आगामी पाँच वर्षका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै नेपाली जनताले प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत दिएको मत केवल सरकार गठनका लागि होइन, राजनीतिक संस्कारको पुनर्मूल्यांकनका लागि पनि हो । यसपटकको निर्वाचन परिणामले देखाएको प्रारम्भिक संकेत स्पष्ट छ- मतदाता अब परम्परागत भाषण र पुरानै अनुहारको दोहोर्याइबाट सन्तुष्ट छैनन् ।
घण्टीको ध्वनि र जनमुडको नयाँ चित्र
यस निर्वाचनमा सबैभन्दा चासोको विषय बनेको छ ‘घण्टी’ चुनाव चिह्न । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले शहरी मतदातादेखि मधेस र गाउँसम्म अप्रत्याशित प्रभाव पारेको देखियो । पत्रकार पृष्ठभूमिबाट आउनुभएका रवि लामिछाने नेतृत्वको यस दलले परम्परागत दलप्रति बढ्दो असन्तोषलाई संगठित मतमा रूपान्तरण गरेको देखियो । जसमा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को प्रवेश भएपछि त लहर झनै बढेको थियो ।
राजधानी काठमाडौंलगायतका शहरी क्षेत्रमा नयाँ अनुहार र नयाँ शैलीप्रति मतदाताको झुकाव स्पष्ट देखियो । पुराना दलका स्थापित नेताहरूलाई चुनौती दिने साहस र भाषिक आक्रामकता नयाँ दलको पहिचान बन्यो । यो केवल चुनावी रणनीति नभई, समयको मागका रूपमा व्याख्या गर्न सकिन्छ ।
पुराना दलप्रति असन्तोष
विगतमा लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेको नेपाली कांग्रेस यसपटक आफ्नै मतदाताबाट प्रश्नको घेरामा परेको देखिन्छ । पार्टीभित्र देखिएको आन्तरिक विवाद मतदाताको भरोसा कमजोर बनाएको विश्लेषण गरिँदैछ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पनि मतदाताको आलोचनाबाट अछूतो रहेनन् । बहुलवाद र बहुदलीय प्रतिस्पर्धाको मर्मभन्दा सत्ताकेन्द्रित राजनीतिलाई प्राथमिकता दिएको आरोप यी दलमाथि पनि लाग्दै आएको छ । रोचक पक्ष के छ भने, लामो समय पृष्ठभूमिमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीले केही हदसम्म उचाइ थपेको संकेत देखिएको छ । यसले मतदाता पूर्णरूपमा नयाँतिर मात्र नभई वैकल्पिक खोजीमा रहेको देखाउँछ ।
समानुपातिक मतमा ‘क्रस’ मतदान
यसपटकको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक मतबीच फरक-फरक छनोट गर्ने प्रवृत्ति बढेको देखियो । ‘घण्टी’, ‘हलो’ जस्ता चुनाव चिह्नमा मत सरेको चर्चा छ । केही क्षेत्रमा असन्तुष्ट मतदाताले अर्को दललाई मत दिई असन्तोष प्रकट गरेको पनि सुनियो । यो प्रवृत्तिले मतदाता अझ सजग र रणनीतिक बन्दै गएको संकेत गर्छ ।
मतदान केन्द्रमा मतदाताको उपस्थिति अपेक्षाकृत पातलो देखिनु अर्को चिन्ताको विषय हो । राजधानी जस्तो घना जनसंख्या भएको क्षेत्रमा पनि उत्साह कम देखियो । दैनिक दुई हजारको हाराहारीमा श्रमका लागि विदेशिने युवापुस्ताको लर्कोले लोकतान्त्रिक प्रक्रियामा सहभागिता घटाएको छ । लाखौं युवा विदेशमा हुँदा स्वदेशको राजनीतिक संरचना उनीहरूबाट टाढिँदै गएको अनुभूति बलियो बन्दैछ ।
परिवर्तनको चाहना कि प्रणालीप्रतिको प्रश्न ?
मतदाताको यो निर्णय परिवर्तनको चाहनाबाट प्रेरित देखिन्छ । तर, ठूला दललाई ‘पाठ सिकाउने’ प्रयास संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको अविश्वासमा रूपान्तरित नहोस् भन्ने चिन्ता पनि उत्तिकै महत्वपूर्ण छ । प्रणालीको विकल्प खोज्नेभन्दा पनि प्रणालीभित्र सुधार खोज्ने चेतना बलियो हुन जरुरी छ ।
यस निर्वाचनले देखाएको नयाँ चित्र स्पष्ट छ- मतदाता अब केवल नारामा होइन, व्यवहारमा नवीनता खोजिरहेका छन् । अनुहारमात्र होइन, सोच र शैलीमा परिवर्तन चाहिएको छ । नयाँ दलप्रतिको आकर्षण अस्थायी लहर हो वा दीर्घकालीन राजनीतिक पुनर्संरचना, त्यो समयले तय गर्नेछ । तर, यति निश्चित छ- जनताको मतले राजनीतिक दलहरूलाई सन्देश दिएको छ : अब पुरानै ढर्रामा राजनीति चल्दैन ।
नेपाली राजनीति अहिले संक्रमणको अर्को मोडमा उभिएको छ । यो मोड अवसर पनि हो, चेतावनी पनि । जनमतको पदचाप सुन्न नसक्नेहरूका लागि आगामी यात्रा सहज नहुनसक्छ ।
नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा ‘घण्टीको लहर’ केवल चुनावी प्रतीकको लोकप्रियता मात्र होइन, पुराना शक्तिकेन्द्रित दलहरूप्रति जनतामा बढ्दो असन्तोषको संकेतका रूपमा देखिएको छ । विशेषगरी रास्वपाको उदयले दशकौंदेखि सत्ताको केन्द्रमा रहेका पुराना दलहरूलाई प्रत्यक्ष चुनौती दिएको छ । रास्वपाको लहर मूलतः सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक संस्कृतिको नारा बोकेर आएको थियो । सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवापुस्ताको सक्रियता यस लहरको मुख्य ऊर्जा बन्यो । पुराना दलहरूप्रति ‘उही अनुहार, उही प्रवृत्ति’ भन्ने निराशा बढ्दै जाँदा घण्टीले त्यो असन्तोषलाई राजनीतिक अभिव्यक्तिमा रूपान्तरण गर्ने अवसर पायो ।
तर, यस लहरसँगै सुरु भएको किचलो पनि कम रोचक छैन । संसद्भित्र नीति–कार्यक्रमभन्दा बढी आरोप–प्रत्यारोप हावी हुने दृश्यले जनअपेक्षा झनै जटिल बनाएको छ ।
यो टकराव केवल शब्दको युद्धमात्र होइन, राजनीतिक संस्कृतिको द्वन्द्व पनि हो । एकातिर परम्परागत संरचना, गठबन्धन र सत्ता–समीकरणको राजनीतिमा अभ्यस्त पुराना दलहरू छन्, अर्कोतिर छिटो परिणाम र संस्थागत सुधार खोज्ने नयाँ शक्ति । तर, विडम्बना के छ भने, सत्ता समीकरणमा पुग्नेबित्तिकै नयाँ शक्तिले पनि व्यवहारमा पुरानै ढर्रा दोहोर्याउने जोखिम देखिएको छ । यसले ‘वैकल्पिक राजनीति’को विश्वसनीयतामाथि प्रश्नचिह्न खडा गरेको छ ।
आजको अवस्थाले जनतामा दुईवटा सन्देश दिएको छ । पहिलो, परिवर्तनको चाहना बलियो छ । दोस्रो, परिवर्तनको दाबी गर्नेहरूलाई पनि परीक्षाको घडी कडा छ । यदि रास्वपाले आफूलाई केवल विरोधको स्वरमा सीमित राख्यो भने लहर क्षणिक हुनसक्छ । तर, यदि उसले संस्थागत सुधार, आन्तरिक लोकतन्त्र र नीतिगत स्पष्टतामा उदाहरण प्रस्तुत गर्यो भने, पुराना दलहरूलाई पनि आत्मसमीक्षा गर्न बाध्य बनाउनेछ ।
कांग्रेस, एमाले, नेकपा र रास्वपा सबै दलहरूका लागि मुख्य चुनौती जनविश्वास पुनर्स्थापना नै हो । राजनीतिक किचलोले तात्कालिक चर्चा त दिनसक्छ, तर दिगो समाधान दिन सक्दैन । जनताले अब नाराभन्दा नतिजा खोजिरहेका छन् । रास्वपाको आवाज साँच्चै परिवर्तनको संकेत हो कि केवल अर्को राजनीतिक अध्यायको सुरुवात– यसको उत्तर व्यवहार र परिणामले नै दिनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि