विश्व परिवेशमा जुन मुलुक सभ्य छ, उसैको प्रतिष्ठा बढी हुन्छ । एउटा देशभित्र जुन समाज सुसंस्कृत हुन्छ, त्यही समाजलाई सबैले सम्मान गर्दछन् । पारिवारिक रूपमा हेर्दा जुन परिवारका हरेक सदस्यले आफ्नो धर्म, संस्कार र संस्कृतिलाई धानेका हुन्छन्, त्यही परिवारको इज्जत समाजमा सबैभन्दा बढी हुने गर्दछ । जुन व्यक्तिका प्रत्येक व्यवहार असल हुन्छन्, उही नै समाजमा सम्माननीय, प्रतिष्ठित र अनुकरणीय हुन्छ । प्रत्येका मानिसको चाहना आफ्नो मुलुक, समाज र परिवार सभ्यताको कसीमा अब्बल देखियोस् भन्ने हुन्छ नै ।
समाज सभ्य हुन समाजका हरेक व्यक्ति सभ्य हुन जरुरी छ । चामलमा घुन मिसिए जस्तै कोहीकोही असभ्य देखिए पनि सबैको रोजाइ सभ्य समाजकै हुन्छ । जो व्यक्ति शिष्ट छ, उसलाई सभ्य भनिन्छ । सबैले विश्वास गर्न सकिने व्यक्तिलाई सभ्य व्यक्ति मानिन्छ । कुनै मानिस कुलीन र विश्वस्त छैन भने उसलाई सभ्य मानिँदैन । सभ्य मानिस सभाका लागि सुहाउँदो र भद्र हुन्छ । यस्तै सभ्य मानिसहरूले भरिएको समाज नै सभ्य समाज हो । हाकाहाकी र खुलेयामको त कुरा परै जाओस्, सभ्य मानिसले कसैले नदेखे पनि अभद्र कार्य गर्दैन र गर्ने कल्पना सम्म गर्दैन । जहिले पनि असल चिताउने र असल प्रवृत्ति भएकाहरूको समाजलाई नै सभ्य समाज भनिने गर्दछ ।
मानिसलाई सभ्यताको पाठ सिकाउन हरेक समाजका अगुवाले सभ्य आचरण गर्नुपर्दछ । सरकार सभ्य भएमा निजामती प्रशासन सभ्य हुन्छ । सत्ता सञ्चालकहरू भ्रष्टाचारमुक्त भएमा तिनका मातहतमा रहेकाहरूलाई भ्रष्टाचारको बाटो समात्न हम्मेहम्मे नै पर्दछ । प्रशासनको सचिव सुशासनको पक्षधर भएमा सहसचिव, उपसचिवलगायत अन्य कर्मचारीहरू भ्रष्ट हुन सहज हुँदैन ।
सभ्यताका परिभाषा र मानक आ-आफ्नै हुन सक्दछन् । अधिकांश कुराहरूमा विश्वभरकै मानक समान जस्तै रहेका छन् । मान्छेका व्यवहार, लवाइखुवाइ, बोलीचाली आदि कुराहरू समान प्रकृतिकै छन् । स्थानविशेषले गर्दा फरक पर्ने भएकाले धर्म, संस्कृति, परम्परा, रहनसहन आदिका बारेमा केही भिन्नता पनि छन् तर सभ्य समाज वा सभ्य व्यक्ति भनेर चित्रण गर्नुपर्दा उस्तैउस्तै नै हुन्छ । नजानेर वा नबुझेर कसैले कतिपय मर्यादाको पालन गर्न नसकेको अवस्था बेग्लै हो तर जानीजानी र बुझीबुझी पनि सभ्यताको मार्ग छाडेर असभ्यतालाई प्रोत्साहन गर्ने गरेको पनि देखिएकै छ । यद्यपि असभ्यहरू प्रायःको रोजाइमा भने पर्दैनन् ।
मानिसलाई सभ्य बनाउन उसले अनुसरण गर्ने धर्म, ऊ बस्दै आएको समाजले निर्धारण गरेका मान्यताहरू, परम्परा, समाजले परिपालना गरिआएका संस्कारहरू र रीतिरिवाजले निर्देशित गरिरहेका हुन्छन् । देशका नागरिकलाई सभ्य बनाउन देश सुहाउँदो शिक्षा पनि दिइरहिएको हुन्छ । त्यसका अलावा संविधान, ऐन, कानुन, नियम, विनियम आदिले मानिसलाई सभ्यताको परिधिभित्र बाँधिन लक्ष्मण रेखा कोरेका हुन्छन् । जसले यी कुराहरू विधिसम्मत रूपमा परिपालना गर्दछ, ऊ सभ्य कहलिन्छ भने यसबाट बाहिरिएकाहरूलाई असभ्य ठानिन्छ । नागरिकहरू असभ्य हुँदै गए भने मुलुक, समाज र हरेक व्यक्ति पश्चगमनको बाटो समाउन पुग्दछ ।
मानिसलाई सभ्यताको पाठ सिकाउन हरेक समाजका अगुवाले सभ्य आचरण गर्नुपर्दछ । सरकार सभ्य भएमा निजामती प्रशासन सभ्य हुन्छ । सत्ता सञ्चालकहरू भ्रष्टाचारमुक्त भएमा तिनका मातहतमा रहेकाहरूलाई भ्रष्टाचारको बाटो समात्न हम्मेहम्मे नै पर्दछ । प्रशासनको सचिव सुशासनको पक्षधर भएमा सहसचिव, उपसचिवलगायत अन्य कर्मचारीहरू भ्रष्ट हुन सहज हुँदैन । गाउँपालिकाको अध्यक्षले समाजका मर्यादा अक्षरशः पालना गरेमा त्यो गाउँ नै सभ्य हुन समय लाग्दैन । विद्यालयको प्रधानाध्यापक दश बजे नियमित विद्यालय पुगेमा त्यहाँका शिक्षकहरू स्वतः नियमित हुन बाध्य हुन्छन् । कार्यालय प्रमुख नै लापर्वाह भयो भने त्यहाँका अन्य कर्मचारी अनुशासित हुन्छन् भन्ने परिकल्पना गर्न सकिँदैन ।
हरेक मानिसको चाहना सभ्य समाजकै हुन्छ । आफ्नो देश सुशासनमा अग्रणी होस् भन्ने सबैलाई लागेकै हुन्छ । आफ्ना देशका नागरिक जहिल्यै भद्रताको कसीमा अब्बल देखियोस् भन्ने नठान्ने शायदै कमै हुन्छन् । आँफू बसेको समाज अरूका आँखामा सज्जनहरूको बस्ती होस् भन्ने जो कसैलाई लागिरहन्छ । आफ्ना छरछिमेकी र इष्टमित्रको बोलीचाली, आचरण र व्यवहार असल होस् भन्ने चाहना सबैलाई हुन्छ । अभद्रहरूको संगत अल्लारे जीवनमा बाहेक अरूबेला कसैको पनि चाहनामा पर्छ जस्तो लाग्दैन । त्यसैले हरेकको इच्छा सभ्य समाज निर्माणकै हुन्छ तर पछिल्ला परिदृश्यहरू देखिँदै जाँदा कतै नेपाल उल्टो बाटोमा हिँड्दै त छैन भन्ने अनुभव हुन थालेको छ ।
कानुनले एउटा कुरा भन्छ तर नेपाली समाज अर्कै कुरालाई प्रोत्साहन गर्न अग्रसर छ । धर्म, संस्कार, संस्कृतिले निर्देश गरेको बाटो छोड्नमा नै पुरुषार्थ देख्ने मानिसहरूको भिड देखिँदैछ । अशिक्षाको तुवाँलोमा जकडिएका समयमा भए गरेका काम र त्यतिबेलाका उखानहरूलाई चरितार्थ बनाउन मान्छेहरू कस्सिएको भेटिन्छ । कति गरेर बहुविवाहको विपक्षमा नेपालमा कानुन निर्माण भयो तर मर्दकी दशवटी हुन्छन् भनेर महिलाहरू नै उद्घोष गर्न थालेका छन् । चारवटी विवाह गरेको चर्चित पुरुषले लगेमा आफू पाँचौमा पर्न तयार रहेको बताउनेहरू पनि छताछुल्ल छन् । यसमा न कुनै महिला सञ्जाल वा न कुनै महिला अधिकारका लागि लड्न निर्माण गरिएका संस्थाहरूले नै विरोध गरेको सुनिन्छ ।
मुलुकलाई आदर्शमय बनाउन देशको राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा आसीन व्यक्तिहरूको जीवन आदर्श प्रेरित हुन जरुरी हुन्छ । बाह्य मुलुकले सबैभन्दा पहिला देख्ने भनेकै यिनै व्यक्तिहरू हुन् र यिनीहरूका बारेमा विश्वले नै हेरिरहेको हुन्छ । खराब मान्छे त्यस्ता पदहरूमा पुगे भने विश्व परिवेशमा न तिनीहरूको इज्जत हुन्छ न मुलुकका आमनागरिकले नै सम्मान पाउन सक्दछन् । नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसक्दा नै हाम्रो पासपोर्टले सहजै अमेरिकी र युरोपियन मुलुकहरूमा प्रवेश पाउन नसकेका कुराहरूमा त भुक्तभोगी छँदैछौं । यसैले नेपाली जनता सम्वेदनशील भएर सभ्य मुलुक निर्माणमा अग्रसर हुन अपरिहार्य भएको छ ।
राष्ट्रका मन्त्रीहरू, सांसद्हरू, प्रशासनका सचिवहरूले सभ्य आचरण गरेमा नै मुलुकवासीहरूले त्यसलाई अनुसरण गर्ने हुन् । ठूला पदमा पुगेकाहरूलाई समाजले मानक ठानेको हुन्छ । बालबच्चालाई भोलि कस्तो मान्छे बन्ने भनेर सोध्ने हो भने उनीहरूले टेलीभिजन तथा सिनेमाका पर्दाहरूमा देखेका मान्छेहरूको उदाहरण दिन्छन् । दुई दशकअगाडितिर हिन्दी सिनेमाका हिरो रजनीकान्तले चुरोट तानेको स्टाइलमा चुरोट तान्न प्रयास गर्ने युवाहरू प्रशस्तै भेटिन्थे । त्यसैले रियलमा होस् वा रिलमा नायकको भूमिकामा रहने व्यक्तिले सधैं अनुशासित र अनुकरणीय चरित्र प्रदर्शन गर्न सक्नैपर्दछ । त्यसको उल्टो प्रवृत्ति हावी हुनपुगेमा मुलुक ध्वस्त हुन कत्ति बेर लाग्दैन ।
भ्रष्टाचारी नै भ्रष्टाचारीहरूले भरिएको संसद्, ठगैठगको उपाधि पाएकाहरूको संसद्, अनैतिकै अनैतिकहरूको संसद्, दुर्व्यसनीहरूको संसद्, कानुन तोड्नेहरूको संसद्, मुद्दै मुद्दा बोकेकाहरूको संसद् जस्ता उपाधि देशको संसद्ले पायो भने त्यो देशलाई सभ्य मुलुकको कोटिमा कसैले राख्दैन । नेपाललाई विश्वका माझमा अग्रणी सभ्य मुलुक बनाउने चाहना छ भने पहिलो प्रयास असल मानिसहरूको संसद् बनाउन जरुरी छ ।
राष्ट्रपति, प्रधानमन्त्री पछि विदेशीले हेर्ने भनेको त्यो देशको संसद् हो । संसद्मा कस्ता व्यक्तिहरू पुगेका छन् ? सांसद्हरूको ध्यान कस्ता एजेण्डाहरूमा केन्द्रित हुन्छ ? सांसद्हरू कत्तिका जिम्मेवार र उत्तरदायी छन् ? सांसद्हरूको बालीचाली, रहनसहन र सभ्यता कस्तो छ ? कस्ता आचरण अँगालेकाहरू सांसद् छन् ? जस्ता कुराहरूले त्यो देशको संसद्को हैसियत त प्रदर्शन गर्दछ नै त्यस देशका मतदाताहरूको शिक्षा, प्रवृत्ति र सचेतनालाई पनि उजागर गर्दछ । कस्ता व्यक्तिलाई नेता मानेर हिँड्ने र कस्ताका पछि लाग्दा आफ्नो इज्जत बढ्छ भनेर सोच्ने कर्तव्य त्यसैले जनताकै हुन्छ ।
भ्रष्टाचारी नै भ्रष्टाचारीहरूले भरिएको संसद्, ठगैठगको उपाधि पाएकाहरूको संसद्, अनैतिकै अनैतिकहरूको संसद्, दुर्व्यसनीहरूको संसद्, कानुन तोड्नेहरूको संसद्, मुद्दै मुद्दा बोकेकाहरूको संसद् जस्ता उपाधि देशको संसद्ले पायो भने त्यो देशलाई सभ्य मुलुकको कोटिमा कसैले राख्दैन । नेपाललाई विश्वका माझमा अग्रणी सभ्य मुलुक बनाउने चाहना छ भने पहिलो प्रयास असल मानिसहरूको संसद् बनाउन जरुरी छ । त्यसपछि संसद्भित्रका जो कोही प्रधानमन्त्री भए पनि मुलुकलाई कुनै नकारात्मक असर पर्दैन ।
जसरी मुलुकको प्रतिष्ठाका लागि सत्ताधारीहरूमा सभ्य संस्कारको अपेक्षा गरिएको हुन्छ, त्यसैगरी समाजको इज्जतका लागि पनि समाजका मुखियामा त्यस्तै आचरणको अपेक्षा हुन्छ । समाजमा प्रतिष्ठित भनिएकाबाटै अन्य सदस्यहरूले सिक्ने मौका पाउँछन् तर पछिल्ला परिदृश्यहरूले भाँडभैलो सिर्जना गरिरहेको देखिन्छ । अगुवामा सबैभन्दा रुचाइएका भनिएकैले सभ्य मानिस एक्लै बसेर पनि पढ्न नमिल्ने अपशब्दहरू सार्वजनिक रूपमै प्रयोग गर्ने गरेको पाइन्छ र ऊ नै समाज हाँक्नका लागि योग्य भन्ने मानक निर्धारण गर्ने प्रयास हुनेगरेको छ । ठीक यही प्रकारले परिवारको मूली पनि सभ्यताको नमुना बन्न सक्नुपर्दछ ।
अगुवाका पछिपछि लागेर उसले प्रयोग गरेका असभ्य शब्दहरूभन्दा पनि उत्तेजक शब्दवाणहरू प्रयोग गर्नेहरू पर्याप्त देखिन थालेका छन् । त्यस्ता संस्कृतिमा रमाइरहेका आफ्ना सन्ततिलाई सच्चिनका लागि बाबुआमाले पनि भन्न छाडेका हुन् कि नसकेका हुन् पत्तो पाउन सकिएको छैन । मातापिताले नै यस्तो प्रवृत्तिलाई स्वीकार गर्दै गएका हुन् भने यो नेपाली समाजका लागि अत्यन्त खतरनाक हो र केही समयपछि नै सभ्य मानिसहरूका अगाडि नेपालीले मुहार देखाउन नहुने अवस्था आउनेछ । सम्झाउन नसकेका हुन् भने चाहिँ केही समयपछि सच्चिने अवस्था पनि आउन सक्दछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि