भावना र विचारले भरिएको काव्य पढ्नुको मज्जा हुन्छ । उज्याला कविताहरू पढ्नुको अझै आनन्द हुन्छ । मनका भावका गुम्फनहरू खोलेर लेखिएका सृजनाहरू असाध्यै प्रियकर हुन्छन् ।
कवि नीरा श्रेष्ठ पेशाले नर्स हुन् । सायद यही पेशाले होला, उनको लेखनीमा भावनाका हुरी चलेका छन् । विरामीको सेवा सुस्याहारमा समय खर्चिनुपर्ने नीरामा भावनाहरू कवितामार्फत सुलुलित भएर निस्केका छन् ।
कवितामा आफ्नो बुझाई साटेकी छिन् उनले-‘कविता भावनाको नदी हो, मनको किनाराहुँदै निरन्तर बगिरहने, स्वच्छन्द अनि स्वतन्त्र भई ।’ सामान्यभन्दा अति सामान्य विषयवस्तुहरूमाथि घोत्लिएर लेखिएका ४१ वटा कविताहरूको संग्रह हो- काठको बाकस आइसबक्स अनि सपनाहरू ।
भावना र विचारले भरिएको काव्य पढ्नुको मज्जा हुन्छ । उज्याला कविताहरू पढ्नुको अझै आनन्द हुन्छ । मनका भावका गुम्फनहरू खोलेर लेखिएका सिर्जनाहरू असाध्यै प्रियकर हुन्छन् ।
सरल र मिलनसार स्वभावकी धनी नीराका कविता त्यस्तै सरल छन् । समाजका आम मानवीय प्रवृत्तिहरू कविताका विषय बनेर आएका छन् । समाजका अवयवहरू कवितामा परेका छन् । सेवाकी पथिक उनका कविताहरू यस्तै जिम्मेवारीका कुरा पनि गर्छन् । मनका अन्तरबाट व्यक्तिएका भावको समुच्च रूप नै उनका कविता लाग्छन् । कविताहरू भावनाको सन्निकट छन् । कल्पनाशीलता थोरै र यथार्थता धेरै उनका कविताहरूका गुणवेत्ता बनेर आएका छन् । भावबिम्बहरू हेर्दा लाग्छ कविताले वर्तमान बोल्ने प्रयास गरेका छन् । कविका मनका अन्तरद्वन्द्वका आवाज लाग्छन् कविता ।
संरचनात्मक हिसाबले हेर्दा कविताहरूमा वर्तमान युगीन यथार्थ, जिम्मेवारी, परदेशिन बाध्यहरूका पीडा, अभावमा जीवन जिउनेहरूका दैनिकीको चित्रण समेटिएका छन् । जीवनका सुख-दुःख उधिनिएका छन् । देशप्रेम, प्रकृतिप्रेम एवं पर्याचेत पनि कवितामा देखिएको छ । मातृत्वको वखान कवितामा पाइएको छ । आफ्नो पेशाप्रति सम्मान भाव, समाजका वर्तमान विकृति र विसंगतिमाथि प्रहार कवितामा पाइन्छ । यसका साथै विशिष्ट साहित्यकारहरूप्रतिको सम्मान पनि कविले आफ्ना कवितामा व्यक्त गरेकी छिन् ।
सङ्ग्रहको शीर्षकृत कविता-‘काठको बाकस आइसबक्स अनि सपनाहरू’सहित ‘रामेको सपना’, ‘एयरपोर्ट’ कवितामा डायस्पोरा जीवनको सम्पूर्णता झल्केको छ । सुखको खोजीमा प्रवासिन बाध्य नेपाली युवाको समग्र कथाव्यथा यी कविताहरूले चित्रण गरेका छन् । नेपाली विदेसिनुमा रहरभन्दा पनि बाध्यताले घर गरेको यथार्थ सत्यापन गरिएको छ । कवितामा प्रतिकात्मक पात्र रामे र क्षितिजमार्फत कैयन परदेसिन बाध्य नेपालीको आम समस्यालाई शीर्षकृत कविताले प्रष्ट पारेको छ । विदेशमा धेरै संघर्षपूर्ण एवं चुनौतीपूर्ण कार्य गर्दा मृत्युवरण गरेर बाकसमा फर्कनु परेका दुःखद् नियतिका धेरै यथार्थ कथा हामीसँग छन् । यसैलाई जोडिएको छ कवितामा । कविताँश हेरौं :
हात हल्लाएर गएको रामे
फर्कियो काठको बाकसमा
क्षितिजले भेटे आफ्नो बुबालाई
आइसबक्समा
सपनाहरू बिलाए
खोइ कता हो कता (काठको बाकस आइसबक्स अनि सपनाहरू )
नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दैनिकीको बडो सुन्दर चित्र कविता एयरपोर्टमा कोरिएको छ ।
मातृबिम्ब र अग्रजहरूप्रतिको श्रद्धाभाव प्रकट गरिएका कविता छन् यस कृतिमा । ‘आमाको हातको सेलरोटी’, ‘आमाको गन्थन’, ‘आमाहरू प्रति’ जस्ता कवितामा हार्दिकता, आदर्श र सम्मानभाव प्रकट गरिएको छ आमाप्रति । कलात्मक लेपनले आमाको महिमा गाइएको छ । आमा भएर हेरिएको छ । ‘हे गुरु ! तिम्रो महिमा !!’ मा गुरुको सार खिचिएको छ ।
कवि राष्ट्रलाई प्रेम गर्छिन् । आफ्ना कवितामा देशभक्ति र आफ्नो जन्मभूमिप्रतिको अगाध प्रेम र श्रद्धा अभिव्यक्त गर्छिन् । ‘के दिउँ म जन्मभूमिलाई’ यस्तै भावबिम्ब प्रयुक्त कविता हो । उनी प्रकृतिप्रेमी छिन् भन्ने कुरालाई ‘रङ्गीन सपना’, ‘नदी’, ‘हिमाल झैं बन्न सकुँ’, ‘कमलको फूल’ जस्ता कविता यो कुराका साक्षी छन् । यी कविताहरूमार्फत प्रकृतिको अनुपम सौन्दर्यलाई पाठकसँग सम्मोहन गराउन उनी सफल देखिन्छिन् ।
कविमा काव्यचेत छ । उनी आफ्ना सिर्जनाहरूमा रुझ्न मन पराउँछिन् । आफ्ना कविताहरूमार्फत पाठकलाई उद्दीप्त बनाउने सामार्थ्यकी धनी कवि हुन् नीरा । कलात्मक सौन्दर्य र भावलाई घोलेर उनी पस्कन्छिन् पाठकहरू सामु । ‘म जस्तै मेरा कविता’, ‘मेरो कविता यात्रा’ ‘पीडा हराएको कविता’ आदि कविताले उनको साहित्यप्रतिको धारणा दर्शाएका छन् । उनको नर्सिङ पेशासँगै साहित्यको अभिरुचीलाई यी कविताहरूले प्रष्ट्याउने प्रयास गरेका छन् । लेखनीमा लाग्दाका अनुभूति र भोगाईपनि यहाँ देखिन्छन् ।
कवि मन न हो । बेथितिले मन कटक्कै काट्छ । हृदयमा विद्रोहको हुण्डरी चल्छ । आक्रोश ओकल्न भन्छ मन । यस्तै कवि श्रेष्ठ समाजका यत्रतत्र सर्वत्र व्याप्त रहेका विकृति र विसंगतिविरुद्ध कलम चलाउँछिन् । विधिविधान नमान्ने, अराजक बन्ने, निराश पार्ने खालका प्रवृत्तिहरूप्रति उनी कटाक्ष गर्छिन् । ‘निरीह आकृति’ वैयक्तिक स्वतन्त्रताप्रति हाँक दिने र अवरोध पुर्याउनेप्रति लक्षित छ । ‘कठै ! मेरो देश’ मा आजको वर्तमान राजनीतिक अस्थिरताको शिकार बन्न विवश आमनागरिकको पीडालाई अभिव्यक्त गरिएको छ । अस्थिर राजनीतिले पारेका नकारात्मक असरहरूको कारण खोलिएको छ । मुलुकलाई सम्बृद्ध बनाउने भनि नारा उरालेर अस्तव्यस्त पार्नेहरूप्रति व्यङ्ग्य गरिएको छ । ‘प्रतिच्छायाँ’ सामाजिक विकृति उजागर गर्ने कविता हो ।
ग्रामिण अर्गानिक परिवेशको ठीकविपरीत उभिएको स्वार्थी शहरप्रति ‘शहरका घर तथा मनहरू’ कटाक्ष गर्छ । घरहरू जोडिएर के गर्नु मन नजोडिएपछि उनको निष्कर्ष छ । शहर धेरै स्वार्थी भएको, मतलबी भएको उनको भोगाई छ । कतै अनुभूति र भोगाई पो होकि जस्तो ! यथार्थजनित कवितामा शहरको दुष्प्रवृत्तिको चित्रण मज्जैले गरिएको छ । जस्तैः-
दुःख पर्दा किन बहाना अनेक
त्यसैले त
शहरियाहरूको घर नजिक नजिक
मन भने कोसौं टाढा टाढा । (शहरका घर अनि मनहरू)
कुनैपनि पेशाप्रति लगनशिल हुन कवितामार्फत कविको आह्वान छ । उनी आफैं पनि चिकित्सा नर्सिङ पेशाप्रति आवद्ध भएकाले होला मानवीय सेवामा उनको जोड छ । पेशाप्रति सम्मान गर्न उनले सिकाएकी छिन् । आफू कार्यरत पेशाप्रति उनको श्रद्धाभाव अभिव्यक्त भएका ‘राष्ट्रप्रेमी नर्स खोजिरहेछु’, ‘म फ्लोरेन्स नाइटिङ्गेल हुन सकिन्’, जस्ता कविता यसैतिर लक्षित गरी लेखिएका कविता हुन् ।
कवि नीरा श्रेष्ठ पेशाले नर्स हुन् । सायद यही पेशाले होला, उनको लेखनीमा भावनाका हुरी चलेका छन् । बिरामीको सेवा सुस्याहारमा समय खर्चिनुपर्ने नीरामा भावनाहरू कवितामार्फत सुलुलित भएर निस्केका छन् ।
कवि हुन् । अक्षरको खेती गर्छिन् र आफूभन्दा अग्रजहरूप्रति सच्चा श्रद्धाभाव प्रकट गर्छिन् । यो एउटा स्रष्टाको अमूल्य निधि हो । उनले केही कविताहरूमा यो भावलाई प्रकट गरेकी छिन् । ‘स्मृतिपटलमा भानु’ आदिकवि भानुभक्त आचार्यप्रति नतमस्तक हुँदै लेखिएको छ । उनका योगदानहरूको चर्चा गरिएको छ । यसैगरी ‘अटल सालिक तिमी’ कविता महाकवि देवकोटाप्रति अनुगृहित भएर सिर्जना गरिएको छ । ‘पृथ्वी’को सम्झना’मा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई स्मरण गरिएको छ । उनलाई नेपालको भाग्यनिर्माताको रूपमा चित्रण गर्दै अहिलेको सन्दर्भमा उनीजस्तै शासक चाहिने प्रतिकात्मक भाव अभिव्यक्त भएको छ ।
कृतिभित्र नारी हृदयको कुरासहित नारी कोमलताको चर्चा गरिएको छ । ‘नारी’को महिमा र विभिन्न रूप तथा कार्यको बारेमा अनुभवजन्य कविता सकारात्मक भावका साथ आएको छ । यतिमात्र नभएर ‘पराईलाई आफ्नो बनाउँनु छ’ भन्दै कर्मघरमा गएर पनि कर्मघरमा पनि हरेकसँग सम्झौता गरेर भएपनि आफू कर्तव्यच्यूत हुन नहुने भनिएको छ । कवितामा हाम्रा सांस्कृतिक बिम्बहरू प्रयोग गर्दै चाडपर्वहरूको बारेमा पनि कविताका भुल्का फुटाइएको छ । किताबको महिमा कवितामार्फत आएको छ ।
प्रेमको लय देखाइएको छ । प्रेम पवित्रतामा फुल्ने विश्वासका प्रेमिल बिम्ब कविताहरूमा पढ्न सकिन्छ । प्रेमीको साथमा जीवनको पूर्णता हुने विश्वास गरिएको छ । जहाँ कवि धेरै भावुकतासाथ प्रस्तुत भएकी छिन् । प्रेमको उच्चताको उच्च उदातका साथ महिमा गाइएको छ ।
अन्तर्वस्तु र विषयवस्तुलाई छिरोलिएर नराखी क्रमागत रुपमा राखिएको भए अझै राम्रो हुन्थ्यो । मुक्त लयमा संरचित कविता छन् । आयामका दृष्टिले प्रायः छोटा आकारका छन् । कविताको भाषा सरल छ । कलात्मक संयोजन गर्ने प्रयास गरिएको छ । बिम्बहरू प्रशस्तै छन् । निस्ता छैनन् नीराका कविता । रूखा छैनन् । शीर्षकहरू बिम्बात्मक रुपमा खिच्ने प्रयास राम्रै छ । बिम्बहरू कविता जस्तै सरल भावका छन् । दुरुह नाईं । यति भएपछि भन्न सकियो कविमा कवित्व सामर्थ्य छ । तर, मिहेनत अझै गर्नु छ । यो सुरुवात हो, अन्त्य होइन् । अझै उत्कृष्टताको अपेक्षा राख्न सकिन्छ । शुभकामना ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि