काठमाडौं । मध्यपूर्वको आकाशमा युद्धको कालो बादल मडारिएको छ । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि हजारौं/लाखौं यात्रु बोकेर उडेका जहाजहरूले भरिने आकाश अहिले क्षेप्यास्त्र र लडाकु जेटले ढाकिएको हो । युद्धको धुवाँले युद्धरत तीन देशमात्रै होइन, कुनै सरोकार नै नभएकाहरू पनि प्रभावित भएका छन् । संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, साउदी अरेबिया, ओमान, जोर्डन र यमनलगायत देशमा युद्धको प्रत्यक्ष प्रभाव परेको छ । यसबाहेक ती देशमा विभिन्न देशका नागरिक रहेकाले युद्धको प्रभाव पर्ने देशको सूची अझै लामो छ । यी देशहरूका प्रमुख विमानस्थलहरूमा हजारौं उडान रद्द भएका छन् ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल, जायद अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत अन्तर्राष्ट्रिय विमानस्थल र बहराइन अन्तर्राष्ट्रिय विमानस्थलजस्ता व्यस्त केन्द्रहरू सुनसान बनेका छन् । चार दिनमै झण्डै १० हजार उडान रद्द हुँदा १५ लाखभन्दा बढी यात्रु प्रभावित भएको अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको छ । छिमेकी देश भारतका इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल, केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल र चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सयौं उडान रद्द गरिएका छन् । हवाई मार्ग असुरक्षित भएपछि युरोप, अमेरिका र एसिया जोड्ने मुख्य ट्रान्जिट केन्द्रहरू ठप्पजस्तै बनेका छन् । युद्धको प्रत्यक्ष असर यात्रु र आप्रवासी कामदारमा परेको छ । मध्यपूर्वका विमानस्थललाई ट्रान्जिट बनाएर अमेरिका र युरोप जाँदै गरेका नेपालीसहति हजारौं यात्रु अलपत्र परेका छन् ।
खाडीका प्रमुख विमानस्थलमा हजारौं उडान रद्द
मध्यपूर्वको युद्धका कारण खाडी मुलुकका व्यस्त र प्रमुख विमानस्थलमा चार दिनको अवधिमा झण्डै दश हजार उडान रद्द भएका छन् । त्यसबाट १५ लाखभन्दा बढी यात्रु प्रभावित भएको अरब न्यूजले जनाएको छ । हवाई उड्डयनसम्बन्धी अनलाइन फ्लाइटरडारका अनुसार, प्रभावित विमानस्थलहरूमा दुबई अन्तर्राष्ट्रिय विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल, जायद अन्तर्राष्ट्रिय विमानस्थल, शारजाह अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, बहराइन अन्तर्राष्ट्रिय विमानस्थल र अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । दैनिक रद्द उडान विवरण अनुसार, शनिबार १४ सय, आइतबार ३४ सय, सोमबार ३४ सय र मंगलबार बिहानसम्म १३ सय यात्रु उडान रद्द भएका छन् । शनिबारदेखि मंगलबारसम्म कूल नौ हजार ५०० भन्दा बढी उडान रद्द भएको फ्लाइरडारले जनाएको छ । प्रतिविमान औसत १६० यात्रु रहेको अनुमानका आधारमा १५ लाखभन्दा बढी यात्रु प्रभावित भएको अनुमान गरिएको हो ।
काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द
मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय हवाई उडान रद्द भएका हुन् । जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सले काठमाडौंमा गर्ने उडान रद्द भएको हो । कुवेत, सारजहाँ, आबुधावी, दुबई, दोहाका निर्धारित उडान रद्द भएका हुन् । मध्यपूर्वी देशमा निर्धारित उडानबाहेक अन्य मुलुकमा समेत सामान्य रूपमा उडान/अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको एयरस्पेस आज पनि बन्द रह्यो । सोमबार पनि त्रिभुवन विमानस्थलका लागि पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए ।
दुबईको एमिरेट्स र एतिहादले सुरु गरे सीमित उडान
संयुक्त अरब इमिरेट्सको प्रमुख वायुसेवा कम्पनी एमिरेट्स र एतिहाद एयरवेजले इरानमा हमलापछि शनिबारदेखि रोकिएका नियमित उडानहरूलाई पुनः सुरु गर्दै सीमित संख्यामा उडान सञ्चालन गरेका छन् । सोमबार, दुबईको स्थानीय समयानुसार साढे ४ बजे एमिरेट्सले दुबईबाट लण्डनतर्फ पहिलो यात्रु उडान गरेको थियो । त्यसैदिन बिहान एमिरेट्सका पाँच विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट जेद्दाह, म्यान्चेस्टर, पेरिस, लण्डनतर्फ उडेका थिए । विशेष रूपमा, लण्डनतर्फको पहिलो उडान फ्लाइट राडारमा एक लाख ३८ हजारभन्दा बढी भिजिटरले ट्र्र्याक गरेका थिए । यो दुबईबाट गरिएको पहिलो उडान थियो, जुन शनिबारको घटनापछि भएको थियो । त्यसैगरी, एतिहाद एयरवेजले सोमबार साँझ अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सुरु गरेको छ । तीन घण्टाभित्र १५ वटा यात्रु विमानहरू उडेका थिए, जसले इरानमा हमलाअघि नै रोकिएका ट्रान्जिट यात्रुहरूलाई गन्तव्यमा पुर्याउन मद्दत पुगेको थियो ।
मध्यपूर्वका देशका ‘ट्रान्जिट’मा रहेका नेपाली सुरक्षित
मध्यपूर्व तथा खाडी क्षेत्रका देशका ‘ट्रान्जिट’मा रहेका नेपाली सबै सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी मध्यपूर्व क्षेत्रका देशमा ट्रन्जिट रहेका नेपाली सुरक्षित रहेको जानकारी दिएको हो । ‘मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका दशवटा नेपाली नियोगबाट प्राप्त जानकारी अनुसार त्यहाँ रहेका सबै नेपाली सुरक्षित हुनुहुन्छ’, मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भन्नुभयो, ‘मध्यपूर्वमा ‘ट्रान्जिट’मा रहनुभएका नेपाली सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको छ ।’ अमेरिका/इजरायल र इरानबीच युद्ध चर्किँदा मध्यपूर्वका विमानस्थलहरू सञ्चालनमा आउन सकेका छैनन् । इरानले मध्यपूर्वका देशमा रहेका अमेरिकी सैन्य वेशमा आक्रमण गरेपछि विमानस्थलहरू बन्द गरिएका हुन् । मध्यपूर्वका देशमा रहेका विमानस्थललाई ट्रान्जिट बनाएर अमेरिका तथा तथा युरोप जाँदै गरेका ठूलो संख्यामा नेपाली अहिले ती क्षेत्रका विमानस्थलमा अड्किएका छन् ।
सुरक्षाका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन
मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको नेतृत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको हो । परराष्ट्र सचिवको नेतृत्वमा इमर्जेन्सी रेस्पोन्स टिम गठन गरिएको हो । मंगलबार पररष्ट्रमन्त्रिस्तरीय निर्णयको आधारमा टिम गठन गरिएको परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो । इमर्जेन्सी रेस्पोन्स टिममा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, श्रम मन्त्रालय, नागरिक उडड्यन मन्त्रालय, शिक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत प्रतिनिधि रहने व्यवस्था छ । मध्यपूर्वमा तनाव हुँदा नेपालको वैदेशिक रोजगारमा रहेका १७ लाखभन्दा बढी नेपाली श्रमिकको सुरक्षा चिन्ता बढेको छ । श्रम स्वीकृति रोकिएसँगै रोजगारी पनि प्रत्यक्ष प्रभावित भएको छ । मध्यपूर्व वैदेशिक रोजगारका लागि सबैभन्दा बढी नेपाली जाने क्षेत्र हो ।
आफ्ना नागरिकलाई मध्यपूर्व छाड्न अमेरिकाको आग्रह
अमेरिकी विदेश मन्त्रालयले गम्भीर सुरक्षा जोखिम देखाउँदै आफ्ना नागरिकलाई मध्यपूर्व छाड्न आग्रह गरेको छ । मन्त्रालयले उपलब्ध व्यावसायिक उडान प्रयोग गरेर क्षेत्रबाट बाहिरिन अमेरिकीहरूलाई आह्वान गरेको हो । यस चेतावनीमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेष्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन् । तर, क्षेत्रबाट बाहिरिन खोज्ने नागरिकका लागि सीमित उडान ठूलो चुनौती बनेको छ ।
दिल्ली र मुम्बईमा २५० भन्दा बढी उडान रद्द
मध्यपूर्वमा बढ्दो तनावका कारण मंगलबार दिल्ली, मुम्बई, बैंगलोर र चेन्नई विमानस्थलमा २५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् । यसमा दिल्लीबाट ८० भन्दा बढी, मुम्बईबाट १०७, बैंगलोरबाट ४२ र चेन्नईबाट ३० उडानहरू समावेश रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, एयर इण्डियाको उडान १४९ यात्रु र आठ क्याबिन क्रू लिएर दुबईबाट दिल्ली अवतरण गरेको थियो । जेद्दाहबाट हैदराबाद, मुम्बई, दिल्ली र अहमदाबादका लागि १० विशेष उडानहरू सञ्चालन गरिरहेको छथियो एयर इण्डिया एक्स्प्रेसले मस्कटका लागि पुनः उडानहरू सुरु गरेको छ ।
युएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिवाना नलाग्ने
युएईमा रहेका नेपालीलाई फेब्रुवरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिवाना नलाग्ने भएको छ । युएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर युएईमै बस्नुपरेका (ओभरस्टे) नेपालीहरूलाई जरिवाना (फाइन) नलाग्ने जनाएको हो । दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएकाले संयमता अपनाउन अनुरोध गरेको छ । साथै युएईमा रहेका नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो अवस्था जानकारी दिनसमेत अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले जारी गरेको अनलाइन पोर्टलमा आफ्नो अवस्थाबारे जानकारी दिन दूतावासले अनुरोध गरेको हो । हज र उमराहको निम्ति खाडी राष्ट्र साउदी अरेबिया गएका ३६ नेपाली उतै रोकिएका छन् । अमेरिका/इजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा फैलिएपछि हजयात्रामा गएका ३६ नेपाली उतै रोकिन बाध्य भएका हुन् । इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ ।
इरानसँगको युद्ध लामो समयसम्म चल्ने छैन : नेतान्याहू
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानविरुद्ध जारी युद्ध लामो समय नजाने बताउनुभएको छ । यो युद्धले क्षेत्रमा शान्तिको मार्ग प्रशस्त गर्नसक्ने उहाँको भनाइ छ । उहाँका अनुसार इजरायलले पहिले अब्राहम सम्झौताअन्तर्गत चार अरब देशहरूसँग शान्ति सम्झौता गरेको थियो । नेतान्याहूले अमेरिकासँग मिलेर काम गर्नाले धेरै देशहरूसँग शान्ति सम्झौता हुनसक्ने बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच