काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देश चुनावमय बनेको छ । मतदान हुन अब एक दिनमात्र बाँकी रहँदा मतदाता आफ्नो मताधिकार प्रयोग गर्न गाउँघर फर्कने क्रम तीव्र भएको छ । आगामी बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मतदानले देशको आगामी पाँच वर्षको राजनीतिक नेतृत्व तय गर्ने भएकाले नागरिकमा उत्साह र चासो उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । देशभर २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएका छन् भने एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता आफ्नो मताधिकार प्रयोग गर्न तयार छन् । मतदान केन्द्रमा सुरक्षाकर्मी, कर्मचारी तथा आवश्यक सामग्री समयमै पुर्याइएको आयोगले जनाएको छ ।
उपत्यकाबाट बाहिरिनेको लर्को
निर्वाचनको अवसरमा सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेपछि काठमाडौं उपत्यकाबाट जिल्ला फर्कनेको संख्या उल्लेख्य रूपमा बढेको छ । फागुन १८ देखि २४ गतेसम्म विभिन्न पर्व, निर्वाचन बिदा र साप्ताहिक अवकाश जोडिँदा उपत्यकामा सवारी चाप दशैँ–तिहारको झल्को दिने गरी बढेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला केही दिनयता दैनिक औसत २५ देखि ३० हजार मानिस उपत्यकाबाट बाहिरिरहेका छन् । हाल उपत्यकामा भित्रिनेभन्दा बाहिरिने सवारीसाधन र यात्रुको संख्या बढी छ । विशेषगरी गोंगबु (नयाँ बसपार्क), कलंकी, कोटेश्वर र बल्खु क्षेत्र बिहानैदेखि यात्रुको भिडले खचाखच देखिन्छ ।
उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिनुभयो । ‘निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबारसम्म जारी रहनेछ’, उहाँले भन्नुभयो, ‘सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ ।’ गत शुक्रबारदेखि मंगलबार मध्याह्नसम्म उपत्यकाबाट स्थलमार्ग भएर उक्त संख्यामा मानिसहरू बाहिरिएका हुन् । यसबाहेक निजी सवारीसाधन र हवाई मार्ग भएर उपत्यका छाड्नेहरू पनि उत्तिकै छन् ।
बसपार्कमा टिकट काउन्टरअगाडि लामो लाइन, हातमा झोला बोकेका मतदाता, आफ्ना आफन्तसँग फोनमार्फत सम्पर्क गर्दै सिट सुनिश्चित गर्ने प्रयास-यी दृश्यहरू यतिबेला सामान्य बनेका छन् । ट्राफिक प्रहरीले सवारी व्यवस्थापन चुनौतीपूर्ण भए पनि नियन्त्रणमा रहेको जनाएको छ । विगतका निर्वाचनमा जस्तै राजनीतिक दलहरूले झण्डा, तुल, ब्यानरसहित मतदाता ओसार्ने सवारीको प्रयोग यसपटक न्यून देखिएको प्रहरीको भनाइ छ । मतदाताहरू आफैं जिम्मेवार बन्दै निजी गाडी, माइक्रोबस तथा लामो दूरीका बसमार्फत जिल्ला फर्किरहेका छन् ।
गाउँघरमा चुनावी माहोल
उपत्यका क्रमशः सुनसान बन्दै जाँदा गाउँघरमा भने चुनावी चहलपहल बढेको छ । वर्षौंदेखि शहरमा रोजगारी वा अध्ययनका सिलसिलामा बसेकाहरू गाउँ फर्किएसँगै स्थानीय बजारहरू गुलजार हुनथालेका छन् । चिया पसल, चौतारी र सामुदायिक भवनहरूमा चुनावी बहस चर्किएको छ ।
मौन अवधि चलिरहेकाले अहिले उम्मेदवारहरू पनि मौन छन् । तर, निर्वाचनसम्बन्धी अन्य काम भने द्रुत गतिमा भइरहेको छ । स्थानीय युवाहरूले मतदान केन्द्र सरसफाइ, स्वयंसेवा तथा सूचना प्रवाहमा सक्रियता देखाएका छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशतर्फ जाने यात्रुको संख्या उल्लेख्य छ । लामो दूरीका बसहरू दिन-रात सञ्चालनमा छन् ।
सुरक्षा सतर्कता र सीमाक्षेत्रमा कडाइ
स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकाय उच्च सतर्कतामा छन् । भारत र चीनसँग जोडिएका सीमाक्षेत्रहरूमा फागुन १८ मध्यरातदेखि २१ मध्यरातिसम्म आवतजावतमा रोक लगाइएको छ । अत्यावश्यक र आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य आवागमन पूर्णरूपमा बन्द गरिएको प्रशासनले जनाएको छ ।
देशभर निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा सुरक्षा व्यवस्थापन सुदृढ बनाइएको छ । संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी व्यवस्था गरिएको छ ।
मतदाताहरूले यस निर्वाचनलाई लोकतन्त्रको महापर्वका रूपमा लिँदै आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ फर्कने निर्णय गरेका छन् । गोगंबुस्थित नयाँ बसपार्कमा घरजाने तयारीमा रहनुभएका बर्दियाका लछुराम थारूले भन्नुभयो, ‘मत हाल्न त जसरी पनि जानैपर्छ, यो हाम्रो अधिकार र कर्तव्य दुवै हो ।’ उपत्यकाबाट बाहिरिनेको भिड लागे पछि बसको टिकट पाउन यात्रुहरूलाई सकस भएको छ । उनीहरूले बसको टिकट नपाइएको र पाइए पनि व्यवसायीले भाडादर बढाएको गुनासो गरेका छन् । गृहजिल्ला रामेछाप जान बसको टिकटका लागि जडिबुटी बसपार्कमा भेटिनुभएका फुलमान तामाङले भन्नुभयो, ‘टिकट पाउनै सकिएको छैन् बसपार्कमा धाएको दुई दिन भइसक्यो तर पाएको छैन । गाडीवालाले टिकट दर पनि बढाएका छन् ।’
उपत्यकामा पसल-व्यवसाय आंशिक रूपमा बन्द हुन थालेका छन् भने कार्यालयमा पनि उपस्थिति न्यून देखिएको छ । सडकमा सवारीको चाप घट्दै जाँदा राजधानी केही दिनका लागि शान्त र सुनसानजस्तै देखिन थालेको छ । तर, यही शान्त उपत्यकाको विपरीत गाउँघरमा रौनक बढ्दै गएको छ । मतपेटिकामा खस्ने मतसँगै नयाँ आशा, अपेक्षा र भविष्यको मार्गचित्र तय हुनेभएकाले देश यतिबेला निर्णायक मोडमा उभिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच