इलाम । इलाम जिल्लामा गत असोज महिनामा आएको प्राकृतिक प्रकोपपछि भएको भौतिक क्षति र सडक सञ्जालको अवस्था सुधारमा प्रभावकारी काम नभएको भन्दै सचेत इलामेली नागरिकहरूले बिहिवार जिल्ला प्रशासन कार्यालय इलामको ध्यानाकर्षण गराएका छन्।
सचेत इलामेली नागरिकका तर्फबाट संयोजक इश्वर चिपालूले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रकोपपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि अपेक्षाअनुसार पुनःनिर्माणको काम अघि नबढेको बताउनुभएको छ ।
ध्यानाकर्षण पत्रमा असोज १८ र १९ गतेको प्राकृतिक प्रकोपले जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको उल्लेख गर्दै त्यसको व्यवस्थापन र पुनःनिर्माणका काम प्रभावकारी रूपमा अघि नबढेको गुनासो गरिएको छ। विशेष गरी सडक सञ्जालको अवस्था सुधारमा हालसम्म झारो टार्ने काम मात्रै भएको भन्दै आगामी वर्षायाम सुरु हुनुअघि नै ठूलो जोखिम सिर्जना हुन सक्ने चेतावनी दिइएको छ।
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने मुख्य सडक सञ्जाल अवरुद्ध हुने अवस्था आए तीनै जिल्लाको अवस्था भयावह बन्न सक्ने भन्दै ध्यानाकर्षण पत्रमा चिन्ता व्यक्त गरिएको छ। तराई क्षेत्रबाट इलाम तथा अन्य पहाडी जिल्ला जोड्ने मुख्य मार्ग मेची राजमार्ग तथा वैकल्पिक केचना–कञ्चनजंघा सडक लगायतका सडकहरूको तत्काल पुनःनिर्माण र स्तरोन्नति गर्न सरकारसँग माग गरिएको छ।
यस विषयमा विभिन्न निकायले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म सरकार र सम्बन्धित निकाय मौन रहेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
ध्यानाकर्षण पत्रमार्फत निकट भविष्यमा आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै मेची राजमार्ग तथा अन्य वैकल्पिक सडकहरूको पुनःनिर्माण र स्तरोन्नतिको काम तुरुन्त सुरु गर्न सरकारलाई आग्रह गरिएको छ।
साथै जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल अघि नबढाइए चरणबद्ध आन्दोलनदेखि आम हडतालसम्मका कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।
सचेत इलामेली नागरिकहरूले जिल्लाको पुनःनिर्माण कार्य प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको पहलमा आवश्यक समन्वय, सहजीकरण र निर्देशन गर्न समेत अनुरोध गरेका छन्।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि