काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले मत भनेको केवल अधिकारमात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि भएको बताउनुभयो । मतदानपछि उहाँले भन्नुभयो, ‘मतदानमार्फत् मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस्, जसले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाओस् भन्ने अपेक्षा गरेको छु । यो निजी क्षेत्रमात्र होइन, आमनेपालीको अपेक्षा पनि हो । मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक भएको उल्लेख गर्दै ढकालले निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकमा अपेक्षित विकास र समृद्धि हासिल हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको यस महत्वलाई मनन गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ ।’
त्यसैगरी नेपाल उद्योग परिसंघ(सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुलेश्वरस्थित कृषि सामग्री संस्थान र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पद्मकन्या मावि, डिल्लीबजार मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को पुतलीसडकस्थित पद्मोदय माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले कास्कीको पोखरास्थित राम आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ ।
नाडाकै पूर्वअध्यक्ष करण चौधरीले पनि आफूले मतदान गरेको जानकारी गराउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले सीतापाइला माविबाट मतदान गर्नुभएको छ भने हेलिकप्टर व्यवसायी व्यवसायी प्रतापजंग पाण्डे र सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले काठमाडौंको बालुवाटार-४ स्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
त्यसैगरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ललितपुर महानगरपालिका जावलाखेल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले आगामी सरकारले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानका लागि भूमिका खेल्नुपर्ने बताउनुभएको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डांगीले आफ्नो गृहजिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय ह्वाकु मतदान केन्द्रबाट मतदान गर्दै देशलाई ऊर्जामा पूर्ण आत्मनिर्भर बनाउन अब जलाशययुक्त जलविद्युत् आयोजनामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि