काठमाडौं । आख्यानकार, कवि तथा साहित्यिक पत्रकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ को बालकथासंग्रह ‘मेरी छोरी मान्या’ लोकार्पण गरिएको छ । राइजिङ स्टार बोर्डिङ स्कुल, मण्डिखाटारले आयोजना गरेको कार्यक्रममा कृतिमाथि समीक्षासमेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले कृतिको लोकार्पण गर्दै सरित् समर्पित तथा अब्बल कथाकार भएको बताउनुभयो । उहाँले बालमनोविज्ञानलाई आत्मसात् गरी लेखिएका कथाले बालबालिकालाई जीवन र समाज बुझ्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कृति बालबालिकाको चेतना तह र मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको बताउँदै यसमा समाजको सौन्दर्य, गतिविधि र वातावरणलाई चित्रण गरिएको बताउनुभयो । विशेष अतिथि साहित्यकार लक्ष्मी उप्रेतीले सरित्को लेखनमा बालमनोविज्ञान प्रभावकारी रूपमा अभिव्यक्त भएको टिप्पणी गर्नुभयो ।
समालोचक डा.छायादत्त न्यौपानेले उक्त कृतिले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रेरित गर्ने बताउनुभयो । कृतिका सर्जक सरित्ले बालसाहित्य समयसापेक्ष बालमनोविज्ञानमा आधारित हुनुपर्ने धारणा राख्नुभयो ।
विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका सभाध्यक्ष कृष्णकुमार बहोराले विद्यार्थीलाई नियमित अध्ययनसँगै सिर्जनात्मक गतिविधिमा सक्रिय बनाउन विद्यालयले यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री, डा.रचना नकर्मीलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । लोकार्पित कृतिमाथि विद्यार्थी उत्सान गिरी, स्मृति, प्रमिशा कँडेल र रिसिका गुरुङले समीक्षा गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि