खेतका दबदबे हिलोलाई अँगाल्दै असार पन्धको अविरल सिमसिमे पानीले राष्ट्रिय धान दिवसको मोहकतालाई अझ बढी उजागर गरिरहेको थियो । बाउसे र रोपाहारहरू, बेठीको भाकामा ‘मानो रोपेर मुरी उब्जाउन’ परिश्रमका मोती छरिरहेका देखिन्थे । काठमाडौं, भक्तपुर र ललितपुरका रोपाईंका दृश्यहरूमा रङ्ग भङ्गिंदै म ग्वार्कोस्थित निम्स्ट कलेजका विद्यार्थीहरूलाई असार पन्ध्रको महत्व दर्साउँदै अक्षरका बिउहरू मस्तिष्कका गरागरामा वितरण गर्दछु । कक्षा सिद्धिएपछि असारे भाका हाल्दै दह-चिउराको स्वाद लिन्छौं । विद्यार्थीहरूले ल्याएका भक्तपुरे जुजुधौले आजको वातावरणलाई अझ बढी स्वादिलो बनाएको अनुभव गर्दछु ।
नेपाली राष्ट्रियताको प्रतीक ढाकाटोपी एउटा ख्यातिप्राप्त साहित्याकारको हातबाट लगाउन पाउँदा मभित्र औधी देशभक्तिको भाव दौडिन थाल्दछ । मन हर्षले काबुमा नरहला कि भन्ने पनि लाग्दछ ।
संस्कृतिको निरन्तरताले प्रशन्न तुल्याएको आत्मीयता भनेको यही नै हो । सोच्दै नसोचेको अवस्थाबाट आजको दिन असार पन्ध्रमय भएको छ । अंग्रेजी विषयका प्राध्यापक नीलकण्ठ भुसाल र म वरिष्ठ साहित्यकार खेमनाथ दाहालको आमन्त्रणमा सिभिल होम बालकुमारीमा मध्यान्ह्को १ : ३० बजे पुग्छौं । खेमनाथ दाइ भावनाका पुष्पगुच्छा लिएर द्वारमा नै स्वागत गर्न आइपुग्नुहुन्छ । साहित्यिक मनमा सौहार्दताको वर्षा हुँदा म आनन्दले विभोर हुन्छ । भावनाको नौकामा तैरिन थाल्दछु । यतिन्जेलसम्म प्रकृतिले पनि सिमसिमे पानीको पूर्णविराम लगाएकी छैनन् । ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ भएको भएको छैन । काममा कुनै रोकावट आएको छैन ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध ‘असार पन्ध्र’ कै गतिमा हाम्रो यात्राले प्रगतिको पथ चुँमरहेको छ । खेमनाथ दाहालको कृतिको नाम सापटी लिएर भन्नुपर्दा यात्राको सिकर्नीले जीवनको श्वेतपत्रमा हस्ताक्षर गरेको छ । मलाई लाग्छ असारले अहोरात्र हाम्रो मन र मस्तिष्कमा व्यास, वाल्मीकि कालिदास र होमर भएर काव्यात्मक शीतलता प्रदान गरिरहनेछ । परिश्रमी हातहरूमा मोतीका दाना उमार्नेछ । राष्ट्रकवि माधव घिमिरेको गीतले हामीलाई भनिरहेको छ ‘झमझम पानी पर्यो असारको मास बारीबाट बज्न लागे मकैका पात ।’ सांगीतिक धूनमा असारले मस्किन जानेको छ । असिनाका गेडाझैँ नाच्न जानेको छ । के गर्न जानेको छैन र असारले । रोपो सरेर हरियो भएका धानका बोटसित बयली खेल्नसमेत जानेको छ ।
यतिमात्र होइन घर छोडेर परदेसिएका मायालु मनहरूमा प्रीतिको ज्वारभाटा चलाइदिने गर्छ असारले । न्याउली चरीको भाका उरालेर गाउन सक्ने बनाइदिन्छ : ‘असारै महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने ? भन्छिन है मैच्याङले रूँदै बरर नौडाँडा पारि छ कम्पनी सहर बिछोडको बेलैमा ।’ बिछोडमा पनि सम्झनाको मिलन गराउन सक्नु असारको विशेषता हो ।
खेमनाम दाइको अगुवाइमा हामी उहाँको बैठक कोठामा प्रवेश गछौँ । मध्याह्नमा पनि उषा भाउजूको स्नेहसिक्त अभिवादनले प्रातकालीन उषाको झल्को दिन्छ हामीलाई । उषा भाउजू एकै वाक्यमा भन्नुपर्दा खेमदाइको साहित्यिक सहधर्मिजीको नाम हो । जसको साथ र सहयोगबिना उहाँको कलमको मसी सुक्ने गर्छ । विचारको प्रवाहमा ब्रेक लाग्छ । सुन्ने श्रोतामा खडरी पर्छ । धन्वन्तरीबिनाको औषधि हुन्छ । उषा भाउज्यूकै सञ्जीवनीको रसले खेमदाइको गाडी हिडिँरहेको छ ।
भुसाल सर र म भाउजूकै निर्देशनमा सोफामा बस्छौँ । ‘विद्यालोक धरान’ को पाण्डुलिपि खेमदाइको टेबलमा असरल्ल परेको छ । दाइ आफ्नो सम्पादकीय सुनाउँदै विसं २०२४ सालमा धरानबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नेहरूको महत्व दर्शाउनुहुन्छ । जसमा मेरो पनि लेख छापिएर आउने भएको छः ‘विश्वको अमृत राजधानी घरान ।’ यो ग्रन्थमा खेमदाइको पसिनाले नहरको काम गरेको छ । म दाइलाई साधुवाद ज्ञापन गर्दछु । विद्यालोक धरानको रत्न हो । जसमित्र सिंगो धरान अटाएको छ । जसको हातलाई यो ग्रन्थले चुम्न पुग्छ त्यो आफैँमा धरानमय हुनपुग्छ । विद्यालोक धरानको विशेषता भन्नु यही नै हो । मैले विद्यालोक धरानमा आँखा डुलाउँदै गर्दा थालभरि दही-चिउरा, आँप र लिचीका दाना लिएर उषा भाउजू भोक मार्ने भाउ प्रदान गर्नुहुन्छ । भुसाल सर र खेमदाइको गफमा पनि ताल्चा लाग्छ ।
भनिन्छ, असार पन्ध्रमा दह-चिउरा खाँदा गति परिन्छ । स्वास्थ्म वृद्धि हुन्छ । रोगव्याधीले हुँदैन । आफन्तका बीचमा अपनत्वको भाव बढेर जान्छ । सगुनको उदय भइरहन्छ । प्रकृति र मान्छेका बीचमा हार्दिकताको गाँठो कसिने गर्छ । कृषिप्रधान संस्कृतिले अध्यात्मसित साइनो गाँस्ने आफ्नै किसिमको परम्परा हुर्काउने कार्य, असार पन्ध्र को दही-चिउराले गरेको हुन्छ । मान्छेको जन्मको समयलाई असार पन्धको दही–चिउराले सम्झाइरहेको हुन्छ । आफू जुन ठाउँमा जन्मेको हो त्यही ठाउँमा बसेर दह-चिउरा खानु अति उत्तम हुन्छ भन्दै हम्री आमाले हामीलाई घरका जुन-जुनठाउँमा जन्माउनुभएको हो तिनै ठाउँमा राखेर दही-चिउरा पस्केर खवाउने गर्नुहुन्थ्यो । यो कुरा म अहिले सम्झिरहेको छु । यो हाम्रो आफ्नै किसिमको विशिष्ट संस्कृति हो ।
हाम्रा पालामा सुत्केरी गराउन अस्पताल लैजाने प्रथाको राम्रो विकास भएको थिएन । त्यसैले हामीहरू आमाले निर्देशन गरेकै ठाउँमा बसेर खाने गर्दथियौँ र प्रश्न गर्दथ्यौँ । आमा ! आफू जन्मेको ठाउँमा बसेर दह-चिउरा खाँदा के हुन्छ ? ‘आयु बढछ ।’ जसले गर्दा हामीहरू प्रत्येक वर्ष बिहान छिटै उठेर नुहाएर काँसको चेप्टे कचौरामा दह-चिउरा र चिनी मुछ्दै आफू जन्मेको ठाउँमा थचक्क असार पन्ध्रको मजा लिने गर्दथ्यौँ । अब यी कुरा ‘उहिलेका कुरा घुइले’ हुन लागिसकेका छन् ।
हाम्रा पालामा सुत्केरी गराउन अस्पताल लैजाने प्रथाको राम्रो विकास भएको थिएन । त्यसैले हामीहरू आमाले निर्देशन गरेकै ठाउँमा बसेर खाने गर्दथियौँ र प्रश्न गर्दथ्यौँ ।
‘घरै पिंडालु बनै पिंडालु समराली जाँदा बाह्र हातको पिंडालु’ भनेझै आज बिहानदेखि पेट पनि दह-चिउरामय नै भइसकेको छ । तैपनि उषा भाउजूको आतिथ्यता स्वीकार्दै थालमा पस्किएका परिकार बजाउन पछिपरिन् । भुसाल सरले त खाना नखाएको अवस्थामा उहाँका लागि त दही–चिउरा सुप्ररग्रेट खाना भएको छ । वा ! दह-चिउरा असार पन्ध्र जिन्दावाद !
भुसाल सर र मेरा निम्ति आजको दिन उपहार प्राप्त गर्ने दिन पनि भएछ । खेमनाथ दाइले आफ्नो नवीन उपन्यास ‘अहोरात्र’ भुसाल सरलाई उपहार दिनुभयो । अमेरिकी जनजीवनमा आधारित एवं पौरस्त्य धार्मिक साहित्य चिनाउने उपन्यास प्राप्त गरेकोमा भुसालसर गदगद हुनुहुन्छ । अक्षरका खेलाडीलाई अक्षरको ढुकुटी पाएपछि गदगद नहुने कुरै भएन । उपहार प्राप्त गरिसकेपछि भुसाल सर तीन बजेको कक्षा लिन भनेर कोटेश्वरतर्फ लाग्नुहुन्छ । खेमदाइको मोबाइलमा घण्टी बज्छ । विद्यालोक घरान छाप्नका लागि प्रेसको कार्य गर्ने साहित्यकार भाइ रमेश दाहालको फोन रहेछ । त्यो पुस्तकका मेरो फोटो चाहिने भएको हुँदा उहाँले फोन गरेका रहेछन । साइत पनि कस्तो जुरेको ?
खेमदाइले आफ्नो मोबाइलले मेरो फोटो खिच्न तयार हुनुहुन्छ टोपीबिनाको चिन्डे टाउकोको फोटो राम्रो आउँदैन भन्दै आफ्नो राम्रो ढाकाको टोपी मेरो शिरमा ओढाइदिनुहुन्छ र भन्नुहुन्छ- ‘यो टोपी भाइलाई उपहार भयो । टोपी लगाएर मैले ऐना हेरे । सगरमाथा बिर्साउने भएछ मेरो टाउको त । झट्ट सम्झिएँ गणेश रसिकको गीतको बोल-‘तराई हेर्दा कति राम्रो हरियो वन हुनाले पहाड हेर्दा झनै राम्रो गुराँस फुल्नाले । म झिल्के यसै राम्रो, त्यसै राम्रो नेपाली हुनाले, सगरमाथा मेरो शिरको टोपी भइदिनाले ।’ साँच्चै नै यो गीतको भाकाले भने भैँ खेमदाइको टोपी शिरमा सुहाउनुसम्म सुहाउँछ । दाइले मोबाइलबाट चारपाँच वटा क्लिक लगातार दिनुहुन्छ । म मोबाइलमा भनेजस्तो झिल्के देखिएको हुन्छु । नेपाली राष्ट्रियताको प्रतीक ढाकाटोपी एउटा ख्यातिप्राप्त साहित्याकारको हातबाट लगाउन पाउँदा मभित्र औधी देशभक्तिको भाव दौडिन थाल्दछ । मन हर्षले काबुमा नरह ला कि भन्ने पनि लाग्दछ । यस्तैमा गायिका तारादेवीको गीत मस्तिष्कमा दौडन थाल्दछ ।
‘कालीपारे दाइ काति राम्रो ढाका टोपी काँधैमा गलबन्दी शिरमा लाउने शिरको टोपी पाउमा लाउने जुत्ता मन त मेरो दोमन भयो यता आऊ कि उता ।’ नभन्दै मन खेमदाइको टोपी लगाएपछि घर जाऊँ कि वा अन्यन्त्र डुल्न जाऊ ? हुनथाल्यो । मेरो मनोविज्ञान बुझेर हो कि के हो ? सिमसिमे पानी परिरहेकै अवस्थामा पनि दाइले मलाई आफ्नो मोटरसाइकलको पछाडि राखेर हुँइकिनुभयो । एकैचोटि मेरो घरमा आएर बाइक रोकियो । असारे पन्ध्र बिट मारियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि