काठमाडौं । चलचित्र ‘आबाट आमा’ ले घरेलु बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै उल्लेखनीय व्यापार गरेको छ । गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले ३० दिनमा १२ करोड २३ लाख ३८ हजार ८२९ रुपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा चार लाख ६१ हजार ५७२ वटा टिकट बिक्री भएको विवरण छ । यो तथ्यांक फागुन १६ गते शनिबारसम्मको हो भने सोमबार फिल्मले प्रदर्शनको ३२औं दिन पूरा गरेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार ‘आबाट आमा’ यसवर्ष सर्वाधिक कमाइ गर्ने फिल्ममध्ये तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको चलचित्र ‘परान’ले १७ करोड ८४ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ भने दोस्रो स्थानमा रहेको ‘जेरी अनटप’ ले १२ करोड २६ लाख ६ हजार रुपैयाँ कमाइ गरेको छ । ‘जेरी अनटप’ लाई ‘आबाट आमा’ ले छिट्टै उछिन्ने अनुमान गरिएको छ ।
चन्द्र पन्त निर्देशित यो चलचित्र भावनात्मक पारिवारिक कथामा आधारित छ । चलचित्रमा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ । चलचित्रले व्यापारिक रूपमा सफलता हातपारेसँगै ‘आबाट आमा २’ निर्माणको घोषणासमेत भइसकेको छ । नयाँ रिलिजको अभावका कारण निर्वाचन पछिसम्म चलचित्र हलमा टिक्ने अनुमान गरिएको छ ।
यस्तै, तीन चलचित्र ‘कुमारी’, ‘रमिताको पिरती’ र ‘बिगुल’को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले शनिबार राति १२ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।
तीनमध्ये दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ले बक्स अफिसमा अन्यको तुलनामा बढी कमाइ गरेको देखिएको छ । गत माघ २३ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘कुमारी’ ले हालसम्म कुल ६४ लाख ४६ हजार १२६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । युवा-युवतीको प्रेम कथामा आधारित यस चलचित्रको यो अवधिमा १९ हजार ९५९ वटा टिकट बिक्री भएको छ ।
यस चलचित्रमा अभिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ र आकांक्षा कार्कीको मुख्य अभिनय छ । चलचित्रका कार्यकारी निर्माता केदार भुसाल र निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ ।
त्यस्तै, ‘कुमारी’सँगै माघ २३ गतेबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘रमिताको पिरती’ ले २८ लाख ६८ हजार १४३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । आठ हजार ७३७ जना दर्शकले हलमा पुगेर यो चलचित्र हेरेका छन् । सुदिप्ता अधिकारीको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा आना शर्मा र विनय श्रेष्ठको मुख्य भूमिका छ ।
एक युवतीको प्रेम भावनालाई सूक्ष्म रूपमा प्रस्तुत गरिएको भनिएको यस चलचित्रमा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राईलगायतको अभिनय छ । सागर लम्सालको लगानी रहेको यो चलचित्रका कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल हुनुहुन्छ ।
फागुन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बिगुल’ले भने अपेक्षा अनुसारको व्यापार गर्न सकेन । चलचित्रले नौ लाख २८ हजार ८६० रुपैयाँ ग्रस कलेक्सन गर्दा दुई हजार ७२२ वटा टिकट बिक्री भएको छ । चलचित्र प्रदर्शनको केही दिनमै निर्माता तथा कांग्रेस नेता दिनेश कोइरालाले चुनावको कारण देखाउँदै प्रदर्शन स्थगित गरेका थिए ।
देशको वर्तमान राजनीतिक अवस्था र जनभावना समेटिएको भनिएको यस चलचित्रलाई रमेश कोइरालाले निर्देशन गर्नुभएको हो । बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी जस्ता स्थापित कलाकार र नवअभिनेत्री मिरा पण्डितको यसमा मुख्य अभिनय छ ।
निर्वाचनमा क्यूएफएक्सका सबै हल बन्द हुने
यही फागुन २१ मा हुने निर्वाचनका दिन नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सम्पूर्ण सिनेमा हलहरू बन्द हुनेभएका छन् । क्यूएफएक्सले जारी गरेको सूचनामा फागुन २१ गते देशभरका सबै हल बन्द रहने जानकारी दिइएको छ । साथै, कर्मचारीहरूलाई मतदानमा सहभागी हुन प्रोत्साहन गरिएकाले फागुन २० र २२ गते केही स्थानमा हलहरूको सेवा प्रभावित हुनसक्ने पनि बताइएको छ ।
दर्शकहरूलाई हलमा जानुअघि क्यूएफएक्सको आधिकारिक एप वा वेबसाइटमार्फत जानकारी लिन आग्रह गरिएको छ । क्यूएफएक्सले निर्वाचन अवधिभर दर्शकहरूको समझदारी र सहयोगको अपेक्षा व्यक्त गर्दै सबै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न पनि अनुरोध गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच