुटबल संघका अध्यक्ष मेहदी ताजले अहिलेको अवस्थामा विश्वकपका लागि उत्साहित हुन नसकिने बताउनुभएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरान समूह ‘जी’ मा रहेको छ । उसका तीनै खेल अमेरिकामा हुँदैछन् । जुन १५ र २१ मा लस एन्जलसमा (न्युजिल्याण्ड र बेल्जियमविरुद्ध) र जुन २६ मा सियाटलमा (इजिप्टविरुद्ध) हुने तय छ ।
यदि इरानले विश्वकपबाट नाम फिर्ता लियो वा खेल्न नसक्ने भयो भने फिफासँग दुई विकल्प छन् । इरानको सट्टा अर्को देशलाई मौका दिने वा इरानको समूहमा रहेका तीनवटा टोलीबीच मात्र खेल गराउने विकल्प हुनेछ । इरान बाहिरिएमा उसको स्थानमा एसियाली क्षेत्रबाट इराक वा युएईले मौका पाउने सम्भावना बढी छ ।
यता युद्धका कारण कतार फुटबल संघले आफ्ना सबै फुटबल गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरेको छ । जसका कारण दोहामा हुने भनिएको ‘फाइनालिसिमा’ खेल पनि अन्योलमा परेको छ । यो खेल युरोपेली च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच मार्च २७ मा हुने तय थियो, जसमा लियोनल मेस्सी र लामिन यामल चर्चित खेलाडी खेल्ने अपेक्षा गरिएको थियो ।
खेलकुद क्षेत्र अस्तव्यस्त
मध्यपूर्वमा भएको सैन्य आक्रमणका कारण क्रिकेटमा पनि असर परेको छ । आबुधाबीमा हुने भनिएको इंग्ल्याण्ड लायन्स र पाकिस्तान शाहिन्सबीचको खेल रद्द गरिएको छ । इंग्ल्याण्डको महिला टोलीको युएई भ्रमण पनि स्थगित गरिएको छ । इंग्ल्याण्डका स्टार क्रिकेटर जोनी बेयरस्टो आफ्नो परिवारसहित दुबईमा अड्किनुभएको छ र उहाँले सुरक्षित रूपमा घर फर्कन सरकारसँग गुहार माग्नुभएको छ ।
अष्ट्रेलिया, चीन र जापानमा हुने आगामी फर्मुला वान रेसहरूमा तत्काल असर नपर्ने भए पनि अर्को महिना बहराइन र साउदी अरबमा हुने रेसहरूका बारेमा आयोजकहरूले निगरानी गरिरहेका छन् ।
टेनिस खेलाडी ड्यानिल मेदवेदेभलगायतका खेलाडीहरू दुबईमा अड्किएका छन् । हवाई मार्ग बन्द भएका कारण उनीहरूलाई अमेरिका (इण्डियन वेल्स प्रतियोगिता) जान कठिन भएको छ ।
यस्तै, इटालीमा हुन लागेको विन्टर प्यारालिम्पिक्सका लागि केही खेलाडीहरूलाई हवाई क्षेत्र बन्द भएका कारण यात्रा गर्न समस्या भइरहेको छ ।
अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि प्रत्याक्रमण सुरु गरेको छ । यसले गर्दा मध्यपूर्वको हवाई क्षेत्र असुरक्षित बनेको छ र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहभागी हुन खेलाडीहरूको आवतजावतमा ठूलो बाधा पुग्नुका साथै समग्र खेल क्षेत्र नै अस्तव्यस्त बनेको छ । एजेन्सीको सहयोगमा







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच