दिलबहादुर कुँवर स्मृतिग्रन्थ
अछाम जिल्लाबाट २०१५ सालको निर्वाचनमा विजयी भई एमपी (मेम्बर अफ पार्लियामेन्ट) अर्थात् सांसद बन्नुभएका दिलबहादुर कुँवर (बूढथापा) को स्मृतिमा प्रकाशित भएको ग्रन्थ हो यो । उहाँ विसं १९६४ सालमा जन्मिनु भई २०६९ सालमा ९५ वर्षको उमेरमा निधन भएका व्यक्ति हुनुहुन्छ । उहाँका सन्ततिहरूबाट यो पुस्तक प्रकाशित भएको छ । यसको सम्पादन बिमल भौकाजीले गर्नुभएको छ संयोजन सम्पादनको काम बलबहादुर कुँवरले गर्नुभएको छ । उपसम्पादकहरूमा मा.शेरबहादुर कुँवर, प्राडा.प्रेमबहादुर कुँवर र कुलबहादुर कुँवर रहनुभएको छ ।
यसको सर्वाधिकार प्रकाशकमा छ भने २०८२ साल असारमा छापिएको यो पुस्तक यसको पहिलो संस्करणका रूपमा आएको छ । आनन्द राउतले आवरण र ले–आउट तयार गर्नुभएको यस पुस्तकको आवरणमा दिलबहादुर कुँवरको फोटो र नेपाली कांग्रेसको चारतारे झण्डा देखाइएको छ । आवरण स्तरीय छ । पृष्ठावरणमा यही पुस्तकको आवरणसहित उहाँको जन्म, निधन, पिता-माता, धर्मपत्नी, पुत्र-पुत्री र शैक्षिक योग्यता उल्लेख भएको छ । यसको मूल्य ८०० रुपैयाँ राखिएको छ । भुँडीपुराण प्रकाशन वितरक रहेको यस पुस्तकको मुद्रण स्प्रिन्टर प्रा.लि.काठमाडौंमा भएको छ । पुस्तकको भूमिकाखण्डमा सुरुमा प्रकाशकीय छ । त्यसपछि विषयसूची राखिएको छ ।
पुस्तक तीनखण्डमा प्रकाशित भएको छ । पहिलोखण्डमा शुभकामना छन् भने दोस्रोखण्डमा आलेखहरू छन् । तेस्रोखण्डमा तस्वीरखण्ड राखिएको छ । पहिलोखण्ड अथवा शुभकामना खण्डमा लोकेन्द्रबहादुर चन्द, प्रकाशमान सिंह, बद्रीप्रसाद पाण्डे, बिन्दुदेवी पन्त, नारायणदत्त भट्ट, योगेन्द्रनाथ ओझा र कृष्णबहादुर बुढाका शुभकामनाहरू छन् । दोस्रोखण्डमा विभिन्न लब्धप्रतिष्ठित व्यक्तिहरूका आलेख समेटिएका छन् । जसमा नाम चलेका ४५ जनाका लेखहरू नेपाली भाषामा र अंग्रेजी भाषामा चारवटा लेखहरू समेटिएका छन् । तस्वीर खण्डमा उहाँका घरपरिवारका सदस्य, पढेका विद्यालयलगायत फोटाहरू संलग्न गरिएको छ ।
आवरण पृष्ठको भित्रपट्टि उहाँको संलग्नता भएका संघसंस्था र पृष्ठावरणको भित्र उहाँको राजनीतिक यात्रालाई समेटिएको छ । पुस्तक ३०४ पृष्ठको आकर्षक छ । डिएमआई साइजमा प्रकाशित यस पुस्तकमा स्तरीय पहेँलो कागज प्रयोग भएको छ भने छपाइ पनि स्तरीय छ । अशुद्धिहरू कमैमात्र भेटिन्छन् । यसमा आर.डी.प्रभास चटौत, दिलेन्द्रप्रसाद बडु, हीरादत्त भट्ट, भक्तबहादुर बलायर, गोविन्दबहादुर शाह, डा.सुरेश मल्ल, डा.तिलक रावल, प्राडा.चेतराज पन्त, प्राडा.प्रेमबहादुर कुँवर, डा.दीपबहादुर स्वाँर, लोकराज पन्त, गणेश घिमिरे, जनकबहादुर शाह, मोतीलाल बोहरा, डा.बी.डी.चटौत जस्ता परिचित व्यक्तिहरूका लेखहरू समेटिएका छन् । पूर्वजलाई सम्झिएर अनुज पुस्ताले यसरी कृति प्रकाशन गरिदिनु आफैंमा प्रशंसनीय काम हो । यसका लागि यसमा संलग्न सबैजना धन्यवादका पात्र हुनुहुन्छ ।
खोला गरे साइलाको ‘ऋतुराग’
ऋतुराग ऋतु काव्य हो जुन खोलाघरे साइलोद्वारा लेखिएको छ । यो ऋतुकाव्य विभिन्न शास्त्रीय छन्दहरूमा गरिएको ऋतु वर्णन अथवा छवटै ऋतुको वर्णन हो । खोलाघरे साइलो गंगाप्रसाद अधिकारीको साहित्यिक नाम हो । इलामका अधिकारीले आफैं प्रकाशक भएर यो पुस्तक प्रकाशन गर्नुभएको छ । २०८२ साल वैशाखमा छापिएको यो किताब यसको पहिलो संस्करण हो । यसको आवरण आकर्षक छ । बिर्तामोड झापाका लोकप्रिय खनालले तयार पारेको आवरणमा विभिन्न ऋतु झल्कने परिदृश्य छन् । माथि ठूला अक्षरमा पुस्तकको नाम छ भने तल लेखकको नाम छ ।
पृष्ठावरणमा फोटोसहित वसन्तबहारको एक श्लोक र गृष्मगौरवको एक श्लोक दिइएको छ । पुस्तक डिएमआई साइजमा छ । यसको छपाइ स्तरीय छ र अशुद्धिहरू कमैमात्र भेटिन्छन् । यसमा पहेँलो हलुका कागजको प्रयोग भएको छ । यो पुस्तक भूमिकाखण्डमा छ र पाठ्यक्रममा ११० गरी जम्मा ११६ पृष्ठको छ । यसको मूल्य ३०० रुपैयाँ पाइन्छ । सर्वाधिकार लेखकमा रहेको यस पुस्तकको मुद्रण आवृत्ति छापाखाना प्रा.लि बागबजार काठमाडौंमा भएको छ । आवरणखण्डमा काव्यकारको ऋतुहरूलाई आफ्नै पाराको सम्बोधन शीर्षकको विचार छ भने त्यसपछि विषयसूचीका रूपमा वसन्तबहार, ग्रीष्मगौरव, वर्षा विविधा, शरद शृंगार, हेमन्तोपहार, शिशिर सौगात गरी छवटै ऋतुको वर्णन भएको छ ।
छवटा ऋतुको प्रकृतिको वर्णन भएको हुँदा यो कृति झण्डै कवि शिरोमणि लेखनाथ पौडेलको ऋतु विचारको समस्तरको देखिन्छ । अन्तिममा कृतिकारको अथवा ग्रन्थकारको परिचय दिइएको छ । यसबाट उहाँका जीवनका विविध पक्षको बारे जानकारी पाउन सकिन्छ । कृतिका लागि कृतिकारलाई बधाई छ र अन्य कृतिहरूका लागि शुभकामना ।
रत्ननिधिको ‘आयो नयाँ जमाना’
‘आयो नयाँ जमाना’ कवितासङ्ग्रह हो । यो सङ्ग्रह ज्योतिष रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ द्वारा रचना भएको हो । यो पुस्तक डिएमआई साइजमा छ । सेतो हलुका कागजको प्रयोग भएको छ । यो कृति २०८२ सालमा प्रकाशित भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती सन्दर्भ पारेर यो पुस्तक प्रकाशित भएको हो । ५०० प्रति छापिएको यो पुस्तकको सर्वाधिकार लेखकमा सुरक्षित छ । यसको संस्थागत मूल्य १०० राखिएको छ भने व्यक्तिगत मूल्य राखिएको छैन । छपाइ स्तरीय छ, अशुद्धिहरू कमै मात्र भेटिन्छन् । पुस्तक सोपान प्रा.लि.कालिकास्थान काठमाडौंमा मुद्रण भएको छ ।
यसको आवरण आकर्षक छ । नीलो पृष्ठभूमिमा मानिस बोक्ने ठूलो बेलुन उडिरहेको देखिन्छ । माथि पुस्तकको शीर्षक छ भने तल लेखकको नाम छ । पृष्ठावरणमा फोटोसहित उहाँको एउटा कविता तोटक छन्दको राखिएको छ । पुस्तक भूमिकाखण्डमा छ र पाठ्य खण्डमा ८२ गरी ८८ पृष्ठको छ । भूमिकाखण्डमा लेखकको मन्तव्य ‘लेखकका तर्फबाट’ शीर्षकमा दिएको छ ।
यस कृतिमा ५३ वटा कविता छन् । कवि छन्दका ज्ञाता भएकाले गर्दा कविता छन्दमा लेखिएका छन् । कविता छोटाछोटा छन् । विविध विषयमा लेखिएका कविताहरू सुन्दर छन् । एकै पृष्ठमा दुईवटा कविता समावेश भएको पाइनाले आकर्षणमा कमी भएको हो कि भन्ने देखिएको छ । अन्त्यमा लेखकको सङ्क्षिप्त परिचय दिएको छ । यसका साथै यो किताब प्रकाशन गर्न सहयोग गर्नेहरूको नाम दिएको छ । यस कृतिका लागि कृतिकारलाई बधाई तथा अन्य कृति पनि अपेक्षित छन् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…