काठमाडौं । पश्चिम एसियामा बढ्दो सुरक्षा चुनौतीका बीच परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । मन्त्रालयले उक्त विवरणको अध्ययन गरी आवश्यकताअनुसार उद्धार, सहयोग तथा अन्य कूटनीतिक पहलका लागि प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसिया क्षेत्रमा तनाव र द्वन्द्व बढ्दै गएको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्न तथा आवश्यक परे उद्धारका लागि तयारी गर्न विभागले फागुन १८ गतेदेखि उक्त अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।
कन्सुलर सेवा विभागकी महानिर्देशक दुपर्दा सापकोटाका अनुसार पोर्टलमार्फत प्राप्त विवरणका आधारमा पश्चिम एसियास्थित नेपाली दूतावासहरूसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे निरन्तर जानकारी संकलन गर्ने काम भइरहेको छ । उहाँले आवश्यकता परे समस्यामा परेका नेपालीलाई तत्काल सहयोग उपलब्ध गराउने तयारीसमेत भइरहेको जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियामा कार्यरत नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न मन्त्रालय र त्यहाँस्थित नेपाली नियोगहरू निरन्तर सक्रिय रहेका छन् । समस्यामा परेका नेपाली नागरिकको उद्धार, सहजीकरण तथा अन्य आवश्यक सहयोगका लागि ती नियोगहरूले स्थानीय निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्दै काम गरिरहेका छन् ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को सम्पन्न दोस्रो बैठकले पश्चिम एसियामा रहेका नेपाली नियोगलाई विशेष निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले समस्यामा परेका नेपाली नागरिकसँग इमेल, टेलिफोन वा अन्य उपयुक्त माध्यमबाट नियमित सम्पर्क गर्न, उनीहरूको मनोबल उच्च राख्न तथा प्राप्त प्रतिक्रिया संकलन गरी मन्त्रालयलाई प्रतिवेदन पठाउन सबै नियोगलाई निर्देशन दिएको छ ।
संयमित, सचेत र सजग रहन आग्रह
यसैबीच मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन आग्रह गरेको छ । साथै, स्थानीय कानुनको उल्लंघन हुनेगरी कुनै पनि प्रकारका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड गर्ने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आदानप्रदान नगर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । पश्चिम एसियामा लाखौँ नेपाली श्रमिक विभिन्न देशमा कार्यरत रहेको अवस्थामा क्षेत्रीय द्वन्द्व चर्किएपछि उनीहरूको सुरक्षालाई लिएर नेपाल सरकारले विशेष चासोका साथ अनुगमन तथा आवश्यक तयारी अघि बढाएको मन्त्रालयले जनाएको छ ।
जारी युद्ध थप चर्किंदै
मध्यपूर्वमा जारी युद्ध थप चर्किंदै गएको छ । इरान र इजरायलबीच नयाँ क्षेप्यास्त्र प्रहार, लेबनानमा हवाई आक्रमण, खाडी क्षेत्रमा समुद्री सुरक्षा संकट र विश्व शक्तिहरूबीच कूटनीतिक टकरावका घटनाले क्षेत्रीय तनाव अझ बढेको संकेत दिएका छन् ।
बिहीबार बिहान इरानको राजधानी तेहरानमा थुप्रै विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ । विस्फोटपछि देशको सुरक्षा संयन्त्र सक्रिय गरिएको इरानले जनाएको छ ।
यसैबीच, इरानले इजरायलतर्फ नयाँ चरणको क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेना र तेहरानको राज्य सञ्चारमाध्यमले बताएका छन् । उक्त आक्रमणपछि तेल अभिभसहित धेरै क्षेत्रमा हवाई हमलाको चेतावनी दिइएको थियो । एएफ्पीका पत्रकारहरूका अनुसार जेरुसेलममा पनि चेतावनी साइरन बजेसँगै विस्फोटको आवाज सुनिएको थियो । तर, इजरायलको आपतकालीन सेवाले तत्काल कुनै हताहत नभएको जनाएको छ ।
इजरायलले लेबनानमा पनि आक्रमण जारी राखेको छ । बासिन्दालाई चेतावनी दिएपछि बिहीबार बिहान दक्षिण बेरुतस्थित हिजबुल्लाहरूको गढ मानिने क्षेत्रमा हवाई आक्रमण गरिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत विमानस्थल जाने राजमार्गमा भएका दुई अलग इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।
युद्धको असर टाढा दक्षिण एसियासम्म पनि पुगेको छ । श्रीलंकाली नौसेनाका एक अधिकारीका अनुसार श्रीलंकाको तटनजिक एक अमेरिकी पनडुब्बीले इरानी युद्धपोतलाई टारपिडो प्रहार गरी डुबाएपछि समुद्रबाट ८७ जनाको शव बरामद गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि