भियना । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले इरानमा अमेरिका र इजरायलको आक्रमणपछि कुनै पनि आणविक प्रतिष्ठानमा क्षति पुगेको वा क्षति भएको ‘कुनै संकेत नभेटिएको’ जनाएको छ । संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाका प्रमुखले उक्त जानकारी गराएका हुन् । आइएइएका लागि इरानी प्रतिनिधि रेजा नाजाफीले प्रमुख आणविकस्थल नातान्जमा आक्रमण भएको बताउनुभएको थियो । इरान सम्बन्धी निकायको ‘बोर्ड अफ गभर्नर’को असाधारण सत्रको उद्घाटन गर्दै आइएइएका प्रमुख राफेल ग्रोसीले सबै पक्षलाई तनाव बढ्नबाट बच्न अधिकतम संयम अपनाउन आग्रह गर्नुभयो ।
‘इरानमा आणविक प्रतिष्ठानको स्थितिको बारेमा, अहिलेसम्म हामीसँग बुशहर आणविक ऊर्जा संयन्त्र, तेहरान रिसर्च रिएक्टर वा अन्य आणविक ईन्धन चक्र सुविधासहित कुनै पनि परमाणु प्रतिष्ठान क्षतिग्रस्त भएको वा प्रभावित भएको कुनै संकेत भेटिएको छैन,’ उहाँले भन्नुभयो । आइएइएले इरानी आणविक नियामक अधिकारीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको उसले जारी गरेको आफ्नो विज्ञप्तिमा ग्रोसीले भन्नुभयो ।
‘हामी आशा गर्दछौं कि सञ्चारको यो अपरिहार्य मार्ग सकेसम्म चाँडो पुनः स्थापित हुने छ,’ उहाँले थप्नुभयो । नातान्ज आणविक स्थलमा आक्रमण भएको दाबी गर्दै अमेरिकाले इरानमाथि परमाणु बम बनाउन खोजेको आरोप ‘आक्रमण र आक्रमणको बहाना’ भएको उहाँले बताउनुभएको छ । उहाँले एएफपीसँग भन्नुभयो, इरानको आणविक ऊर्जा संगठनका प्रमुखले महानिर्देशकलाई पत्र पठाएर नातान्ज आणविक केन्द्रमा आक्रमण भएको जानकारी गराउनुभएको थियो ।
ग्रोसीले सोमबार राति एक पत्रकार सम्मेलनमा ‘उहाँ बोर्डमा आफ्नो भनाइमा अडिग भएको’ बताउनुभयो । ‘हामीले उनीहरूको सुविधालाई लक्षित गरी ठूलो सैन्य गतिविधि भएको देखेका छैनौं । हामीले विभिन्न स्याटेलाइट तस्वीर हेरिरहेका छौं । त्यहाँ केही हुनसक्छ, तर हामीले अघिल्लो पटक देखेको भन्दा कुनै पनि हिसाबले महत्वपूर्ण वा तुलनात्मक भिन्नता छैन,’ उहाँले भन्नुभयो ।
गतवर्ष जुन महिनामा भएको १२ दिने युद्धमा इजरायल र अमेरिकाले नातान्जलगायत इरानका प्रमुख आणविक केन्द्रमा आक्रमण गरेका थिए, जहाँ त्यसयता आइएइएका निरीक्षकलाई भ्रमण गर्न अनुमति दिइएको छैन । ‘अहिले इरानमा कुनै पनि यस निकायका निरीक्षक छैनन्,’ ग्रोसीले भन्नुभयो, ‘आक्रमण सुरु भएदेखि इरानसँग ‘धेरै सीमित’ कुराकानी भएको छ ।’
ग्रोसीले आफ्नो प्रारम्भिक वक्तव्यमा इरानमाथि आक्रमण र त्यसको जवाफी क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वको अवस्था ‘धेरै चिन्ताजनक’ भएको बताउनु भएको थियो । उहाँले भन्नुभयो, ‘सैन्य आक्रमणमा परेका इरान र यस क्षेत्रका अन्य धेरै देशसँग आणविक ऊर्जा प्लान्ट र आणविक अनुसन्धान रिएक्टर र सम्बन्धित इन्धन भण्डारण स्थल छन्,’ जसले आणविक सुरक्षामा खतरा बढाएको छ । ग्रोसीले कूटनीतिक वार्ता ‘जतिसक्दो चाँडो’ पुनः सुरु गर्न आह्वान गर्नु भएको थियो । गत महिना जेनेभामा भएको इरान र संयुक्त राज्य अमेरिकाबिच इरानको आणविक कार्यक्रमबारे भएको दुई चरणको वार्तामा ग्रोसी सहभागी हुनुभएको थियो । उहाँले भन्नुभयो, ‘यसपटक दलबीच समझदारी हुन सकेन । म निश्चित छु कि हामी स्पष्ट रूपमा व्यापक निराशाको भावना महसुस गरिरहेका छौँ ।’ यो असाधारण बैठक ३५ देशको प्रतिनिधित्व गर्ने आइएइएको बोर्ड अफ गभर्नरको पहिले नै निर्धारित नियमित सत्रभन्दा पहिले भएको थियो । तेहरानको प्रमुख सहयोगी रुसको अनुरोधमा भियनास्थित उक्त निकायको असाधारण बैठक बोलाइएको थियो ।
संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा देश र इरानको कट्टर शत्रु इजरायलले इस्लामिक गणतन्त्रले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउने गरेका छन् । तेहरानले त्यस्ता सैन्य महत्वाकांक्षा अस्वीकार गर्दछ तर नागरिक उद्देश्यका लागि इरानले प्रविधिमा आफ्नो अधिकारमा जोड दिन्छ । रासस/एएफपी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच