इलाम । इलामको निर्वाचन क्षेत्र नं. १ लामो समयदेखि वामपन्थी राजनीतिक प्रभावको गढ मानिँदै आएको क्षेत्र हो । विशेष गरी पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रभावका कारण यो क्षेत्र दशकौँसम्म एमालेको बलियो आधारका रूपमा स्थापित थियो । तर हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले त्यो राजनीतिक समीकरणलाई उल्ट्याउँदै नेपाली कांग्रेसलाई २६ वर्षपछि पुनः स्थापित गराएको छ ।
यस निर्वाचनमा नेपाली कांग्रेसका युवा उम्मेदवार निस्कल राई १४ हजार ५४३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत ल्याउँदै तेस्रो स्थानमा सीमित हुनुभयो ।
मतपरिणामले इलाम-१ को परम्परागत राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन भएको संकेत दिएको छ । लामो समयदेखि एमालेको प्रभावमा रहेको यस क्षेत्रमा कांग्रेसले जीत निकाल्नु केवल निर्वाचन परिणाम मात्र नभई राजनीतिक प्रवृत्तिको परिवर्तनको संकेतका रूपमा समेत हेरिएको छ ।
इलाम-१ मा वामपन्थी दलहरूको प्रभाव नयाँ होइन । वि.सं. २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका वेनुपराज प्रसाईं विजयी भएयता यस क्षेत्रमा कांग्रेसले पुनः जीत निकाल्न सकेको थिएन । त्यसपछि लगातार वामपन्थी नेताहरूले यहाँ आफ्नो राजनीतिक पकड कायम राख्दै आएका थिए ।
वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचन, वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचन तथा वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका हाल नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल लगातार विजयी हुनुभएको थियो । खनालको व्यक्तिगत प्रभाव, पार्टी संगठन र वामपन्थी मतदाताको एकताले इलाम-१ लाई एमालेको बलियो आधार क्षेत्रका रूपमा स्थापित गरेको थियो ।
पछि वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा खनाल नेकपा एमाले छोडेर एकीकृत समाजवादीबाट उम्मेदवार बन्नुभयो उहाँलाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत निर्वाचित हुनुभएको थियो । त्यसले एमालेको संगठनात्मक शक्ति अझै बलियो रहेको संकेत गरेको थियो । तर यसपटकको निर्वाचनमा भने परिस्थिति फरक देखियो । कांग्रेसका उम्मेदवार निस्कल राईले युवा नेतृत्व, स्थानीय मुद्दा र परिवर्तनको सन्देशलाई चुनावी अभियानको केन्द्रमा राख्नुभयो । ग्रामीण क्षेत्रका समस्या, रोजगारी, विकास र स्थानीय पूर्वाधार सुधारका विषयलाई उहाँले प्राथमिकताका साथ उठाउनुभएको थियो । यस पटक मतदातामा देखिएको परिवर्तनको चाहना, नयाँ पुस्ताको सहभागिता तथा प्रतिस्पर्धी दलहरूबीचको मत विभाजनले कांग्रेसलाई फाइदा पुग्यो । विशेषगरी एमाले र श्रम संस्कृति पार्टीबीच मत विभाजन हुँदा कांग्रेसले तुलनात्मक रूपमास्थिर मत आधार कायम राख्न सकेको देखिन्छ ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत प्राप्त गर्दै चौथो स्थान हासिल गर्नुभयो भने नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ७ हजार ६६५ मत पाएर पाँचौँ स्थानमा रहनुभयो । यसले इलाम-१ मा बहुदलीय प्रतिस्पर्धा अझ व्यापक बन्दै गएको संकेत पनि दिएको छ । यस निर्वाचनमा विभिन्न १३ राजनीतिक दलका १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।
मतदाताको सहभागिता र बहुदलीय प्रतिस्पर्धाले इलाम-१ मा लोकतान्त्रिक अभ्यास सक्रिय रहेको देखाएको छ । तर यसपटकको परिणामले लामो समयदेखि कायम रहेको एमालेको राजनीतिक विरासत तोड्दै कांग्रेसलाई पुनः स्थापित गराएको छ । लामो समयदेखि एउटै दलको प्रभाव रहेको क्षेत्रमा मतदाताले परिवर्तन रोज्नुले आगामी निर्वाचनहरूमा राजनीतिक दलहरूलाई नयाँ रणनीति अपनाउन दबाब सिर्जना गर्ने देखिन्छ ।
कांग्रेसका लागि भने यो जीत केवल एक सिटको जित मात्र होइन, लामो समयपछि परम्परागत रूपमा चुनौतीपूर्ण मानिएको क्षेत्रमा राजनीतिक पुनरागमनको संकेत पनि हो । अब यस जीतलाई स्थायी राजनीतिक आधारमा रूपान्तरण गर्न कांग्रेसले स्थानीय अपेक्षा पूरा गर्नुपर्ने चुनौती पनि उत्तिकै ठूलो छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि