काठमाडौं । शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएर निर्वाचन प्रहरी बिदा भएका छन् । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन सुरक्षामा देशभर खटिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार बिदाइ गरिएको हो । ४० कार्यदिनका लागि भर्ना गरिएको उनीहरूको समय फागुन २८ (बिहीबार ) सकिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको बताउनुभयो । उहाँका अनुसार निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र, टीका र खादा लगाएर तथा देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरी बिदाइ गरिएको छ ।
प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले सशस्त्र प्रहरी मातहतका प्रहरीलाई पनि बिहीबार नै बिदाइ गरिएको जानकारी दिनुभयो । भट्टले उनीहरूले पाउनुपर्ने पारिश्रमिक र सेवासुविधा बापतको रकम भने खातामा पठाइसकिएको जानकारी दिनुभयो । उहाँले ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट अनुसारको रासन भत्ता, यातायात भत्ता खाजा खर्च, पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइएको बताउनुभयो ।
उनीहरूलाई काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा औपचारिक कार्यक्रमबीच सम्मानपत्र प्रदान गर्दै बिदाइ गरिएको छ । निर्वाचन अवधिभर मतदान केन्द्र तथा संवेदनशील क्षेत्रको सुरक्षामा खटिएका निर्वाचन प्रहरीले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि उनीहरूलाई सम्मानसहित घर फर्काइएको हो । उनीहरूले पनि हामी हाम्रो कर्तव्य पूरा गर्यौँ, घर फर्कियौँ भनेका छन् ।
तीन लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर सशस्त्र प्रहरी मातहत, नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी तीन लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन गरिएका थिए । जसमध्ये देशभर एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन गरिएका थिए । त्यस्तै, सशस्त्र प्रहरी मातहत पाँच हजार ११० निर्वाचन प्रहरी परिचालन गरिएको थियो । त्यसमध्ये काठमाडौंमा मात्रै तीन हजार ८५४ जना, ललितपुरमा एक हजार ५९६ जना र भक्तपुरमा एक हजार ९३ जना निर्वाचन प्रहरी खटिएका थिए । साथै नेपाली सेना ७९ हजार ७२७ जना परिचालन भएका थिए भने ७५ हजार ५९७ जना नेपाल प्रहरी परिचालित भएका थिए । त्यस्तै, एक हजार ९२१ गुप्तचर पनि निर्वाचनमा परिचालित थिए ।
ड्युटीका क्रममा ११ जनाको निधन
निर्वाचनको ड्युटीका क्रममा ११ जना निर्वाचन प्रहरीको ज्यान गएको थियो भने दुर्घटनामा परेर नेपाल प्रहरीका एक असईको पनि मृत्यु भएको थियो । ड्युटीका क्रममा मृत्यु भएका निर्वाचन प्रहरीका परिवारलाई सरकारले बिमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । यसैगरी, बिरामी परेका निर्वाचन प्रहरीको उपचार खर्च पनि सरकारले बेहोरेको प्रहरीले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि