नैनीताल पुग्ने रहर वर्षौंपछि बल्ल अहिले आएर पूरा भयो । चर्खा कातिरहेका महात्मा गान्धीको प्रतिमालाई दाहिने पारी तालको नजिक पुग्नासाथ बेग्लैखाले हावाले मन तरंगित बनायो । म र मेरी उनी २०८२ कात्तिक चौथो साता अल्मोडाबाट कैंचीधाम हुँदै साँझ यहाँ पुगेका हौं । बासको व्यवस्था हुनासाथ नैनीतालको अभिराम सौन्दर्य हृदयंगम गर्न फटाफट आइहाल्यौं । मालरोडबाट आएका हामी तालको किनारै किनार हिँड्न थाल्यौं । सात पहाडले घेरिएको नैनीताल, डेढकिलोमिटर जति लम्बाइ र करिब आधाकिलोमिटर चौडाइसहित एक सय २० एकड क्षेत्रफलमा फैलिएको रहेछ ।
नैनीताललाई तल्लीताल र मल्लीताल नाम दिई दुई भागमा बाँडिएको थाहा पाइयो । तल्लीताललाई नैनीतालको प्रवेशद्वार भनिँदोरहेछ । मल्लीतालमा चाहिँ नैना (नयना) देवीको मन्दिर रहेछ । कोही डुंगामा सवार भई त्यता लम्किए । हामी चाहिँ एकातिर ताल र अर्कोतिर लज, रेष्टुरेन्ट, बजार आदिको रौनक हेर्दै मल्लीतालतिर लाग्यौं । तालको किनारैकिनार पदमार्गमा हिँड्दा भिन्नै सुखद् अनुभूति भयो । मन भुलाउने धेरै कुरा रहेछन् । फलामे बारले घेरिएको ताल र पारिपट्टि देखिएका घर, मन्दिर अनि डाँडाले सुन्दरता थपेको पाइयो । हरियालीयुक्त किनारमा जोकोही टहलिन चाहँदारहेछन् । चार खरायोले तलतिरको खरायोलाई उचाल्न मद्दत गरेको मनोरम मूर्तिकलासामु तस्वीर नखिचाउने कमै हुँदारहेछन् ।
तालको उत्पत्तिसम्बन्धमा फरक पौराणिक कथा पनि रहेछ । यस अनुसार यस तालको नाम ‘त्रिऋषि सरोवर’ हो रे ! उहिले अत्रि, अगस्त्य तथा पुलह ऋषिले अनजानमा भएको पापको प्रायश्चितका लागि यो ठाउँ रोजेका रहेछन् । तीनै ऋषिले अलग, अलग स्थानमा त्रिशूल गाडे अनुसार नैनीताल, खुरपा ताल र मालवा ताल बनेको भनाइ पनि रहेछ ।
कसरतमा रमाउन चाहनेलाई ठाउँठाउँमा त्यसको सुविधा जुटाइएको रहेछ । तालतिर निहुरिएर हेर्दा थरीथरीका माछा हामीलाई देखी लजाउँदै परपर भागे । नैनादेवीको मन्दिर पुग्दा झमक्क साँझ पर्यो । भोलि बिहान आउने बाचा गरी फर्कियौं । फर्कंदा तालको विपरीत बाटो अँगाल्यौँ । साना, ठूला विभिन्न प्रकारका होटल, लज आदिले माथिसम्मै ओगटेका रहेछन् । जतिसुकै चिसो हावा चले पनि तालको तालमा जीवनको ताल मिलाउन खोज्नेहरूको जोश भनिसाध्य छैन ।
भोलिपल्ट बिहानै फेरि नैनीताल पुग्यौं । अहिले नै डुंगा चढी तालमा सयर गर्ने र थरीथरीका तस्बिर लिने मनसुबा चाहिँ हुस्सुले उडाइदियो । लुखुरलुखुर हिँड्दै अघि बढ्यौं । नैनादेवीको प्रातःकालीन दर्शन गरी आफूलाई कृतार्थ तुल्याइयो । तालसँगै जोडिएर रहेको नैनादेवीको मन्दिरबाट ताल नियाल्न किन छाडिन्थ्यो र ! नैनीताल र नैनादेवीका बीचमा गहिरो सम्बन्ध रहेछ । सतीदेवीको वाम नयन अर्थात् देब्रे आँखा पतन भएकाले नैनीताल कहलाएको रहेछ । अग्लो ठाउँबाट हेर्दा नैनीताल ठ्याक्कै नयन अर्थात् आँखा जस्तै देखिँदोरहेछ । हिमाचल प्रदेशको विलासपुरमा पनि नैनादेवीको मन्दिर छ रे ! सतीदेवीको बायाँ आँखा नैनीतालमा र दायाँ आँखा उता पतन भएको हुनसक्छ !
तालको उत्पत्तिसम्बन्धमा फरक पौराणिक कथा रहेछ । यसनुसार यस तालको नाम ‘त्रिऋषि सरोवर’ हो रे ! उहिले अत्रि, अगस्त्य तथा पुलह ऋषिले अनजानमा भएको पापको प्रायश्चितका लागि यो ठाउँ रोजेका रहेछन् । तीनै ऋषिले अलग–अलग स्थानमा त्रिशूल गाडे अनुसार नैनीताल, खुरपा ताल र मालवा ताल बनेको भनाइ पनि रहेछ । मानसरोवर-कैलास यात्रामा हिँडेका त्रिऋषि निश्चित तिथिमा त्यहाँ पुग्न नसकेकाले यहीँ ताल बनाइएको अर्कोथरी भनाइ पनि सुनियो । ती ऋषिका मागनुसार महर्षि गर्गले आफ्नो तपोबलद्वारा मानसरोवरको जल यहीँ उत्पत्ति गराइदिएका हुन् रे ! महर्षि गर्गसित सम्बन्धित ‘गागरताल’ र विदुषी गार्गीसम्बद्ध ‘गौला नदी’ समेत यहाँ हुनुले कुरोमा चुरो रहेको हुनसक्ने आधार पहिल्याउन मद्दत गर्दोरहेछ ।
त्रिऋषि ‘गर्गाचल’ हुँदै मानसरोवर-कैलासको यात्रामा लागेको कथनले हामीलाई हाम्रै जुम्लाको ‘गर्गकूट’ सहजै सम्झना आउनु अस्वाभाविक होइन । ‘गर्गदेवल’, ‘गार्गीगुफा’ आदि भएको गर्ज्याङ्कोट (गर्गकूट)नै उतिबेला ‘गर्गाचल’ कहलाएको हुनसक्छ । यत्ति भावना स्फुरण हुनु के थियो, नैनीतालसित साइनो झनै कस्सिनपुग्यो । उहिले यहाँ आउनेहरू श्रद्धापूर्वक नैनीतालमा स्नान गरी नैनादेवीको दर्शन गर्दारहेछन् । नैनीतालमा स्नान गर्नाले मानसरोवरमा स्नान गरेसरह पुण्यलाभ हुने भनाइ रहेछ तर अचेल यो ताल नौकाविहारमै बढी केन्द्रित रहेको बुज्रुकका गुनासो सुनियो ।
भारतको ‘हिल स्टेशन’ का रूपमा प्रसिद्ध सिमला, मसूरी, दार्जिलिंग आदिझैँ नैनीतालको लोकप्रियता पनि कम्ताको नरहेको उदाहरण यहाँ ओइरिएका पर्यटकले जनाइरहेका छन् । पौराणिक आख्यान जे जस्तो रहे तापनि ओझेलमा रहेको नैनीताललाई उजिल्याउने काम चाहिँ फिरंगीले गरेका रहेछन् । सुशीतल डाँडाकाँडा, र मनोरम ताल आदि नछुटाउने त अंग्रेजको बानी नै हो । नैनीताल पत्तो लगाउने श्रेय पनि अंग्रेज व्यापारी पिटर बैरनलाई प्राप्त रहेछ । घुमन्ते र रसिक स्वभावका बैरनले सन् १८८२ ताका सबैलाई छक्क तुल्याउने गरी यहाँ पहिलोपटक नौकाविहार गराएका रहेछन् ।
अनि, के चाहियो, अंग्रेजका केटाकेटी पढ्ने विद्यालय खुले, होटल, लज थपिए र पर्यटक आउन थाले । सन् १८६२ मा अंग्रेज शासकले नैनीताललाई उत्तर-पश्चिमी प्रान्तको साझा ग्रीष्मकालीन राजधानीसमेत बनाएको रहेछ । त्यसपछि नैनीताल आकर्षणको केन्द्रै बनेछ । कुनैबेला गोर्खाली सरहदभित्र रहेको नैनीताल हाम्रा लागि थप प्यारो हुने नै भयो । नैनीताल हाम्रो पोखरा जस्तै तालैतालको सुरम्य भूमि ! नैनीताल वरपर अनेक ताल रहेछन् । भीमताल, नौकुचिया (नौकुने) ताल, खुर्पाताल, गागरताल, मालवाताल, हरीशताल, सरियताल, लोखमताल, भवालीताल, पूर्णताल, रामताल, सीताताल, लक्ष्मणताल, हनुमानताल, नलदमयन्तीताल, सुखताल, गरुडताल, पंगोटताल, आलमगिरताल आदि कैयन् ताल रहेछन् ।
नैनादेवीको दर्शन गरी ताल नजिकैको उद्यानमा केही बेर बिताई दायाँतर्फ लागियो । धेरैपरसम्म बजार रहेनछ । यही मल्लीतालको माथ्लोखण्डमा एउटा रज्जुमार्ग (रोपवे) देखियो । केवलकारबाट तालको दृश्य हेर्दै दुई हजार २७० मिटर उचाइमा ‘स्नो भ्यु प्वाइन्ट’ (डोरीडाँडा)सम्म पुग्नुको मजै अलग ! फर्कंदा स्थानीय महिला डालोमा फल बेचिरहेकी देखापरिन् । मुखै रसायो, किन्न गयौं । ‘माल्टा’ रहेछ । यहीँ फलेका हुन् रे !
काठमाडौं तथा पोखराबाट आएका केही युवा तल्लीतालमा भेटिए । उनीहरू चाहिँ नीम करोली बाबाको चर्चा सुनेकाले त्यता जान आएका रहेछन् । यहाँबाट जम्मा २० किलोमिटर दूरीमा कैंचीधाम, बाबाको आश्रम भएकाले यतै रात बिताई भोलि बिहानै त्यता जाने सुर तिनको रहेछ । पराई मुलुकमा भेटिएकाले हुनसक्छ, के गर्नु, नेपाली देख्नासाथ तर्किएर अघि बढ्नसकिएन, बोलिहालियो !
वरिपरिको रमणीयतामा हराउँदै, माल्टा खाँदै हामी मालरोड आइपुग्यौं । भोजन गरेर बाहिर निस्कँदा मौसम छ्याङ्ङ भएको रहेछ । नौकाविहारका लागि टिकट काट्यौें । जागेश्वर, अल्मोडाका हरीशरामले डुंगा खियाउँदै माझमा लगी हाम्रा तस्वीर पनि खिचिदिए । ‘गज्जबकै फोटोग्राफर हुनुहुँदोरहेछ’ उनले खिचेका तस्वीरको तारिफ गरिदिँदा ‘तपाईंहरू जस्ताको फोटो खिच्दा, खिच्दा अलि काबिल भइएको मात्र हो’ भन्दै उनले कानसम्मै मुस्कान पुर्याए ।
तालको पल्लोकिनार लगी एक फन्को मारेर उही ठाउँमा ल्याई बिदा लिए । डुंगासयरमा रमाएका हामी अब कता जाने ? मन्थनमा लाग्यौं । समयाभावले गर्दा अन्यत्र जान सम्भव छैन, हिजो वा बिहानभन्दा फरक दिशाबाट तालकै परिक्रमा गर्ने सोच पलायो । हिँड्दै, गफिँदै हामी तालको पल्लो कुनामा पुगी मोडियौँ । चिसो ठाउँ भएर होला, बाटोको नाम पनि ‘ठन्डीमार्ग’ राखिएको रहेछ । अघि बढ्दै जाँदा ‘सफा नैनीताल’को रहस्य खुल्यो । यहाँ ‘ताल प्रशोधन केन्द्र’ रहेछ । शनिदेव, शिवधाम, गोलुदेवता आदिका मन्दिर पनि देखिए । पाषाणदेवीको मन्दिर निकै चर्चित रहेछ । यहाँको जल अभिषेक गर्नाले चर्मरोग निको हुने र भकभकेपन हट्ने जानकारी पण्डितजीले दिए ।
‘वातावरणको शान, ईश्वरको वरदान-नैनीताल’ उल्लिखित पाटीले आँखा तान्यो । ताल र जंगलको मध्यभागबाट गरिएको यात्राले फेरि नैनादेवीको मन्दिर पुर्यायो । नजिकै मेला लागेको रहेछ, अलिबेर त्यतै अल्मलियौं । स्थानीय टोपी पहिरिँदा हामी दुरुस्तै ‘कुमाउनी’ देखियौँ रे ! नैनीताल पुग्नेहरू विभिन्न ताल अवलोकन गर्नुका साथै हिमाली आभा निहार्न नैना आदि शिखर उक्लँदारहेछन् । हिउँ पर्ने बेलामा त झन् रमझमै बेग्लै हुन्छ रे ! प्राकृतिक गुफामा रमाउन चाहनेलाई ‘इको इव गार्डेन’ले स्वागत गर्दोरहेछ । भन्टाङभुन्टुङसहित पुगेकाहरू चिडियाखाना जान तम्सिँदारहेछन् ।
काठमाडौं तथा पोखराबाट आएका केही युवा तल्लीतालमा भेटिए । उनीहरू चाहिँ नीम करोली बाबाको चर्चा सुनेकाले त्यता जान आएका रहेछन् । यहाँबाट जम्मा २० किलोमिटर दूरीमा कैंचीधाम, बाबाको आश्रम भएकाले यतै रात बिताई भोलि बिहानै त्यता जाने सुर तिनको रहेछ । पराई मुलुकमा भेटिएकाले हुनसक्छ, के गर्नु, नेपाली देख्नासाथ तर्किएर अघि बढ्नसकिएन, बोलिहालियो ! घडीको सुई कुद्नथाल्यो । भरे आठ बजे देहरादुन जाने बस समात्नुपर्ने भएकाले नैनीतालसित बिदा लिई खुरुखुरु बासस्थानतिर लम्कियौँ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच