काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको हार स्वीकार गर्नुभएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन बिहीबार अध्यक्ष ओलीले चुनावको नतिजा आफू र आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नआएको भन्दै हार स्वीकार गर्नुभएको हो । निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको उहाँको भनाइ छ । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गर्नु आफ्नो र आफ्नो पार्टीको कर्तव्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।’
निर्वाचन परिणाम आफू र पार्टीको पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ, ‘यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो । निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर, जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन । हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ ।’ अध्यक्ष ओलीले झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसँग लज्जास्पद हार बेहोर्नुभएको छ ।
प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी प्रतिनिधिसभाको २७५ सिटका लागि भएको निर्वाचनमा एमाले प्रत्यक्षतर्फ नौ सिटमा खुम्चिएको छ । समानुपातिकतर्फ आधा मत घटेर जम्मा १६ सिट पाउने हैसियतमा पुगेको छ । दुवैतर्फका गरी प्रतिनिधिसभामा एमालेका २५ जना सांसदको प्रतिनिधित्व सुनिश्चित भएको छ । यसअघि अर्थात् २०७९ को निर्वाचनमा समानुपातिकतर्फ २८ लाख बढी मत (३४ सिट) र प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले संसद्को दोस्रो ठूलो दल बन्दै लोकप्रिय मतमा पहिलो बनेको थियो । तर, योपटक एमालेको सांसद संख्या मात्रै घटेन संसद्को पोजिसन नै बदलिएर दोस्रोबाट तेस्रोको हैसियतमा पुगेको छ । रास्वपाले दुईतिहाइ करिब जनमत पाएको प्रतिनिधिसभा चुनावमा एमाले निकै कम सिटका साथ तेस्रो भएको छ ।
अध्यक्ष छोड्न दबाब सुरु
केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । माधवकुमार नेपालले नेतृत्व गरेको कार्यकालमा भन्दा पनि कमजोर बनेसँगै अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब बढेको छ । निर्वाचनले एकसाथ एमालेको तीन पुस्तालाई धक्का दिएको छ । निर्वाचन परिणामले एमालेको सांगठनिक संरचना नै थला पारिदिएको छ । तर, अध्यक्ष ओली अहिले पनि यो खालको लज्जास्पद परिणाम आउँदा पनि नेतृत्व छाड्न तयार हुनुभएको छैन । यति ठूलो पहिरो गइसक्दा पनि ओलीले बिहीबार प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआएको बताए पनि नेतृत्व छाड्ने कुनै संकेत गर्नुभएको छैन । आफूसहित सबै पदाधिकारी पराजित हुँदा पनि ओलीले नैतिक जिम्मेवारी लिएर नेतृत्व हस्तान्तरणको कुरा गर्न सक्नुभएको छैन । बरु निर्वाचनको आठ दिनपछि बल्लतल्ल निर्वाचन परिणाम स्वीकार गर्नुभएको छ । ‘जेन-जी’ आन्दोलनको बलमा भएको चुनावी नतिजाले एमालेमा तरंग पैदा गरेसँगै आन्तरिक समीक्षासमेत सुरु भएको छ । अध्यक्ष ओलीले व्यक्तिकेन्द्रित सोच, नीति र कार्यशैली नै चुनावी हारको प्रमुख कारण रहेको विश्लेषण गरेका अधिकांश नेता कार्यकर्ताहरूले ओलीले नैतिकताका आधारमा तत्काल अध्यक्ष पदबाट राजीनामा गर्नुपर्ने आवाज बढ्दै जान थालेको छ । यस्तो आवाजलाई ओली निकटस्थ केही नेता कार्यकर्ताले भने अस्वीकार गरिरहेका छन् । एमाले उपमहासचिव योगेश भट्टराईले चुनावी समीक्षा गर्दै नेतृत्वको राजीनामा र पार्टी पुनर्गठनको बहस सार्वजनिक गरेपछि ओली निकटस्थहरू भट्टराईमाथि नै आक्रोश पोख्न पुगेका छन् । उपमहासचिव भट्टराईले चुनावी नतिजापछि नीति र नेतृत्व पुनर्गठनका लागि नेतृत्व तयार नभए अप्रिय निर्णय लिनुपर्ने अवस्था आउन सक्ने बताउनुभएको थियो । सोही सन्दर्भलाई लिएर गण्डकीका स्वास्थ्य मन्त्री तथा एमाले नेता कृष्ण पाठकले भट्टराईलाई अमुक शक्तिकेन्द्रबाट सञ्चालित एजेण्टको आरोप नै लगाउनुभएको छ । पाठकले पार्टी करेक्सन हुनुपर्ने भए पनि भट्टराईले गरेको टिप्पणी गलत भएको जिकिर गर्दै लेख्नुभएको छ, ‘एमाले करेक्सन हुनुपर्छ र हुन्छ पनि । तर, योगेश जस्तो अराजक, असहिष्णु, चरम पूर्वाग्रही र एमाले सक्न अमुक शक्तिकेन्द्रबाट सञ्चालित एजेण्टको अराजक अभिव्यक्तिलाई अनुशासनको दायरामा तान्नुपर्छ ।’
ओलीले गल्ती कमजोरीबारे विश्लेषण गरेर सुधार गर्न सकिने तर नेतृत्व छाड्नु समस्याको समाधान नभएको निकटस्थ नेताहरूलाई भन्ने गर्नुभएको छ । संकटको घडीमा अध्यक्ष छाड्ने कुरा हुनै नसक्ने उहाँको अडान रहेको नेताहरूले जानकारी दिएका छन् । एमाले उपमहासचिव लेखराज भट्टले पार्टीको आन्तरिक विषय पार्टी बैठकमै छलफल हुने उल्लेख गर्दै भन्नुभयो, ‘यो हाम्रो आन्तरिक विषय हो, बैठकमा हुने छलफलबारे अहिले नै बोल्नु उचित हुँदैन ।’ नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे अब नयाँ विकल्प सोच्नैपर्ने जिकिर गर्दै भन्नुभयो, ‘ओलीले नसोच्ने भए अब कार्यकर्ताले सोच्न थाल्छन् । यो बेला सबैभन्दा माथिका नेताले बिदा हुने विकल्पमा जानुपर्छ । यदि नेतृत्वले नसोच्ने हो भने अब एमालेमा व्यापक पलायन हुनसक्छ । यसले आन्दोलन नै दुर्घटनामा पर्छ । हाम्रो आन्दोलन बचाउन नेतृत्वले नसोचे कार्यकर्ताले ठोस कदम चाल्ने बेला आएको छ ।’
ओलीप्रति एमाले नेता घिमिरेको कटाक्ष- ‘सबै ठीक छ महाराज !’
नेकपा एमालेका नेता वासुदेव घिमिरेले पार्टीको लज्जास्पद हार र पार्टी नेतृत्वको शैलीलाई लिएर तीखो टिप्पणी गर्नुभएको छ । नेता घिमिरेले पञ्चायत ढल्दै गर्दा पञ्चहरूले सबै ठीक छ महाराज भन्ने गरेको स्मरण गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पञ्चायत ढल्दै थियो,तर पञ्चहरूको रटान उही–सबै ठीक छ, महाराज ।’ चुनावअघि एमाले छाडेको घोषणा गर्नुभएका घिमिरेलाई उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताले सम्झाइबुझाइ रोकेका थिए । रुपन्देही-३ बाट उम्मेदवार रहेका घिमिरेले यसपटकको चुनावमा जमानतसमेत जोगाउन सक्नुभएन ।
गोकुल बास्कोटाको टिप्पणी- ‘पार्टी सक्किएको त छैन, नसच्याए अर्कोपल्ट सकिन्छ’
एमाले नेता गोकुल बास्कोटाले अहिलेका कमी–कमजोरी नसच्याए अर्कोपटक पार्टी सकिने टिप्पणी गर्नुभएको छ । निर्वाचनमा पराजय व्यहोरेपछि पार्टीको नीति र नेतृत्वबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहेका बेला बास्कोटाले अहिले सक्किएको नभए पनि नसच्याए अर्कोपल्ट सकिने टिप्पणी गर्नुभएको हो । वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखिए पनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको स्मरण गर्दै बास्कोटाले भन्नुभएको छ, ‘पाच वर्षअघि मैले भनेको थिएँ– यो नेकपाको क्लाइमेक्स र कोल्याप्सको समय हो । वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो । तर विचार, सगंठन र व्यवहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कमजोर । सोभियत संघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो । सक्किएको त छैन नसच्याए अर्कोपल्ट सकिन्छ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि