काठमाडौं । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअर्न्तगत सोमबार मध्यरातिदेखि मौन अवधि लागू भएको छ । मौन अवधिमा राजनीतिक दल र उम्मेदवारलगायत सम्पूर्णलाई कुनै पनि प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता कार्यान्वयनमा थप कडाइ गरेको छ । आयोगले आसन्न निर्वाचन लक्षित मौन अवधिमा सामाजिक सञ्जालमाथि सूक्ष्म निगरानी गरिरहेको छ । सामाजिक सञ्जालमा भएका गतिविधिलाई सूक्ष्म निगरानीमा राखेको जानकारी दिँदै आयोगले दुरुपयोग गरे कानुन अनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी/गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा नगराउन भनेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, ‘अन्तिममा उम्मेदवारहरूले विभिन्न हल्ला चलाउन सक्छन्, शुभेच्छुक र शुभचिन्तकहरूले त्यस्ता सामग्रीको दुरुपायेग पनि गर्न सक्छन् । यदि त्यस्तो दुरुपयोग भएको छ भने उम्मेदवार र सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पनि सजायको भागिदार हुनुपर्छ ।’
सामाजिक सञ्जालमा संप्रेषण भएको समाचार सही हो कि गलत त्यो छुट्याइदिन आग्रह गर्दै भण्डारीले भन्नुभयो, ‘कसैले समाजिक सञ्जाललाई गलत ढंगले परिचालन गरेर आफ्नो निश्चित उद्देश्य पूरा गर्न सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुभएको छ भने त्यो हटाइदिनुस् भनेर हामीले पटकपटक आग्रह गरेका छौं । मौनअवधिको समयमा झन् त्यस्ता सामग्री प्रकाशन भयो भने त्यो स्रोतको खोजी गरेर, कहाँबाट त्यो प्रवाह भएको छ, त्यो स्रोतलाई नै कारबाही गर्ने हाम्रो लक्ष्य छ ।’
मौन अवधिविपरीत हुनसक्ने कार्य रोक्न अनुगमनलाई थप प्रभावकारी बनाइएको आयोगको भनाइ छ । आयोगकी सह-प्रवक्ता सीता पुन श्रीसले २४ सै घण्टा आचारसंहिता उल्लंघनको अनुगमन भइरहेको जानकारी दिँदै भन्नुभयो, ‘अनुगमनका लागि हामीले जिल्ला तहमा दुई अनुगमन अधिकृतहरू खटाएका छौं । उहाँहरू फिल्डमै गएर आचारसंहिताविपरीतका गतिविधिबारे अनुगमन गरिरहनुभएको छ । साथै सम्बन्धित जिल्लाकै निर्वाचन अधिकृतले पनि हेर्नुहुन्छ ।’ सूक्ष्म अनुगमनका लागि छुट्टै टोली खटाइएको आयोगले जानकारी दिएको छ ।
आचारसंहिता उल्लंघन गर्नेले ६ वर्षसम्म चुनाव लड्न नपाउने
निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने स्पष्ट चेतावनी दिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देश जारी गर्दै आचारसंहिताविपरीत गतिविधि भए तुरुन्त आयोगलाई जानकारी गराउन आग्रह गर्नुभएको छ । कानुनले निषेध गरेका गतिविधि वस्तुगत प्रमाणका आधारमा ठहरिए सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै खारेज गरिने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘यदि त्यस्तो भयो भने त्यसमा शून्य सहनशीलता हुन्छ । जहाँ जस्तो जे पाउनुहुन्छ, सूचना आयोगलाई दिनुस् । कारबाही गर्न आयोग पछि हट्दैन । दोषी ठहरिएका व्यक्तिलाई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी कारबाही गरिनेछ ।’
२५ गतेभित्र सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य
निर्वाचन आयोगले आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण मतपरिणाम फागुन २५ गते सोमबारभित्र सार्वजनिक गरिसक्ने लक्ष्य लिएको छ । निर्वाचन सम्पन्न भइसकेपछि सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने तयारी आयोगले गरेको हो । मतपेटिका प्राप्त भएको २४ घण्टाभित्र मतपरिणाम घोषणा गर्ने लक्ष्य राखिएको जानकारी दिँदै निर्वाचन आयोगका प्रमुख कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, ‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइसकेपछि मतपेटिका प्राप्त भएको २४ घण्टाभित्र हामीले नतिजा दिन्छौं । गणनास्थलमा कति समूहले गणना गरिरहेको छ ? कति छिटो गणना भइरहेको छ ? भन्ने कुराको अर्थ हुन्छ । अहिले हरेक मतपत्रमा एउटामात्रै चिह्न हुन्छ, एउटा वाचन गरे पुग्छ । फागुन २५ गतेभित्र अन्तिम नतिजा दिने हाम्रो प्रयास हो ।’
यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट
निर्वाचन आयोगले ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम भएको मतदान केन्द्रमा मतदाता परिचयपत्र देखाएर भोट हाल्न सकिनेछ । मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिनेछ । मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । मतदाताले सम्बन्धित लाइनमा बसेर आफ्नो पालोअनुसार मतदान गर्नुपर्नेछ । आयोगले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैंले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष व्यवस्था गरेको छ । यस्ता मतदातालाई लाइनमा बस्न नपर्ने गरी छुट्टै सहजीकरणको प्रबन्ध मिलाइएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैंले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट सहयोग लिन सक्नेछन् ।
आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले सोमबार मध्यरातिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरकफरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणका सम्बन्धमा आयोगले स्मरण गराएको छ ।
धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रबाट कालोसूचीमा रहेका कारण उनको उम्मेदवारी खारेज गरिएको हो । आयोगमा रहेका उम्मेदवारको वैयक्तिक विवरणमा किशोरीले कमल निर्माण सेवाको शेयर होल्डर भएर काम गरेको खुलाएका छन् ।
त्यस्तै, किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । धनुषा–१ का निर्वाचन अधिकृत मनोज बरालले रास्वपा उम्मेदवार साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा आयोगले उम्मेदवारी खारेज गरेको जानकारी दिनुभयो । रास्वपाले उनको ठाउँमा अर्को उम्मेदवार खडा गर्न सक्दैन । त्यसैले रास्वपाका समर्थकहरूले अब प्रत्यक्षमा अन्य पार्टीका उम्मेदवार रोज्नुपर्ने बाध्यता परेको छ । उम्मेदवार नभए पनि मतपत्र भने साविककै हुनेछ । प्रत्यक्षमा घण्टी चुनाव चिह्न रहे पनि त्यसमा खसेको सबै मत बदर हुनेछ ।
निर्वाचनविरोधी गतिविधि गर्ने ७६ जना प्रहरी हिरासतमा
प्रतिनिधिसभा सदस्य निर्वाचनविरुद्ध गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्न निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा बनाएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ । प्रसाईंसहित निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न ७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले जानकारी दिनुभएको छ । प्रहरीले निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन थालेपछि १४२ जना पक्राउ परे पनि अदालतको आदेशले ६६ जना छुटेका छन् । यस्तै, नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचनविरोधी काम गरेको, आचारसंहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच