सुर्खेत । सामूहिक बलात्कारपछि किशोरी इनिसाको वीभत्स हत्या गरिएको दाबी गर्दै पीडित परिवार र आफन्तजन आन्दोलनमा उत्रिएका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न उनीहरूको माग छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि वीभत्स रूपमा हत्या गरिएको आफन्तको दाबी छ । आन्दोलित पीडित परिवारले निष्पक्ष छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा निवेदन बुझाएका छन् ।
यो घटनाले इनिसाको परिवार मात्र होइन, समग्र समाजलाई स्तब्ध बनाएको छ । घटनाको विरोध र पीडित परिवारलाई न्यायको माग गर्दै काठमाडौंसहित देशका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको छ । पीडित पक्षले छोरीको मृत्यु अत्यन्त अमानवीय र दर्दनाक परिस्थितिमा भएको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेका छन् । इनिसाका दाजु नाता पर्ने टंक विकले दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने बताउनुभयो । ‘घटनाले परिवारलाई अपूरणीय क्षति पुगेको छ । बहिनीको भविष्य उज्यालो थियो, तर त्यो क्रूर घटनाले हाम्रो परिवारलाई नै गहिरो पीडा दिएको छ’ उहाँले भन्नुभयो, ‘घटनाको निष्पक्ष छानविनसहित दोषीको पहिचान र कडा सजाय सुनिश्चित गर्न माग गरेका छौँ । यो घटनामाथि राजनीतिकरण नगरी पीडितलाई न्याय दिन सबै निकाय लाग्नुपर्छ ।’
साथै महिला तथा बालिकामाथि हुने यस्ता जघन्य अपराध रोक्न प्रभावकारी सुरक्षा व्यवस्था र निगरानी बढाउन पनि पीडित पक्षले आग्रह गरेका छन् । यता, स्थानीय बासिन्दा र आफन्तहरूले समेत घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । न्यायको सुनिश्चितता नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने पीडित पक्षले बताएका छन् ।
पीडित पक्षको मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले घटनाबारे अनुसन्धान जारी रहेकाले निष्पक्ष र सत्यतथ्य जानकारी सार्वजनिक हुने बताउनुभयो । दोषी कुनै पनि हालतमा नछुट्ने र कारबाहीको दायरामै ल्याएरै छाड्ने उहाँले पीडित परिवारलाई विश्वास दिलाउनुभयो ।
अनुसन्धान जारी
इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्याए पनि डाक्टरले जीवित नरहेको घोषणा गरेका थिए । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार इनिसाको बलात्कारपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि देखाएको छ । तर, सामूहिक बलात्कार हो कि, होइन ? भन्नेमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।
यस घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको छ । पक्राउ परेकाहरू चारैजना १८ वर्षमुनिका नाबालक हुन् । सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मृतकको परिवारले सामूहिक बलात्कारपछि इनिसाको हत्या भएको दाबी गरेपछि प्रहरीले पनि सोहीअनुसार चार जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दर्ता गर्दै अनुसन्धान जारी राखेको छ । सबै कोणबाट घटनाको अनुसन्धान भइरहेको भन्दै डिएसपी बुढथापाले पक्राउ परेकाहरू सबै नाबालिग रहेको जानकारी दिनुभयो । उहाँका अनुसार इनिसाको प्रदेश अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन । रिपोर्ट आएपछि प्रहरी निष्कर्षमा पुग्ने तयारीमा छ । प्रहरीका अनुसार पुनः पोस्टमार्टम र थप अनुसन्धानका लागि भेरी अस्पताल नेपालगञ्जबाट तीनजना विशेषज्ञको टोलीलाई सुर्खेत बोलाइएको छ । घटनाको गम्भीरताका साथ अनुसन्धान अगाडि बढाइएको छ ।
२३ गते पक्राउ परेका १६ वर्षीय युवकले इनिसासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भएको र उहाँ अचेत भएपछि अरू तीनजना साथीहरूलाई बोलाएर सहयोग मागेको बयान दिएको प्रहरीले जनाएको छ । तर, मृतकको परिवारले भने सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएका छन् । घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कारपछि नै हत्या गरेको जस्तो देखिने इनिसाका दाजु नाता पर्ने चन्द्रबहादुर विकले दाबी गर्नुभयो । प्रहरीले मृतकका आफन्तहरूसँग गर्ने व्यवहार हेर्दा अनुसन्धानप्रति विश्वस्त नरहेको उहाँले आशंका व्यक्त गर्नुभयो ।
विक्षिप्त अवस्थामा परिवार
फागुन २३ गते शनिबार बिहान ६ बजे इनिसा ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्केको उहाँकी आमा तिला विकले बताउनुभयो । आज शनिबार हो, नजाऊ गुर्भाकोट घर जानु छ भन्दै आफूले रोक्न खाजे पनि इनिसाले छिट्टै फर्किहाल्छु भन्दै घरबाट निस्केको तिलाको भनाइ छ । ‘छोरी वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् । बिहान ८ बजे फर्किसक्ने भनेर घरबाट निस्किएकी छोरी ९ बजेसम्म नआएपछि फोन गरेँ, तर फोन स्विच अफ थियो, उहाँले भन्नुभयो, ‘स्कुलमा र कम्प्युटर पढाउने माधव सरको फोन पनि उठेन । केही समयपछि बिरानो नम्बरबाट फोन गर्दै कसैले तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन् भन्यो ।’
त्यसपछि तिला ६ वर्षीय छोरालाई काखमा च्यापेर हतारिँदै शहीद पार्क पुग्नुभयो । त्यहाँ इनिसाको शरीर रक्ताम्मे, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता, अर्कोतिर मोजा देखेपछि आफू बेहोस भएको उहाँ बताउनुहुन्छ । ‘खोल्सातिर सुतेकी इनिसाको शरीरमा कपडा थिएन । कालो ज्याकेटले छोपेको थियो । ‘कालो ज्याकेट हटाउँदै प्रहरीले छोरीको अनुहार देखायो । छातीभरि नीलडाम थिए’ तिलाले भन्नुभयो, ‘म त्यहीँ बेहोस भएँछु । प्रहरीले छोरीलाई अस्पताल पुर्याएको पनि थाहा पाइनँ । अब छिट्टै न्याय नपाए म आफैँ छोरीका हत्याराकै घरमा पुग्छु ।’
हाल इनिसाका बुवा इन्द्रबहादुर विक रोजगारीका लागि दुबईमा हुनुहुन्छ । नेपाली सेनाबाट अवकाश पाएपछि पछिल्लो ६ वर्षयता दुबईको सेनामा कार्यरत उहाँ छुट्टीमा घर आएर एक महिना अगाडि मात्रै दुबई जानुभएको थियो । छोराछोरीको सुन्दर भविष्यका लागि भन्दै इन्द्रबहादुर विदेशिनुभयो । तर, छोरीको मृत्युको खबरले विक्षिप्त बन्नुभएका उहाँ पुनः घर फर्किने प्रयासमा दुबईको एयरपोर्टमा अलपत्र पर्नुभएको छ । मध्यपूर्व क्षेत्रमा जारी लडाइँले दुबईको एयरपोर्ट बन्द भएकाले उहाँको उडान अनिश्चित बनेको पीडित परिवारले बताएका छन् । दुबईको एयरपोर्टमा अलपत्र बुवा इन्द्रबहादुर कहिले नेपाल आउने टुंगो छैन ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न