नेपाली साहित्यमा पछिल्लो समय जीवनका यथार्थ अनुभूति, सामाजिक सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेर लेखिएका कृतिहरू पाठकमाझ लोकप्रिय हुँदै गएका छन् । यस्तै जीवनका विविध अनुभूति र सामाजिक सन्देशलाई समेटेर कथाकार रजनी श्रेष्ठले तयार पारेको कथा–संग्रह ‘विस्मृति’ भर्खरै पाठकमाझ आएको छ । यो संग्रहले समाज, परिवार, प्रेम, कर्तव्य, नारी स्वाभिमान र मानवीय मूल्य-मान्यताका विभिन्न पक्षलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।
‘विस्मृति’ कथा-संग्रहले पाठकलाई केवल कथा पढ्ने आनन्दमात्र होइन, जीवनका मूल्य र सम्बन्धको महत्वबारे सोच्न प्रेरित गर्छ । यही विशेषताका कारण यो कृति नेपाली कथा साहित्यमा उल्लेखनीय स्थान बनाउन सक्षम देखिन्छ ।
यस कथा-संग्रहमा ४० वटा कथा समावेश छन् । कथा आफैंमा जीवनको एउटा सानो तर गहिरो अनुभूति हो । मानव जीवन छोटो भएझैँ त्यसभित्र घट्ने घटना, अनुभव र सम्बन्धका आयाम प्रायः संक्षिप्त तर अर्थपूर्ण हुन्छन् । यही भावलाई कथाकारले छोटा तर मार्मिक कथामार्फत प्रस्तुत गरेकी छन् । संग्रहका कथाहरू पढ्दै जाँदा जीवनका विविध पक्ष–खुशी, पीडा, त्याग, प्रेम, विरक्ति, स्वार्थ, सहानुभूति–सबैलाई नजिकबाट अनुभव गर्न सकिन्छ ।
कथा–संग्रहका शीर्षक आकर्षक, अर्थपूर्ण र सान्दर्भिक छन् । शीर्षक हेर्दा नै कथाभित्रको भाव वा घटनाको आभास गर्न सकिन्छ । यही शीर्षक र कथ्यबीचको सामञ्जस्य कथाकारको विशेषता पनि हो । संग्रहका केही शीर्षकहरू–‘विस्मृति’, ‘परिवेश’, ‘परदेश’, ‘विश्वास’, ‘वृद्धाश्रम’, ‘समर्पण’, ‘आत्मीयता’, ‘आभास’, ‘संयोग’, ‘नारीभावना’ आदिले नै कथाहरूको भावभूमि र सामाजिक सन्दर्भलाई संकेत गर्छन् । शीर्षकहरू छोटा, मीठा, गहिरा र गम्भीर छन्, जसले पाठकको ध्यान सजिलै आकर्षित गर्छ ।
यस संग्रहको अर्को महत्वपूर्ण पक्ष यसको आवरण-पृष्ठ पनि हो । आवरणमा देखिने नारी आकृति केवल चित्रात्मक सजावटमात्र नभई सांकेतिक अभिव्यक्ति हो । अनुहारभरि देखिने धर्साहरू, जागरूक दृष्टि र औँला ठड्याइएको संकेतले समाजभित्र रहेका असंख्य कथा, व्यथा, संघर्ष, त्याग, प्रेम, पश्चात्ताप र बाध्यताका अनुभूतिहरूलाई संकेत गरेको जस्तो लाग्छ । यसले पाठकलाई समाजको यथार्थतर्फ ध्यानाकर्षण गराउने काम गर्छ । आवरणले नै संग्रहभित्र समेटिएका कथाहरूको भावनात्मक धरातललाई प्रतीकात्मक रूपमा उजागर गरेको अनुभूति हुन्छ ।
संग्रहको शीर्षक ‘विस्मृति’ पनि यहीभित्रको एक कथाबाट लिइएको हो । ‘विस्मृति’ कथामा स्मृतिभ्रंशको रोगबाट पीडित पत्नीप्रति एक पतिले देखाएको निस्वार्थ सेवा, धैर्य र प्रेमको मार्मिक चित्रण गरिएको छ । जीवनका कठिन अवस्थाहरूमा पनि साथ र समर्पण कस्तो हुनुपर्छ भन्ने सन्देश यस कथाले दिन्छ । यो कथा केवल रोग र पीडाको कथामात्र होइन, वैवाहिक सम्बन्धको गहिरो मर्म र मानविय कर्तव्यबोधको उत्कृष्ट उदाहरण हो ।
त्यस्तै ‘वृद्धाश्रम’ कथाले आधुनिक समाजमा बढ्दो पारिवारिक विखण्डन र सन्तानले आफ्ना अभिभावकप्रति गर्ने उपेक्षाको यथार्थ चित्रण गर्छ । आफ्नै स्वार्थका कारण कर्तव्यबाट च्युत हुने सन्तान र पछि आफैंलाई समस्या पर्दा देखिने लाज र ग्लानिको अवस्थालाई कथाले संवेदनशील ढंगले प्रस्तुत गरेको छ । यस कथाले पाठकलाई अभिभावकप्रति कर्तव्यबोध र जिम्मेवारीको स्मरण गराउँछ ।
‘नारीभावना’ कथामा नारी स्वाभिमान र आत्मसम्मानको विषयलाई उठाइएको छ । कथाकी पात्र उषाले नारीको भावुकता, सहनशीलता र प्रेममा समर्पणको प्रतिनिधित्व गरेकी छन् । नारी स्वभावतः कोमल, सहनशील र प्रेमपूर्ण हुन्छे, तर प्रेममा धोका पाउँदा आत्मसम्मानका लागि कठोर निर्णय लिनसक्ने सामर्थ्य राख्छे भन्ने सन्देश यस कथाले दिन्छ । यस कथाले नारी स्वाभिमान र आत्मसम्मानको महत्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
यसैगरी ‘आभास’ कथामा सम्पत्तिको द्वैध चरित्रलाई देखाइएको छ, सम्पत्ति कहिले मित्र त कहिले शत्रु बन्नसक्छ । मानिसबीचको सम्बन्धमा सम्पत्तिले कसरी दूरी वा निकटता ल्याउनसक्छ भन्ने यथार्थ कथाले उजागर गर्छ । त्यस्तै ‘आत्मसन्तोष’ कथामा मातृत्वको निःस्वार्थ प्रेम र त्यागको सुन्दर चित्रण गरिएको छ । नारीभित्र रहेको मातृत्व भावना कति गहिरो र समर्पित हुन्छ भन्ने कुरा यस कथाबाट स्पष्ट हुन्छ ।
जीवनका विविध अनुभूति र सामाजिक सन्देशलाई समेटेर कथाकार रजनी श्रेष्ठले तयार पारेको कथा–संग्रह ‘विस्मृति’ भर्खरै पाठकमाझ आएको छ । यो संग्रहले समाज, परिवार, प्रेम, कर्तव्य, नारी स्वाभिमान र मानवीय मूल्य–मान्यताका विभिन्न पक्षलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।
भाषा र शैलीका दृष्टिले पनि यो कथा-संग्रह उल्लेखनीय छ । कथाहरूमा प्रयोग गरिएको भाषा सरल, सहज र बोलिचालिको छ । यही कारणले कथाहरू स्वाभाविक र जीवन्त लाग्छन् । कथाकारले जटिल साहित्यिक शब्दावलीभन्दा सामान्य पाठकले सजिलै बुझ्नसक्ने शैली अपनाएकी छन् । यसले कथा पढ्दा पाठकलाई कथाभित्रको वातावरण र पात्रसँग नजिक हुन सजिलो बनाउँछ ।
संग्रहका कथाहरूमा जीवनका विविध आयाम भेटिन्छन्, कतै रोदन, कतै हाँसो, कतै विछोड, कतै संयोग । समाजमा भइरहने यस्तै विविध अनुभूति र अवस्थाहरूलाई कथाकारले सरल तर संवेदनशील ढंगले प्रस्तुत गरेकी छन् । यही विविधताले संग्रहलाई रोचक र प्रभावकारी बनाएको छ ।
समग्रमा हेर्दा ‘विस्मृति’ कथा-संग्रह केवल मनोरञ्जनका लागि मात्र नभई नैतिक मूल्य, कर्तव्यबोध, पारिवारिक सम्बन्ध र सामाजिक चेतनालाई उजागर गर्ने कृति हो । कथाहरूले पाठकलाई एउटा महत्वपूर्ण सन्देश दिन्छन्, मानवता, संस्कार, सम्बन्ध र कर्तव्यका मूल्यलाई कहिल्यै बिर्सनु हुँदैन । यस्ता मूल्यहरूको विस्मृति भयो भने समाजमा विकृति र विघटन बढ्नसक्छ भन्ने चेतावनी पनि कथाकारले कथामार्फत व्यक्त गरेकी छन् ।
विदेशमा बसेर पनि नेपाली समाज, परिवार र सांस्कृतिक परिवेशप्रति चिन्ता र माया व्यक्त गर्दै कथाकारले यस कृतिमार्फत साहित्यिक योगदान दिएकी छन् । यसका लागि कथाकार रजनी श्रेष्ठ प्रशंसाका पात्र छन् । आगामी दिनहरूमा पनि यस्तै जीवनमुखी र सन्देशमूलक कृतिहरू नेपाली साहित्यमा थपिँदै जाऊन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
‘विस्मृति’ कथा-संग्रहले पाठकलाई केवल कथा पढ्ने आनन्दमात्र होइन, जीवनका मूल्य र सम्बन्धको महत्वबारे सोच्न प्रेरित गर्छ । यही विशेषताका कारण यो कृति नेपाली कथा साहित्यमा उल्लेखनीय स्थान बनाउन सक्षम देखिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि