इलाम । भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसँगै इलामको राजनीतिमा नयाँ सन्देश प्रवाह भएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट निस्कल राई र क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङ विजयी भएसँगै इलामले संघीय संसदमा दुई युवा नेतृत्व पाएको हो ।
लामो समयदेखि अनुभवी तथा पुराना नेताको प्रभावमा रहेको इलामको राजनीतिमा यसपटकको परिणामले पुस्तान्तरणको संकेत दिएको छ । युवापुस्ताबाट प्रतिनिधिसभामा सशक्त उपस्थिति देखिनु इलामको राजनीतिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै जिल्लाभर नयाँ आशा र अपेक्षाको वातावरण बनेको छ । इलामका विकासका विभिन्न मुद्दा वर्षौंदेखि उठ्दै आए पनि अपेक्षित रूपमा सम्बोधन हुन सकेको छैन । अब युवा नेतृत्व संसदमा पुगेपछि जिल्लाको विकासले गति लिने अपेक्षा गरिएको छ ।
विजयी भएका दुवै युवा नेताले चुनावी अभियानका क्रममा इलामको समग्र विकासलाई केन्द्रमा राखेर जनतासामु विभिन्न प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, शिक्षा र स्वास्थ्य सेवाको सुधारलाई प्राथमिकतामा राख्ने उहाँहरूको योजना रहेको बताइएको छ । इलामको निर्वाचन क्षेत्र नं. १ लामो समयदेखि वामपन्थी राजनीतिक प्रभावको गढ मानिँदै आएको क्षेत्र हो । विशेष गरी पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रभावका कारण यो क्षेत्र दशकौँसम्म एमालेको बलियो आधारका रूपमा स्थापित थियो । तर हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले त्यो राजनीतिक समीकरणलाई उल्ट्याउँदै नेपाली कांग्रेसलाई २६ वर्षपछि पुनः स्थापित गराएको छ ।
यस निर्वाचनमा नेपाली कांग्रेसका युवा उम्मेदवार निस्कल राई १४ हजार ५४३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत ल्याउँदै तेस्रो स्थानमा सीमित हुनुभयो ।
मतपरिणामले इलाम–१ को परम्परागत राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन भएको संकेत दिएको छ । लामो समयदेखि एमालेको प्रभावमा रहेको यस क्षेत्रमा कांग्रेसले जीत निकाल्नु केवल निर्वाचन परिणाम मात्र नभई राजनीतिक प्रवृत्तिको परिवर्तनको संकेतका रूपमा समेत हेरिएको छ ।
विशेषगरी इलाम जस्तो सम्भावनायुक्त जिल्लामा कृषि, चिया उद्योग, पर्यटन र युवा रोजगारीका विषयलाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको छ । स्थानीय नागरिकहरूले अब यी विषय संसदमा सशक्त रूपमा उठ्ने अपेक्षा गरेका छन् भने इलाम १ प्रतिनिधिसभा बाट विजयी बन्नुभएका निस्कल राईले त्यो काम पुरा गर्ने समेत बताउनुभयो । राइले भन्नुभयो , “जनताको मतको सम्मान गर्दै जनताको सेवामा सधै तल्लीन रहनेछु । ”
एउटै जिल्लाबाट एकैपटक दुई युवा प्रतिनिधि संसदमा पुग्नु सामान्य घटना होइन । यसले केवल नेतृत्व परिवर्तनको संकेत मात्र होइन, राजनीतिक सोच र कार्यशैलीमा पनि नयाँ अध्याय सुरु भएको संकेत दिन्छ ।
यस्तै इलाम क्षेत्र नं. २ को राजनीतिक यात्रा निकै रोचक मोडबाट गुज्रिएको छ । लामो समयसम्म एमाले नेता एवम् संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङको एकल प्रभाव रहेको यस क्षेत्रमा उहाँको निधनपछि भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनले नयाँ पुस्ताको नेतृत्व अगाडि ल्याएको थियो ।
२०८१ बैसाख १५ गते भएको उपनिर्वाचनमा पार्टीले सुवासकै कान्छा छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनायो । लामो समय सो क्षेत्रमा निर्माण भएको राजनीतिक विरासत, जनतासँगको सम्बन्ध र आफ्नै सक्रियाका कारण उहाँले उपनिर्वाचन जित्दै पहिलोपटक संसदको यात्रा तय गर्नुभयो । १६ महिनाको संसदीय अभ्यासमा इलामे मतदाताको विश्वास जित्नुभएका सुहाङले २०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पनि एमालेको तर्फबाट विजयी भइ संसदको पुन यात्रा तय गर्नुभएको हो । निकटतम प्रतिष्पर्धी कांग्रेसका भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गर्दै सुहाङ इलाम क्षेत्र नं.२ लाई प्रतिनिधित्व गर्दै दोस्रो पटक सांसद बन्नुभएको हो । सुहाङले २२ हजार ४२६ मत निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत मात्र प्राप्त गर्नुभयो ।
एमालेका तत्कालीन उपाध्यक्षसमेत रहनुभएका स्व सुवासचन्द्र नेम्बाङको निधनपछि भएको उपनिर्वाचन मार्फत संसदीय यात्रामा प्रवेश गर्नुभएका सुहाङले बुवाको विरासत मात्र जोगाउनुभएन्, दोस्रोपटक पनि जनताको विश्वास जित्दै आफूलाई सफल नेतृत्वकर्ताको रुपमा स्थापित गराउनुभएको छ ।
इलाममा युवाहरूको बढ्दो राजनीतिक सक्रियता र परिवर्तनको चाहनाले पनि यसपटकको निर्वाचन परिणाममा महत्वपूर्ण भूमिका खेलेको छ । अब संघीय संसदमा पुग्नुभएका यी दुई युवा नेतामाथि इलामको आवाज सशक्त रूपमा उठाउने जिम्मेवारी आएको छ । जिल्लाको विकास, जनताको अपेक्षा र समग्र समृद्धिका मुद्दालाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्नेे प्रमुख दायित्व रहेको इलाम २ प्रतिनिधिसभा बाट विजयी बन्नुभएका सुहाङ नेम्बाङले बताउनुभयो ।
इलामवासीले पनि नयाँ पुस्ताको नेतृत्वबाट नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी कामको अपेक्षा गरेका छन् । प्रतिनिधिसभामा पुग्नुभएका यी दुई युवा नेताले जनताको भरोसालाई कसरी व्यवहारमा उतानुहुन्छ भन्ने कुरा अब आगामी दिनमा स्पष्ट हुने राजनीतिक वृत्तमा चर्चा समेत सुरु भइसकेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि