काठमाडौं । नेपालको पछिल्लो राजनीतिक परिवर्तनबाट निजी क्षेत्र उत्साहित देखिएको छ । पछिल्ला वर्षहरूमा कुनै पनि दलले चुनावमा एकल बहुमत नपाउँदा गठबन्धनको सरकार बन्ने र अनेकौं स्वार्थले ती सरकार छोटो समयमै भंग हुँदा राजनीतिक अस्थिरताको मारमा पर्दै आएको निजी क्षेत्र स्थिर सरकार बन्ने भएपछि उत्साहित देखिएको हो । हालै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गराएको चुनावमा दुर्ई वर्षअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुर्ई तिहाइ नजिकको बहुमत प्राप्त गर्ने निश्चित भएसँगै अब पाँच वर्षसम्म स्थिर सरकार बन्ने देखिएको छ । छिटो मतगणना सकेर अब पूर्ण कार्यकालको सरकार बनाउन लागिहाल्नुपर्ने र अब बन्ने दुर्ई तिहाइ नजिकको रास्वपा सरकारसँग मिलेर अघि बढ्न तयार रहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अहिलेको अवस्थामा असम्भवजस्तै देखिने एउटै पार्टीले दुर्ई तिहाइ नजिक बहुमत हासिल गर्नु सामान्य कुरा नभएको बताउनुभयो । निजी क्षेत्रले बारम्बार उठाउँदै आएको स्थायी सरकारको आफूहरूको माग पूरा हुन लागेको उहाँको भनाइ थियो । अग्रवालका अनुसार, अब बन्ने सरकारका अर्थनीतिहरूको स्थायित्व हुन जरुरी छ । संविधान जारी भएयता अर्थनीति ढुलमुल भयो । जसले गर्दा निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्यो र विदेशी लगानीकर्ता पनि अलमलमा परे । अब त्यस्तो हुनुहुँदैन ।
उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले बारम्बार भनिरहेको कुरा देशको आर्थिक समृद्धि नहुनुको एक प्रमुख कारण राजनीतिक अवरोध हो । उक्त समस्या करिब करिब हल हुने देखिएको छ । निजी क्षेत्रलाई चाहिने सुरक्षाको प्रत्याभूति पनि हो । जुन जेन–जी आन्दोलनका बेला निजी क्षेत्रको झण्डै ८० अर्ब सम्पत्ति क्षति भयो । त्यसले गर्दा निजी क्षेत्रको मनोबल कमजोर भइरहेको छ । अब आउने सरकारले लामो समयसम्म निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्छ । जसरी विदेशी लगानीकर्ताका लागि बिप्पा गरिएको हुन्छ । त्यसरी निजी क्षेत्रको मनोबल उठाउन लगानी सुरक्षण नीतिहरू सरकारले लिनुपर्छ । जसले बीमा दायरासमेत समेट्नुपर्छ । अर्थनीतिहरूको स्थायित्व हुन जरुरी छ । संविधान जारी भएयता अर्थनीति ढुलमुल भयो । जसले गर्दा निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्यो र विदेशी लगानीकर्ता पनि अलमलमा परे ।’ अग्रवालले अब आउने सरकारले करका नीतिहरू लगानी प्रवर्द्धन गर्ने खाले हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले पनि अब बन्ने दुर्ई तिहाइको सरकारसँग सहकार्य गर्न आफूहरू आतुर रहेको बताउनुभएको छ । उहाँका अनुसार, अब बन्ने दुर्ई तिहाइ नजिकको सरकारले आगामी दिनमा सुशासन कायम गर्दै भ्रष्टाचार निर्मूल पार्नुपर्छ । जेन-जीहरूका माग पूर्णरूपमा सम्बोधन गर्नुपर्छ । दुर्ई तिहाइ बहुमत नजिक प्राप्त गरेको रास्वपाले आफ्नो घोषणापत्रमै पर्यटन र होटल क्षेत्रमा धेरै कुरालाई समेटेकाले ती कुराहरू अक्षरशः लागू गर्न लाग्नुपर्ने शाहले बताउनुभयो । उहाँका अनुसार, अबौँ लगानीमा बनाइएका पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याएर धेरै पर्यटक भिœयाउन सरकार चुकिरहेको छ । अब बन्ने सरकारले त्यसलाई पूर्णरूपमा सञ्चालन गर्न मास्टर प्लान बनाउनुपर्छ ।
उहाँले भन्नुभयो, ‘आजको दिनमा पोखरा र भैरहवा एयरपोर्ट चलाउन मूलभूत प्रयास के भएको छ त ? सरकारीस्तरबाटै केही प्रयास भएको छैन । प्रयास हुनुपर्यो । यसमा भूराजनीतिक प्रभाव होला, अन्तर्राष्ट्रिय राष्ट्रिय कारण होला, त्यो समाधान गर्दै जानुपर्छ । अब शक्तिशाली सरकार आइरहेको छ । अब त्यो सरकारले नीति तथा कार्यक्रम बनाउँदै कर्मचारीतन्त्र चुस्त दुरुस्त बनाउनुपर्छ । अहिले कार्यक्रमहरू आउँछ तर कार्यान्वयन पक्ष कमजोर हुने गरेको छ, बजेट कार्यान्वयन प्रभावकारी किन भइरहेको छैन । त्यसमा ख्याल गर्नुपर्छ । काम गर्ने माइनसेट नै परिवर्तन हुन जरुरी छ । अहिले पनि पञ्चायतकालको ऐन कानुनमा टेकेर काम भइरहेको छ । अब देशले के खोजिरहेको छ, त्योअनुसार हुनुपर्छ ।’ अहिलेभन्दा दोब्बर पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले सरकारले सोहीअनुसारको वातावरण बनाउन लाग्नुपर्ने उहाँको भनाइ थियो ।
नयाँ सरकारसँग सेयर लगानीकर्ता पनि आशावादी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा जनलहर देखिएको छ । पछिल्लो मत परिणामअनुसार रास्वपा अन्य पराम्परागत दलहरूभन्दा धेरै अगाडि रहेको छ । रास्वपा दुर्ई तिहाइ नजिक पुग्ने संकेत देखिँदैछ । स्थिर सरकार बन्ने निश्चित भएपछि नेपालको सेयर बजारले पनि छलाङ मार्ने भन्दै लगानीकर्ता उत्साहित देखिएका छन् । नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले रास्वपाको सरकार बनेपछि सेयर बजार र अर्थतन्त्र चलायमान हुने बताउनुभएको छ । यसअघि ३७ वर्षमा ३० वटा सरकार बन्दा नेपालको अर्थतन्त्र प्रभावित हुँदै आएको उहाँको भनाइ थियो । तर, पछिल्लो चुनावी नतिजाले जनताले रास्वपालाई रुचाएका र सेयर बजारका लगानीकर्ता पनि रास्वपाको सरकार बन्ने भएपछि उत्साहित बनेका रौनियारले बताउनुभएको छ । अर्थतन्त्र राम्रोसँग बुझ्नुभएका डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएपछि सेयर लगानीकर्ता झनै उत्साहित रहेकाले सोमबारदेखि सेयर बजारमा त्यसको प्रभाव देखिने उहाँको दाबी छ ।
रौनियारका अनुसार, अहिले अर्थतन्त्रका सबै सूचक सकारात्मक छन् । अर्थमन्त्री बनेपछि वाग्लेले अर्थतन्त्र र सेयर बजार अनुकूल नीतिगत व्यवस्था बनाउनेमा लगानीकर्ता ढुक्क छन् ।
त्यसैगरी सेयर बजारका जानकार तारा फुल्लेल पनि पाँच वर्षका लागि स्थिर सरकार बन्ने निश्चित देखिएकाले सेयर बजारका साथै समग्र अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ्ने बताउनुहुन्छ । सरकार बनेपछि रास्वपाले सेयर बजारलाई आफ्नै ढंगले सञ्चालन हुने वातावरण बनाउने उहाँको दाबी छ । अर्थतन्त्र चलायमान बनाउने नीतिगत व्यवस्था भएपछि सेयर बजारले पनि गति लिने फुल्लेल बताउनुहुन्छ । सेयर बजारका अर्का जानकार प्रेम वलीले रास्वपाले चुनावी घोषणापत्रै सेयर बजारको विकास र विस्तारबारे सकारात्मक एजेण्डाहरू ल्याएको बताउनुभएको छ । रास्वपाले बहुमतको सरकार बनाउँदै गर्दा ती एजेण्डा पूरा गर्नेमा लगानीकर्ता आशावादी रहेको उहाँको भनाइ छ ।
गत साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ बिन्दुमा पुगेको थियो । सो दिन कुल तीन सय २९ कम्पनीका एक करोड ५१ लाख ८४ हजार कित्ता सेयर ६१ हजार तीन सय २९ पटक किनबेच हुँदा छ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको कारोबारमा दुई सय ५४ कम्पनीको सेयर मूल्य बढेको थियो भने छवटा कम्पनीको सेयर मूल्य घटेको थियो । दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । कारोबारमा आएका कम्पनीमध्ये सालपा विकास बैंक, पञ्चकन्या माई हाइड्रो र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको थियो भने मोलुङ हाइड्रो र लक्ष्मी लघुवित्तको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष पाँचमा परेका थिए । सबैभन्दा धेरै गुमाउने कम्पनीहरूको सूचीमा शुभम् सिमेन्ट पहिलो स्थानमा रहेको थियो । मंगलबार शुभम् सिमेन्टको सेयर मूल्य करिब तीन प्रतिशतले घटेको थियो । धेरै सेयरमूल्य घट्ने कम्पनीहरूमा एसबिएल डेभेन्चर, एनआइसी एसिया ऋणपत्र, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ र आरबिबी म्युचुअल फण्ड रहेका थिए ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर