गत शनिबारको अंकबाट क्रमशः
विज्ञापन गर्दाखेरि पनि कैयौं अवस्थामा त खुस भए दरबन्दी देखाउने, अन्यथा दरबन्दी लुकाउने, घटाउने, विज्ञापनमा नपठाउने प्रचलन काफी छ । प्रशासन सेवाले अन्य सेवालाई यति पेलेको छ कि गैरप्रशासनिक सेवाबाट मुख्य सचिव हुनै नहुने जस्तो छ । सचिव, सह-सचिवमा प्रायः प्रशासन सेवाकै दरबन्दी बढाइन्छ । स्वास्थ्य मन्त्रालयमा प्रशासन सेवाको सचिव किन चाहियो ? सञ्चार मन्त्रालयमा आइटी पृष्टभूमिको सचिव, सहसचिव हुनुपर्ने होइन ? उद्योग मन्त्रालयको सचिव, सहसचिव औद्योगिक इन्जिनियरिङ समूहको जनशक्तिमध्येबाट हुनुपर्ने होइन ? राष्ट्रिय योजना आयोगका सदस्यहरू, सचिव, सह-सचिवहरू क्षेत्रगत विज्ञता भएका इन्जिनियरिङ इकोनोमिक्स बुझ्ने इन्जिनियहरूमध्येबाट हुनपर्ने होइन ?
पहाडका टाकुरा-टाकुरामा भ्युटावर बनाइएका छन् । खेतका बीचमा सम्भाव्यता अध्ययनबिना, वातावरणीय अध्ययनबिना भ्युटावर बनाइएका छन्, गरिब जनताबाट उठाइएका कर वा विदेशीलाई पछि तिर्ने गरी लिइएको ऋणबाट देशको वास्तविक आवश्यकताका क्षेत्रमा भन्दा पनि उच्च पदासीन व्यक्तिका नितान्त लहड र सोखका क्षेत्रमा बजेट खन्याइएको छ र धनी र गरिबबीचको दूरी अरू थप बढाइएको छ ।
सामान्य स्वभाविक सचेतना प्रयोग गरी प्राकृत रूपमा नै लाभ-लागतबारे ज्ञान भएका इन्जिनियरहरूबाट नै वडा अध्यक्ष, पालिका प्रमुख चयन हुनसक्दा स्थानीय तहमा आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च वृद्धि गर्न सजिलो हुने रहेछ भन्ने कुरा अनुभूत भइरहेको बेलामा लगानी बोर्डको सचिव, सह-सचिव आदि सिभिल इन्जिनियरिङ पृष्ठभूमिका व्यक्तिहरूबाट हुनुपर्ने होइन ? यस्तै स्वास्थ्यमन्त्री चयन गर्दा सो क्षेत्रको ज्ञान, अनुभव भएको वा कम्तीमा पनि सम्बन्धित राजनीतिक दलको स्वास्थ्य विभागमा लामो अनुभव भएको हुनुपर्ने होइन ?
खानेपानीमन्त्री, भौतिक पूर्वाधारमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री यी आदि सबैमा उक्त क्षेत्रको केही न केही शैक्षिक योग्यता, ज्ञान र अनुभव भएका व्यक्तिहरूमध्येबाट हुनुपर्ने होइन ? यी यावत पदमा व्यक्ति चयन गर्दा त्यस्तो क्षमता, अनुभव आदिलाई हेर्न नपर्ने ? पारदर्शिता पनि कायम गर्न नपर्ने ? जवाफदेयिता लिनु पनि नपर्ने ? हाम्रो कार्य संस्कृति सेवकभन्दा शासक हुने प्रवृत्तिको छ । भ्रष्टाचारमा शून्य सहनशिलता भन्ने कुरा केवलबोली र वाक्यमा छ, व्यवहारमा छैन । मुस्कानसहितको सेवा पनि त्यस्तै हो, ठस्स परेर सेवा दिने संस्कार वर्षौंदेखि चल्दैआएको छ ।
योजना छनौटका विधिहरू छन्-पूर्व सम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन तर हामीकहाँ कैयौं साना तथा मझौला आकारका आयोजना (कहिलेकाहिँ त ठूला पनि) हरू यी दुबै नगरी प्रायः सिधै विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिन्छ । यसो गर्दा सम्भाव्य नभएका योजनाहरू पनि कार्यान्वयनमा लगेर कैयौं अवस्थामा त पैसाको दुरुपयोग गरिन्छ । प्राथमिकता क्रममा एक नम्बरमा भएका आयोजना कार्यान्वयन नगरी दशौं, एघारौं नम्बर जस्तो अवलोकन स्तम्भजस्ता आयोजनाहरू कार्यान्वयन गरिन्छ । यसो गर्दा हाम्रो जस्तो आर्थिक स्रोत न्यून भएको गरिब राष्ट्रको दुर्लभ ढुकुटीको चरम दुरुपयोग भएको छ । यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न म आफूले सक्दो प्रयास गरेँ।
उचित जनशक्ति, उचित समय, उचित ठाउँको अवधारणा अनुसरण नगर्दा पनि कैयौं आयोजना रुग्ण हुनपुगेका छन् । साथै, पुँजीगत बजेटसमेत न्यून खर्च भएको अवस्था छ । कुल पुँजीगत बजेट नै न्यून भएको र त्यही थोरै बजेट पनि सत्तरी प्रतिशत भन्दा बढी खर्च नहुने, फ्रिज हुने हुँदा देशमा रोजगारी कसरी सिर्जना हुन्छ ? पहाडका टाकुरा–टाकुरामा भ्युटावर बनाइएका छन् । खेतका बीचमा सम्भाव्यता अध्ययनबिना, वातावरणीय अध्ययनबिना भ्युटावर बनाइएका छन्, गरिब जनताबाट उठाइएका कर वा विदेशीलाई पछि तिर्ने गरी लिइएको ऋणबाट देशको वास्तविक आवश्यकताका क्षेत्रमा भन्दा उच्च पदासीन व्यक्तिका नितान्त लहड र सोखका क्षेत्रमा बजेट खन्याइएको छ र धनी र गरिबबीचको दूरी अरू थप बढाइएको छ ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्ता अर्बौं रकमको आयोजनाहरू लगानी र प्रतिफलको लेखाजोखाबिना नै निर्माण गरिएका हुन् भन्ने कुरा आज त्यहाँ दिनमा एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नुबाट स्पष्ट हुँदैन र ! एउटा कर्मचारी भएपछि तटस्थताको सिद्धान्तमा रहेर सेवा प्रवाह गर्ने सदा प्रयास मैले गरेँ । राजनीतिलाई सम्मान गर्नुपर्छ, यो सबै नीतिको पनि मूल नीति हो भन्ने लागिरह्यो । चुनावका समय मतदाता भएर कुनै राजनीतिक दलका उम्मेदवारलाई भोट पनि हालियो, जिताइयो पनि । पछि सह-सचिव, प्रदेश सचिव भएर काम गर्दा तिनै आफूले जिताएका सांसद मन्त्री भई आए र तिनीहरूसँग काम पनि गरियो । गाउँ, घर र समाजको आर्थिक र सामाजिक अवस्थाको रूपान्तरण गर्ने जिम्मेवारी बोकेका मन्त्री, सांसद र नेताको व्यवहार र आचरण देखेर कैयौं अवस्थामा त घिन लागेर पनि आयो ।
मैले यस्तो बेलामा आफूले आफैंलाई यिनीहरूलाई नेता, सांसद वा मन्त्री कसले बनाएको ?’ भनी प्रश्न पनि गरेँ र हामीले नै हो’ भनेर आफैंले आफैंलाई उत्तर पनि दिएँ । अनि राम्रो बानी, व्यवहार नभएको, खराब आचरण भएको नेतालाई चुनाव जिताएर हामीले नै मन्त्री बनाउने अनि दोष अरूलाई दिने भन्ने कुरा यस्तो विश्लेषणपश्चात् मलाई लागिरहन्छ । यस अगाडि जे जस्तो गल्ती गरे पनि अब त्यसलाई फेरि दोहोर्याउन चाहिँ हुँदैन । पार्टी, दलभन्दा पनि राम्रो आचरण, कार्यक्षमता र अनुभव भएका देशभक्त मानिस राजनीतिको सिरान–पुछार सबैतिर होऊन् र यसका लागि हामी सबैले सक्दो प्रयास गर्नुपर्छ भन्ने लागेको छ ।
देशको मुहार फेर्न खालि भाषणले मात्र सकिँदैन न त कोरा श्रमलेमात्र पनि यो सम्भव हुन्छ । हामीसँग भएका प्राकृतिक स्रोतसाधनलाई आधुनिक, किफायती, भरपर्दो र वैज्ञानिक प्रविधिसँग जोड्दै, आफ्ना पुरातन नकारात्मक विचारलाई सकारात्मक सोचले प्रतिस्थापन गर्दै असल तथा प्रगतिशील आचरणको निरन्तरको अभ्यासमार्फत् मात्र गाउँघर र शहरको आर्थिक, सामाजिक रूपान्तरण सम्भव हुन्छ । यसो गर्दा देशको विकासको खाका कोरेर त्यसका लागि के कस्ता जनशक्ति चाहिन्छ ? सोको पहिचान गरी ती सबै हामीले हाम्रै भूमिमा उत्पादन गर्न सक्नुपर्छ । अरू स्रोतसाधनको परिचालन गर्ने जनशक्ति सबभन्दा बढी महत्वपूर्ण साधन हो ।
यस्तो महत्वपूर्ण साधनको परिचालनमा योजना बनाई सर्वाधिक ध्यान दिँदा बाँकी स्रोतसाधनको महत्तम परिचालन हुन गई चिजबिज बिस्तारै ठीक हुँदै जान्छन् भन्ने कुरा लि-क्वान यु (सिंगापुर), महाथीर (मलेसिया) आदिको काम गराइ र तिनीहरूले हासिल गरेको उपलब्धिबाट बुझ्न गाह्रो हुँदैन । बाहिर विकसित देशमा भएको विकासलाई देखेर हामी यस्तो गर्न किन नसक्ने हँ ! भन्ने जिज्ञासा निरन्तर उठिरहन्छ । जापानले दोस्रो विश्वयुद्धको त्यत्रो विध्वंशबाट उठेर आज संसारलाई विकासको परिष्कार पस्केको छ । चीनमै पनि देङ स्यायो पिङ हुँदै हालको सि जि पिङको नेतृत्वसमेतले चीनको विकासलाई धेरै अगाडि बढाएका छन् । अष्ट्रेलिया, युरोप, अमेरिका र भारत (नरेन्द्र मोदीको नेतृत्वमा) ले पनि विश्वमञ्चमा कति शालीन आर्थिक कूटनीतिको अभ्यास गरिरहेका छन् ।
यी सबै विश्व दृश्यलाई मनन गर्दा मलाई पनि हाम्रो देशको नेतृत्व गर्ने यस्तै शालीन, परिपक्व, निःस्वार्थी, आर्थिक कूटनीतिक कला भएको व्यक्ति आए हुने भन्ने लागिरहन्छ तर हामीकहाँ त के भएको हो यस्तो ? बिहान, दिउँसो वा बेलुका जतिखेर टिभी हेर, कार्यक्रम सुन, एकले अर्कालाई खुइल्याउनबाहेक हाम्रा नेतृत्वहरूले हामीलाई केही सिकाएनन् । अरूका राम्रा कुरालाई अत्मसात् गरी आफूलाई परोपकारी, गुणकारी र उपयोगी बनाउने प्रयास कसैले गरेनन् । पुराना त उस्तै भए-भए, नयाँ पनि उस्तै-उस्तै देखिएका छन् । आ-आफ्ना पेशा, व्यवसायका कुरा गर्ने, अनुभव आदान-प्रदान गर्नेभन्दा पनि प्रायः सबैको कुराकानीका विषय नै राजनीति हुने गर्छन् ।
राजनीति र प्रशासन एकले अर्काको कार्यक्षेत्रलाई अतिक्रमण पनि गरिरहेका छन् । राजनीतिज्ञ, मन्त्रीहरू कर्मचारी सरुवा गर्न र करारका दरबन्दीमा आफ्ना आसेपासेलाई नियुक्त गर्नमा तल्लीन छन् । नयाँ अन्तरिम सरकारले यी यावत् कुरा छोटो अवधिभित्रै सुधार गर्नसक्ने कुरा पनि सम्भव छैन । निजामती सेवाभित्रका यी तमाम् बेथिति, विकृति, विसंगतिलाई एक्लै, दुक्लैले उलटपुलट पार्न पनि सम्भव हुँदैन । अझ यस सेवाका उच्च तहका नेतृत्वहरू प्रतिकूल हुँदा यस्ता सुधार झन् असम्भव हुन्छ ।
हामीले मानवीय स्रोतको विकास, विस्तार, परिचालन र व्यवस्थापनमा जति कलाकौशल हामी प्रदर्शन गर्न सक्छौं, त्यति नै छिटो देशले विकासमा फड्को मार्न सक्दछ । हामीले आफ्नो आनिबानी, व्यवहार र आचरणमा चामत्कारिक सुधार गरी निरन्तर रूपमा नलागेसम्म यहाँ देखिने गरी विकास हुनेछैन । उल्लेखनीय सुधार पनि देखिने छैन ।
राजनीतिले सीमित व्यक्ति, समूहलाई मात्र च्यापेर काम गर्ने र यिनै कर्मचारीहरूका मात्र कुरा सुन्ने हुँदा यस सेवाभित्र रहेका सीमित इमान्दार मानिसहरू पनि आफ्ना कामप्रति उदास र भविष्यप्रति निरास भएको अवस्था छ । यिनै स्थितिलाई मध्यनजर राख्दै र यस सेवाभित्रको कार्य वातावरणप्रति तीव्र असन्तुष्टि जनाउँदै त्यसको प्रतीकात्मक रूप प्रकट गर्ने क्रममा विसं २०८२ को मंसिर ०१ गतेदेखि लागू हुनेगरी मैले सह-सचिव पदमा करिब ११ वर्षको कार्यानुभवपछि राजीनामा दिएको छु ।
५. निष्कर्ष
नेपाल रहेमात्र हामी नेपाली रहन्छौँ । तसर्थ, प्रथमतः मलाई आफ्नो देश नेपाल आफ्नै आँखा, नाक, कान, घाँटीसरह प्रिय लादग्छ । जसरी आफ्नो शरीर स्वस्थ राख्न म उच्च प्राथमिकता दिन्छु, त्यसै गरी आफ्नो भूगोलभित्र मातृभूमिमा विकास फैलाउन म सकेको तल्लीन हुन्छु । विकास फैलाउँदा आवश्यक हुने स्रोत, सामग्री हाम्रै देशभित्र हुनुपर्छ भन्ने पनि लाग्दछ । यदि त्यस्ता स्रोतसाधन केही नभएको अवस्था छ भने अध्ययन, अनुसन्धान गरेर त्यस्ता स्रोत सामग्रीको उत्खनन, अन्वेषण र आवश्यक परे आयात गर्न हामी सक्छौं र विकास विस्तार गर्न सक्छौं भन्ने मलाई लाग्दछ । सबै तरिकाले बढीभन्दा बढी आत्मनिर्भर हुनसकेमात्र हामीले विश्वमञ्चमा नेपालको उपस्थितिलाई सम्मानित बनाउन सक्दछौं ।
यसका लागि सबैभन्दा महत्वपूर्ण स्रोत भनेकै मानवीय स्रोत हो, जसले अन्य स्रोतको समेत परिचालन गर्दछ । यस्ता मानवीय स्रोतको विकास, विस्तार, परिचालन र व्यवस्थापनमा जति कलाकौशल हामी प्रदर्शन गर्न सक्छौं, त्यति नै छिटो देशले विकासमा फड्को मार्न सक्दछ । हामीले आफ्नो आनिबानी, व्यवहार र आचरणमा चामत्कारिक सुधार गरी निरन्तर रूपमा नलागेसम्म यहाँ देखिने गरी विकास हुनेछैन । उल्लेखनीय सुधार पनि देखिने छैन । निजामती सेवाभित्रको विकृति, विसंगति, व्यथिति मेरो सेवा प्रवेशका बेला जे थियो त्यो अझसम्म उस्तै छ । यिनै बेथिति, विसंगतिप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतीकात्मक रूपमा मैले सह–सचिव पदबाट राजीनामा दिएँ ।
तथापि उक्त पदबाट बहिर्गमनपश्चात् देश र समाजप्रतिको मेरो आफ्नो कर्तव्य र दायित्व एउटा देशभक्त र विकासप्रेमी नागरिकको हैसियतमा झन् बढेको महसुस गर्न म पुगेको छु । यसबाट मलाई निजामती सेवाभित्रको कानुनी बन्धनबाट मुक्त भएर समाजमा विद्यमान बेथितिका बारेमा सत्य, तथ्य उत्खनन गरी जनसमक्ष ल्याउन थप अवसर मिल्नेछ । साथै, समाजमा विद्यमान समस्याहरूलाई कार्ययोजना बनाएर समाधान गर्ने र आशातीत नतिजा निकाल्न प्रक्रिया र निगतमा निरन्तर ध्यान दिनुपर्ने व्यवस्थापकीय कला–कौशलका बारेमा आफूले हासिल गरेका ज्ञान, सीप र अनुभव समाजमा सम्प्रेषण तथा विनिमय गर्नसमेत मलाई यथेष्ट समय मिल्नेछ । यसप्रकार आफ्नो शरीरले सकुन्जेल नेपाल र नेपालीको हित र उन्नतिमा समर्पित भएर सधैं लागिरहने आफ्नो चाहना रहेको ब्यहोरासमेत सहर्ष व्यक्त गर्दछु । समाप्त । (वस्ती नेपाल सरकारको पूर्वसह-सचिव हुनुहुन्छ ।)







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच