कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत करिब ५१ प्रतिशत मतदान भएको छ। बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा प्रदेशभर कुल ८ लाख ८१ हजार ९५३ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
प्रदेशका १६ निर्वाचन क्षेत्रमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका थिए। तीमध्ये ५१ प्रतिशत मतदाताले मतदान गरेका हुन्। मतदान गर्नेमा ४ लाख ८३ हजार १८३ महिला, ३ लाख ९८ हजार ७६३ पुरुष तथा ७ जना अन्य रहेका छन्।
पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा ५५.३७ प्रतिशत मतदान भएको छ। कुल ५ लाख ५१ हजार ५२ मतदातामध्ये ३ लाख ५ हजार १२२ जनाले मतदान गरेका छन्। क्षेत्र नम्बर १ मा ५४.४३ प्रतिशत, क्षेत्र नम्बर २ मा ५२.६८ प्रतिशत, क्षेत्र नम्बर ३ मा ५५.२५ प्रतिशत, क्षेत्र नम्बर ४ मा ५४.७४ प्रतिशत र क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ५९.६७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
कञ्चनपुरमा करिब ५८ प्रतिशत मतदान भएको छ। तीनवटै निर्वाचन क्षेत्रमा गरी १ लाख ८४ हजार ३१६ मत खसेको जनाइएको छ। सबैभन्दा बढी क्षेत्र नम्बर १ मा ६०.४ प्रतिशत मतदान भएको छ।
यस्तै, बैतडीमा ४५.९६ प्रतिशत, दार्चुलामा ५३.७ प्रतिशत, डडेल्धुरामा ४९.१५ प्रतिशत, बझाङमा ४६.४ प्रतिशत, बाजुरामा ५२.६ प्रतिशत, अछाममा ३९.१ प्रतिशत र डोटीमा ४०.८७ प्रतिशत मतदान भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार प्रदेशभर चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। दार्चुलाका दुई मतदान केन्द्रमा भने मतदान हुन नसकेको बताइएको छ।
हाल प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा मतपेटिका संकलनको काम भइरहेको छ। मतपेटिका संकलन सम्पन्न भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने समय तय गरिने मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले जानकारी दिनुभयो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि