काठमाडौं । मध्यपूर्वको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारलाई अस्थिर बनाएको छ । शनिबार संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि क्षेत्रीय अवस्था झन् चर्किएको हो । इरानले पनि प्रत्याक्रमण थालेपछि यो द्वन्द्वले विश्व इन्धन आपूर्ति र मूल्यमा गम्भीर असर पार्ने संकेत देखिएको छ । द्वन्द्व सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १३ प्रतिशतले उकालो लागेको छ । खाडी क्षेत्रको सबैभन्दा व्यस्त तेल मार्ग स्ट्रेट अफ हर्मुजमा अवरोध हुनसक्ने चिन्ताले बजार अस्थिर बनेको हो । इरान विश्वका प्रमुख तेल उत्पादक देशमध्ये एक हो, जसले चीन, भारतलगायत देशमा ठूलो परिमाणमा तेल निर्यात गर्दै आएको छ । यसैबीच, कतारमा ग्यास उत्पादन प्रभावित भएपछि युरोपेली ग्यास बजार पनि हल्लिएको छ । ‘डच टिटिएफ प्राकृतिक ग्यास सम्झौता’ अनुसार ग्यासको मूल्य करिब ४५ प्रतिशतले बढेको छ । खाडी क्षेत्रमा आपूर्ति अवरुद्ध हुने डरले ऊर्जा बजारमा थप दबाब परेको देखिन्छ ।
भारतमार्फत निर्भर नेपाल, तत्काल छैन जोखिम
नेपालले शतप्रतिशत पेट्रोलियम पदार्थ भारतबाट आयात गर्छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसन (आईओसी)मार्फत प्रशोधित पेट्रोलियम पदार्थ ल्याउने गर्छ । भारतले आफ्नो ठूलो तेल आवश्यकताका लागि मध्यपूर्वमै भर पर्नुपर्ने भएकाले त्यहाँको संकटले भारत हुँदै नेपालमा असर पर्नसक्ने अनुमान गरिएको छ । तर, आयल निगमले भने तत्काल कुनै अभाव नहुने स्पष्ट पारेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पाइपलाइनमार्फत २४ घण्टै नियमित आपूर्ति भइरहेको छ र उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन । ‘बजारमा देखिएको लाइन मनोवैज्ञानिक त्रासमात्रै हो’, उहाँको भनाइ छ । निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले पनि आधिकारिक सूचना नबुझी हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार नेपालले आवश्यक इन्धन माग अग्रिम रूपमा भारत पठाइसकेको हुन्छ र सोही आधारमा आपूर्ति भइरहेकाले तत्काल मूल्य र आपूर्तिमा समस्या पर्दैन ।
व्यापार विज्ञ रविशंकर सैंजुका अनुसार भारतले १५/१५ दिनमा मूल्य पठाउने व्यवस्था रहेकाले हालको अवधिसम्म मूल्य स्थिर नै रहनेछ । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च रहे आगामी चक्रमा वृद्धि हुनसक्ने संकेत उहाँले गर्नुभएको छ ।
पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले पनि तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताउनुभएको छ । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व-नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रिया कार्यक्रममा घिमिरेले यस्तो बताउनुभएको हो । ‘बेलाबेला नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ । यसर्थ, विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ’ घिमिरले भन्नुभयो, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो । तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन ।’
खपत बढ्यो, मौज्दात पर्याप्त
आयल निगमका अनुसार नेपालको वार्षिक खपत भारतको एक दिनको खपत बराबरमात्रै हो । नेपालमा दैनिक करिब दुईदेखि साढे दुई हजार किलोलिटर पेट्रोल र करिब चार हजार किलोलिटर डिजेल खपत हुन्छ । पाइपलाइनमार्फत दैनिक छ–सात हजार किलोलिटर आपूर्ति भइरहेको निगमको दाबी छ । हालैको बिदा र आसन्न निर्वाचनले काठमाडौं उपत्यकामा खपत उल्लेख्य बढेको छ । सामान्यतया दैनिक आठ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हुनेमा आइतबार पेट्रोल एक हजार ६५० किलोलिटर र डिजेल एक हजार २५० किलोलिटर बिक्री भएको निगमले जनाएको छ । निर्वाचनका कारण समग्र माग पाँचदेखि दश प्रतिशतसम्म बढेको छ । निगमले १५ दिन पुग्ने मौज्दात राखिएको र थानकोट डिपो बिदाका दिनमा पनि खुला रहने जनाएको छ ।
अनावश्यक सञ्चय नगर्न आग्रह
सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निगमले सवारीसाधनबाहेक जेरी क्यान, ड्रम वा अन्य भाँडामा पेट्रोलियम पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ । अनावश्यक भण्डारणले आगलागीको जोखिम बढाउने र कृत्रिम अभाव सिर्जना गर्ने भन्दै यस्तो निर्णय गरिएको हो । निगमले बजार अनुगमनका लागि टोली खटाएको र उपभोक्तालाई आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न अनुरोध गरेको छ । इरानमाथिको आक्रमणपछि ओपेक प्लसले उत्पादन बढाउने विषयमा छलफल गरेको छ । अप्रिलदेखि दैनिक दुई लाख ६ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने सहमति भएको जनाइएको छ । यसले बजारलाई केही सन्तुलनमा राख्न मद्दत गर्नसक्ने अनुमान गरिएको छ । मूल्य बढ्ने संकेत देखिए पनि नेपालमा तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने आयल निगमको दाबी छ । मौज्दात पर्याप्त रहेको र पाइपलाइनमार्फत नियमित आपूर्ति भइरहेकाले उपभोक्तालाई आत्तिनु नपर्ने निगमको भनाइ छ । तर, विश्वबजारको अवस्था लम्बिँदै गए आगामी दिनमा मूल्य समायोजन हुनसक्ने सम्भावना भने कायमै छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच