काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डअन्तर्गत रहेको महिला सशक्तीकरण समितिले आयोजना गर्ने भनिएको विशेष कार्यक्रमको मिति सारिएको छ । यसअघि फागुन २८, २९ र ३० गते आयोजना गर्ने तय गरिएको उक्त कार्यक्रम अब विविध कारणले चैत ११, १२ र १३ गते सञ्चालन गरिने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार कार्यक्रमअन्तर्गत महिला सशक्तीकरणसँग सम्बन्धित विषयवस्तु समेटिएका दुई नेपाली चलचित्र प्रदर्शन गरिनेछ । तय गरिएको नयाँ तालिकाअनुसार चलचित्र ‘कुमारी’ चैत ११ गते र ‘जीवन काँडा कि फूल’ चैत १२ गते प्रदर्शन गरिनेछ । ती चलचित्रहरूमा महिलाको जीवन, संघर्ष, संवेदना र सशक्तीकरणका विविध आयाम प्रस्तुत गरिएको बताइएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यी चलचित्रमार्फत समाजमा महिला सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले नेपाली चलचित्रमार्फत महिलाका मुद्दा, चुनौती र सम्भावनाबारे दर्शकलाई सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
बोर्डले कार्यक्रमको मिति परिवर्तन हुँदा चलचित्र हेर्न इच्छुक भई यसअघि नै बोर्डसँग सम्पर्क गरिसकेका चलचित्रकर्मी तथा सरोकारवालालाई पर्न गएको असुविधाप्रति क्षमायाचना व्यक्त गरेको छ । साथै नयाँ मिति अनुसार कार्यक्रममा सहभागी हुन सबै चलचित्रकर्मी, सञ्चारकर्मी तथा दर्शकलाई आग्रह गरिएको छ । उक्त कार्यक्रममार्फत नेपाली चलचित्र क्षेत्रमा महिलाको भूमिका, योगदान र सशक्तीकरणका विषयमा छलफल तथा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको महिला सशक्तीकरण समितिले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि