लोकतन्त्रको सार्वभौम सत्यमध्येको एक भनेकै जनताले आवधिक निर्वाचनमार्फत नयाँ नेतृत्वको चयन गर्नु पनि हो । लोकतन्त्रको अर्को सुन्दर पक्ष असहमतिको अधिकार हो । यही असहमतिका आधारमा नागरिकले शासकीय प्रणाली निर्माण गर्छ, आफूले चयन गरेका प्रतिनिधिमार्फत कानुन निर्माणको काम गर्छ, तिनै प्रतिनिधिले निर्माण र जारी गरेका कानुनका आधारमा राज्य सञ्चालनमा सहयोग गर्दछ । यी सबै कार्यका लागि सार्वभौम जनता स्वतन्त्र र सम्प्रभु हुन्छन् लोकतन्त्रमा ।
प्रतिनिधि चयन गर्नु पहिलेसम्म अनेक विवादहरू हुनछन्, अनेक आरोप प्रत्योरोप हुन्छन्, अनेक विवादहरूका कारण अन्तरविरोधहरू फराक हुनसक्छन्, कुनै समयमा अराजकता समेत होला । तर, लोकतान्त्रिक प्रणालीमा यी सबैको समाधान गर्ने शक्ति हुन्छ । त्यो शक्ति स्वयं जनताको समर्थनबाटै मिलिरहेको हुन्छ । नेपालले जनतालाई सार्वभौम बनाउन लागेको धेरै भएको छैन । असहमतिको अधिकार सुरक्षित राख्दै जनतालाई स्वतन्त्रतापूर्वक प्रतिनिधि चयन गर्ने अवधिलाई हेर्ने हो भने ०१५ साल पहिलो हो । जुन निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो । नेपाली राजनीतिक आकाशमुनि राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, पछिल्लो चरणमा राष्ट्रिय एकता तथा मेलमिलापको सिद्धान्त र नितका प्रपादक बीपी कोइरालाको एकस्वप्नदर्शी दृष्टिकोण र परिकल्पनाले ०१५ को निर्वाचनमा सफल नेपाली कांग्रेसलाई मात्रै होइन संविधान खारेजी, संसद् भंग र परिवर्तनकारी नेतृत्वलाई जेलयातना दिने कार्यले असहमतिको अधिकार लामो समयसम्म कुण्ठित हुनपुगेको थियो ।
०३७ सालपछि बालिग मताधिकारका आधारमा राष्ट्रिय पञ्चायतको निर्वाचन गरिएपछि केही खुकुलो देखियो र ०४६ को आन्दोलनले पूर्णरूपमा जनतालाई सार्वभौम, सम्प्रभुशक्तिमा रूपान्तरित गरेको थियो । जसको नेतृत्व गणेशमान सिंहले गर्नुभएको थियो । ०६२ को संयुक्त जनआन्दोलनले एकातिर माओवादीको हिंसा र अर्कोतिर राजा ज्ञानेन्द्रको निरंकुश बन्ने सोचलाई परास्त गर्दै नेपाली जनतालाई पूर्ण सार्वभौम सम्प्रभु शक्तिमा स्थापित गरेको हो । जसको नेतृत्व नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । त्यही आन्दोलनका बलमा निर्वाचित संविधानसभाले ०७२ मा जारी गरेको संविधानअन्तर्गत अहिले संघीय लोकतान्त्रिक प्रणाली नेपालमा रहेको छ ।
यहाँनेर बिर्सनै नहुने कुरा के छ भने पुष्पलालको वैचारिक धारमा विकसित नेपालको साम्यवादी आन्दोलन पनि ००७ यता निरन्तर जनताको अधिकारका लागि सक्रिय छ । मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पकमल दाहालहरू यी सबै नेतृत्वनायकहरूदेखि मोहन विक्रमसिंह, नारायणमान विजुक्छेसम्मका वैचारिक नेतृत्वले नेपाली जनतालाई सार्वभौम बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेको अवस्था छ । अर्थात् यी सबैको योगदानका आधारमा नेपाली जनता यतिखेर सम्प्रभुशक्तिलाई उपयोग गर्ने अर्को क्षणमा पुगेका छन् ।
आज करिब एक करोड ९१ लाख नेपाली नागरिकहरूले प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो त्यही सार्वभौम सर्वोच्चताको र सम्प्रभु शक्तिको उपयोग गर्दैछन् । यो क्षण आगामी पाँच वर्षको नेतृत्व कस्तो हुने र नेपाली जनताको विश्वास आर्जन गरी विकास र सुरक्षा प्रत्याभूत गर्ने को हुनेछ भन्ने आधारमा मत प्रदान गर्ने समय हो । राज्य प्रणालीको अभ्यास गर्दा जनताले एउटा सर्वाधिक गम्भीर पक्षलाई बिर्सन सक्दैनन् । त्यो हो राष्ट्र । राष्ट्र राजनीतिक रूपमा भनिए पनि मातृभूमि बिर्सने गरी कुनै नेतृत्व, कुनै विचार, कुनै दल, कुनै संस्था र कुनै सिद्धान्तको प्रयोग हुनसक्दैन ।
सिद्धान्त, विचारभन्दा माथि देश रहन्छ । देश बिवर्सनेहरूले, देशको माया नगर्नेहरूले, देशलाई होइन आफूलाई र आफ्नो स्वार्थलाई मात्रै केन्द्रमा राख्नेहरूले, देश र जनताका पक्षमा उभिन नसकी अरूको वैशाखीमा उभिने र टिक्नेहरूले, आफूलाई पारदर्शी बनाउनुभन्दा अपारदर्शी रहस्यमय बनाउनेहरूले, निर्माण होइन निरन्तर विनाश र विध्वंशको वकालत गर्नेहरूले कहिल्यै पनि देशको सेवा र समर्थन गरिरहेका हुँदैनन् ।
देशभक्ति उनीहरूमा हुँदैन । भ्रम छर्नुलाई लोकतन्त्र मानिँदैन । आमनागरिकलाई पारदर्शी नेतृत्व आवश्यक हुन्छ । त्यस्तो पारदर्शिता लोकतन्त्रमा मात्रै सम्भव हुन्छ । कुनै समयमा भावुक निर्णय भयो भने निर्वाचनबाटै जर्मनीमा हिट्लर पैदा भएको इतिहास छ । हिट्लर अत्यन्त प्रभावकारी, प्रभावशाली लोकप्रिय नेता थिए । सन् १९३३ मा संसद्मा पुगेका हिट्लरले बाह्र वर्षभित्र जर्मनी र बाँकी विश्वलाई कस्तो स्वरूप दिए सायद मतदानअघि नै जर्मनीका नागरिकहरूले बुझेका भए हिट्लर सत्ता र शक्तिमा पुग्ने थिएनन् ।
विश्वले इतिहासमानै त्यति ठूलो क्षति भोग्नुपर्ने थिएन । अहिले पनि निर्वाचित अनेक शासकहरू छन् जसले लोकप्रियताको आडमा उनीहरूबाट देशलाई खरानी बनाउने, मानवतालाई धुलोमा मिलाउने काम प्रत्यक्ष देखिन्छ । लोकप्रियतावादको पक्ष भावुक हुन्छ, प्रतिशोध र घृणाजन्य हुन्छ, आडम्बर र पाखण्डताले भरिपूर्ण हुनसक्छ । तर लोकरञ्जनको विषय फरक हो । लोकरञ्जन असल कामबाट हुन्छ, बुद्धि, ज्ञान र विवेकबाट हुन्छ, सहिष्णुता र सद्भावबाट हुन्छ, विनम्रता र न्यायबाट हुन्छ, समानता र पारदर्शिताबाट हुन्छ । यस्तो लोकरञ्जन स्थायी र दीर्घजीवी व्यवहार सिद्ध हुन्छ । लोकरञ्जनमा भ्रष्टाचार, शोषण, अनैतिकता, विभेद अहंकार हुँदैन । क्षमा र सहृदयताले मन पवित्र हुन्छ । नेता र नेतृत्वको मन यसैकारण कलुषित हुनुहँदैन पवित्र हुनु आवश्यक छ ।
निर्वाचनले नै हो जनतालाई आफ्नो नेता कस्तो छ र हुनुपर्छ भन्ने प्रश्नको सही उत्तर दिन्छ । एकातिर पथभ्रष्ट, अहंकारी, व्यभिचारी, अपारदर्शीहरूलाई कित्ताकाट गर्दै, अर्कातिर यस्ता दुर्गुण नभएकाहरूको परिचय निर्वाचनबाटै हुन्छ र हुनुपर्छ । अविकसित लोकतन्त्रमा केही दुर्गुण देखिन्छन् । गलत सूचना र भ्रमको कालो पर्दाको छायाँले छेकिएपछि विवेकको परीक्षण पटक्कै हुँदेैन । कतै शक्तिले, कतै लोभ र भयले, कतै गलत सूचनाको भ्रमले र कसैलाई अन्यकारणले विवेकको बन्धक बनाउने काम गरिरहेको हुन्छ । आज हामी नेपालीहरूको विवेक बन्धक हुँदैन भन्नेमा विश्वस्त छौं र हुनुपर्छ ।
आज सबै नेपाली मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी बनौं, आफ्नो प्रतिनिधि चयन गर्ने सार्वभौम अधिकारको सही उपयोग गरौं, देश र जनताका पक्षमा निष्ठापूर्वक काम गर्ने समर्थ, योग्य, निष्कलंक, स्पष्ट छवि भएको पारदर्शी नेतृत्वको चयन गरौं । भावनामा नवगौं, देश रहे, देशको सम्पदा सुरक्षित भए, देशको संस्कृति चिरन्तन भए, सुरक्षित भएमात्रै नेपाल, नेपालीको अस्तित्व र गरिमा सुरक्षित रहने हो । सुन्दर नेपालको निर्माणका लागि आज मतदानमा सहभागी हौं । भयरहीत, आशंकारहीत, लोभरहीत भएर मतदानमा सरिक होैं । प्रतिनिधिसभा निर्वाचन निर्विघ्न सफल होस् सबैमा हार्दिक शुभकामना ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि