सुर्खेत । इनिसा विकको मृत्युको कारण पत्ता लगाउन विज्ञ टोली खटाइएको छ । घटनाको सूक्ष्म अध्ययनका लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट पोलियोग्राफी गर्न विज्ञ टोली परिचालन गरिएको हो ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी १६ वर्षीया इनिसाको सामूहिक बलात्कारपछि हत्या गरिएको आफन्तको दाबी छ । फागुन २३ गते बिहान वीरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा इनिसाको शव फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धान गर्न केन्द्रीय सिआइबीको टोली हवाईमार्ग र पोलियोग्राफी टोली स्थलमार्गबाट बिहीबार सुर्खेत आइपुगेको सुर्खेतका डिएसपी सुधिरराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोलियोग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने गर्दछ । त्यस्तै, घटनाको थप अनुसन्धानका लागि पीडित र पीडक दुवै जनाको मोबाइल लगायतका विद्युतीय सामग्रीहरू अनुसन्धानका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको उहाँले बताउनुभयो ।
‘मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरू अनुसन्धानका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ’ उहाँले भन्नुभयो, ‘पोष्टमार्टम रिपोर्ट, पोलियोग्राफी, कल डिटेल लगायतका सबै पक्षलाई केलाएर घटनाको अनुसन्धान भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता तथा डिएसपी मोहनजंग बुढथापाका अनुसार सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । ‘फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको देखिन्छ’, उहाँले भन्नुभयो, ‘सिसिटिभी फुटेजका आधारमा २३ गते बिहान शहीद पार्क घुम्न जाने पूर्व-सल्लाहअनुसार उहाँहरू पार्क नजिकैको जंगलमा गएको देखिएको छ ।’
अत्यधिक रक्तश्रावका कारण निधन
भेरी अस्पताल नेपालगञ्जले इनिसाको मृत्यु अत्यधिक रक्तश्रावका कारण भएको जनाएको छ । अस्पतालका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यका अनुसार पोष्टमार्टम रिपोर्टमा यौनांगको भित्री तथा बाहिरी भाग च्यातिएकाले अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको छ । ‘अत्यन्तै हिंसात्मक प्रकृतिको यौनसम्पर्क भएको देखिन्छ । सामूहिक बलात्कार भएको पुष्टि गर्ने तथ्य भने भेटिएको छैन’, उहाँले भन्नुभयो । पीडितको संवेदनशील अंग पूरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको डा. शाक्यले जानकारी दिनुभयो । कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीनजना चिकित्सकसहित डा. शाक्यले तयार पारेको पोष्टमार्टम रिपोर्टमा समेत सोही कुरा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
इनिसाको बलात्कारपछि हत्या प्रकरणको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पीडित परिवारदेखि अधिकारकर्मीहरूले सरकारलाई दबाब दिएका छन् । घटना घटेको एक हप्ता बितिसक्दा पनि सत्यतथ्य सार्वजनिक नआएको र अनुसन्धानको गति सुस्त रहेको भन्दै पीडित परिवारदेखि अधिकारकर्मीहरू आक्रोशित बनेका छन् ।
अधिकारकर्मी अनिता नेपालीले यस्तो जघन्य घटनामा राज्य संयन्त्रको ढिलासुस्तीले न्यायप्रतिको विश्वास कमजोर बनाउने खतरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दलित समुदायमाथि हुने हिंसा, बलात्कार र हत्या बढ्दै गएका छन् । यस्ता घटना एउटा परिवारको पीडा मात्र होइन ।’
फागुन २३ गते बिहान शहीद पार्क वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी इनिसालाई प्रहरीले प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । इनिसाका दाजु नाता पर्ने टंक विकका अनुसार इनिसाको परिवारको अवस्था अत्यन्त पीडादायी छ । बिहान ट्युसन पढ्न घरबाट निस्किएकी छोरी रक्ताम्मे अवस्थामा फेला परेको खबरले आमाको जीवन नै तहसनहस भएको छ, भने रोजगारीका लागि विदेशमा रहेका बुवाले छोरीको मृत्युको खबर सुनेर पनि तुरुन्त घर फर्किन सक्नुभएको छैन । इनिसा हत्या घटनाको निष्पक्ष छानविन गर्न र हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै देशैभर उहाँको पक्षमा चर्को आवाज उठेको छ ।
महिलामाथि हुने जघन्य अपराधमा कडा कानुनी कारबाही गर्न पूर्वराष्ट्रपति भण्डारीको माग
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताउनुभएको छ । ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाली महिलाहरू अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार तथा हत्या जस्ता घटनाप्रति संकेत गर्दै भण्डारीले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाउने बताउनुभयो । अपराधीहरूले उन्मुक्ति पाउने वा कानुनी छिद्रको प्रयोग गरेर उम्कने अवस्थाको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । राज्यको ध्यानाकर्षण गराउन र पीडितलाई न्याय दिलाउन नागरिक समाज तथा महिला अधिकारवादी संगठनहरूको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिविरुद्ध हदसम्मको कानुनी कारबाही गर्न राज्यले तदारुकता देखाउनु आवश्यक छ । यसका लागि नागरिक समाज र महिला संगठनहरूले निरन्तर आवाज उठाइरहनु अपरिहार्य छ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि