काठमाडौं । नेपालमा खाना पकाउने ग्यास अभावको खबर नयाँ होइन । बेलाबेला बजारमा ग्यास पाइँदैन भन्ने गुनासो बढ्छ, उपभोक्ताहरू घण्टौँ लाइनमा बस्न बाध्य हुन्छन्, र घरायसी कामकाज नै प्रभावित हुन्छ । तर, हरेकपटक उठ्ने मुख्य प्रश्न उही हुन्छ- साँच्चिकै ग्यासको अभाव हो कि बजारमा कालोबजारीको खेल ? सरकार र आपूर्ति सम्बन्धित निकायहरूले पर्याप्त ग्यास आयात भइरहेको दाबी गरिरहँदा पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाउनु शंकाको विषय बन्छ । यदि आयात र आपूर्ति सामान्य छ भने बजारमा किन अभाव देखिन्छ ? कतै कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने वा फाइदा लिने प्रयास त भइरहेको छैन ? यस्ता प्रश्नहरूले बजारको पारदर्शिता र नियमनप्रति गम्भीर बहस आवश्यक बनाउँछन् ।
दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा कमजोरी देखिँदा त्यसको असर आमनागरिकले भोग्नुपर्छ । त्यसैले वास्तविक समस्या कहाँ छ- आपूर्तिमा, व्यवस्थापनमा, वा कालोबजारीमा– भन्ने कुरा स्पष्ट रूपमा पहिचान गरेर समाधान खोज्नु आजको आवश्यकता बनेको छ ।
मध्यपूर्वको तनावका कारण पछिल्लो समय काठमाडौंसहित देशका केही ठाउँमा खाना पकाउने ग्यास अभाव देखिएको छ । अमेरिका-इजरायल र इरानबीच जारी युद्धका कारण आपूर्ति प्रभावित भएपछि ग्यास अभाव भएको हो । काठमाडौंका धेरै उपभोक्ताले समयमा ग्यास नपाएको गुनासो गरेका छन् । दिनभर विभिन्न ग्यास डिपोमा लाइन बसे पनि साँझपख रित्तै हात फर्किनुपरेको उनीहरूको गुनासो छ । काठमाडौंको चाबहिल बस्ने सुर्खेतका चन्द्र बिसीले झण्डै एक महिनादेखि खाना पकाउने ग्यास नपाएको गुनासो गर्नुभयो । दिनकै ग्यास बिक्रेताकहाँ धाउँदा–धाउँदै हैरान भइसकेको उहाँले सुनाउनुभयो । बिक्रेताले भोलि/पर्सि ग्यास आउँछ भनेकै महिना दिन हुन लागे पनि नपाएको उहाँको भनाइ छ ।
यसैगरी, काठमाडौंकै सतुंगल बस्ने अंकुश श्रेष्ठको गुनासो पनि उस्तै छ । उहाँले पनि १५ दिनदेखि पसल धाउँदा पनि ग्यास नपाएको दुःखेसो पोख्नुभयो । ग्यास बिक्रेताले जहिल्यै दुई/चार दिनमा ग्यास आउँछ भन्दै पर्खाएको उहाँको भनाइ छ । ललितपुरको पुल्चोकस्थित एक खाजा घर सञ्चालकलाई ग्यास नपाएर कुन दिन पसलै बन्द हुने हो भन्ने चिन्ता छ । ग्यास खोज्न पसलै बन्द गरेर दौडे पनि नपाएको उहाँले बताउनुभयो । ‘पसलमा भएको अन्तिम सिलिण्डर जोडेको छु । त्यो कुन दिन सकिने हो केही पत्तो छैन’, उहाँले भन्नुभयो, ‘अरू भएका सबै सिलिण्डर खाली छन् । ग्यास खोज्न पसल बन्द गरेरै पनि हिँडेँ । तर, पाइएन । अब कुनै दिन पसलै बन्द होला भन्ने पीर छ ।’
यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । उपत्यकामा अधिकांशले खाना पकाउने ग्यास नपाएको गुनासो गरिरहेका छन् । ग्यास आपूर्ति असहज भएपछि कतिपय ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरूमा उपभोक्ताहरूको लामो लाइन देखिन्छ । यस्तै, लामो लाइन बिहीबार बालाजु औद्योगिक क्षेत्रमा देखिएको थियो । बिहानैदेखि उपभोक्ताहरू रित्ता सिलिण्डर बोकेर लाइनमा बसेका देखिन्थे । कतिपय ग्यास भरिएको सिलिण्डर किनेर फर्किए पनि ग्यास पाउनेहरूको संख्या सीमित थियो ।
अमेरिका, इजरायल र इरानबीच जारी लडाइँका कारण खाडी देशहरूमा पनि तनाव चुलिएको छ । इरान, युएई र ओमानसँग सीमा जोडिएको समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पनि लडाइँबाट प्रभावित भएपछि सो बाटो हुँदै ग्यास र पेट्रोलियम पदार्थ ढुवानी प्रभावित भएको हो । त्यसको असर पश्चिम एसियाभर परेको हो । नेपालमा भारत हुँदै ग्यास र तेल आयात हुने गर्दछ । तर, भारतमै आपूर्ति प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको हो ।
सिलिण्डर ‘होल्ड’ नगर्न निगमको चेतावनी
नेपाल आयल निगमले विश्व बजारमा देखिन सक्ने पेट्रोलियम पदार्थको असहज परिस्थिति मध्यनजर गर्दै उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी प्रयोग गर्न विशेष अपिल गरेको छ । निगमले विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्नसक्ने सम्भावित प्रभावबाट बच्न पूर्वसावधानी अपनाउन सबैमा अनुरोध गरेको हो । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । विशेषगरी मासिक एक सिलिण्डर मात्र ग्यास खपत हुने परिवारले थप सिलिण्डर नभर्न र खाना पकाउन ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग बढाउन निगमले सुझाव दिएको छ ।
त्यस्तै, इन्धन बचतका लागि सवारीसाधनमा ‘राइड सेयरिङ’को व्यवस्था मिलाउन र विद्युत्का लागि जेनेरेटरजस्ता बढी इन्धन खपत हुने उपकरण प्रयोग नगर्नसमेत निगमले उपभोक्तालाई अनुरोध गरेको छ । मध्यपूर्वमा देखिएको समस्याका कारण हालसम्म नेपालको आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर नपरे तापनि नेपाल पूर्णरूपमा आयातमा निर्भर रहेकाले पूर्वतयारी आवश्यक रहेको निगमको भनाइ छ ।
निगमले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कारबाहीको चेतावनी पनि दिएको छ । कसैले अनावश्यक रूपमा ग्यास सिलिण्डर होल्ड गरेको, तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको वा नयाँ सिलिण्डरको अनावश्यक बजारीकरण गरेको पाइए नेपाल सरकारको प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
धनुषामा ‘एक परिवार एक सिलिण्डर ग्यास’
बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय धनुषाले ग्यास बिक्री वितरणमा कडा नियमन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको संयोजकत्वमा सरोकारवाला र सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले ग्यासको सहज आपूर्तिका लागि ‘एक परिवार, एक ग्यास सिलिण्डर’ नीति लागू गर्ने निर्णय गरेको हो । बैठकले ग्यास बिक्रेता (डिलर)हरूले उपभोक्तालाई प्रतिपरिवार एक थान मात्र ग्यास सिलिण्डर बिक्री गर्न पाउने नियम लगाएको छ । यसरी बिक्री गर्दा बिक्रेताले अनिवार्य उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको लगत (रेकर्ड) राख्नुपर्ने छ । साथै, ग्यास वितरण गर्दा व्यापारिक (होटल र रेस्टुरेन्ट) प्रयोजन भन्दा आमघरायसी उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्न प्रशासनले निर्देशन दिएको छ । त्यसैगरी, जिल्लामा रहेका एलपी ग्यास उद्योगहरूले पनि आफ्नो दैनिक बिक्रीको लगत राखी बजारमा समानुपातिक रूपमा ग्यास वितरण गर्नुपर्ने निर्णय गरिएको छ ।
महासंघ भन्छ- अभाव छैन
ग्यास बिक्रेता महासंघ नेपालले भने बजारमा ग्यास अभाव नभएको दाबी गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै अहिलेको असहज परिस्थितिमा पनि बजारमा ग्यास अभाव नभएको दाबी गरेको हो । सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गर्नु गम्भीर अपराध भएको पनि महासंघले जनाएको छ । कतै बिक्रेताले बढी मूल्य लिएको भए तत्काल बन्द गर्न महासंघले आग्रह गरेको छ । साथै, यस्तो काम गर्ने बिक्रेता वा उद्योगलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ । महासंघले गैरकानुनी रूपमा बढी मूल्य नलिन सबै जिल्ला संघमार्फत बिक्रेतालाई जानकारी गराउन पनि अपिल गरेको छ । नेपाल आयल निगमले पनि ग्यास आपूर्ति सहज रूपमा भइरहेको भन्दै नआत्तिन आग्रह गर्दै आएको छ ।
तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो
विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय अमेरिकी डलर नाघेको हो, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको छ । यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच जारी तनावको प्रत्यक्ष परिणाम हो । ऊर्जा ढुवानीका लागि विश्वकै सबैभन्दा महत्तत्वपूर्ण जलमार्ग ‘हर्मुज स्ट्रेट’ आक्रमणको डरले लगभग बन्द छ । इरानको रिभोलुसनरी गार्ड्सले अमेरिका र उसका सहयोगीहरूसँग सम्बन्धित कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल दुई सय डलरसम्म पुग्नसक्ने चेतावनी दिएको छ । बढ्दो मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजार पठाउने घोषणा गरे पनि बजारमा देखिएको त्रास कम हुन सकेको छैन । विज्ञहरूले यसलाई केवल ‘अस्थायी राहत’ भनेका छन् र जबसम्म आपूर्तिमाथिको खतरा रहन्छ, मूल्य उच्च नै रहने बताएका छन् । तेलको मूल्यवृद्धिको असर विश्वभरि देखिन थालेको छ । अमेरिकामा पेट्रोलको मूल्य बढेको छ भने फिलिपिन्स, थाइल्याण्ड जस्ता एसियाली देशमा इन्धन भर्नेहरूको लामो लाइन लागेको छ । ऊर्जा संकट ध्यानमा राख्दै केही देशले सरकारी कामकाजको समय घटाउने र घरबाट काम गर्नेजस्ता उपाय अपनाउन थालेका छन् ।
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
नेपाल आयल निगमले आज (शुक्रबार)देखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने भएको छ । निगमका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन यस्तो कदम चालिएको निगमले जनाएको छ ।
आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने निगमको विश्वास छ । निगमकाअनुसार पहिले एक हजार जनाले ग्यास पाउने ठाउँमा अब दुई हजार जनाले ग्यास पाउनेछन् । यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ । ‘ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर आधार मूल्य (रु ९५५) मा विक्री वितरण गर्ने निर्णय भएको छ’, निगमले भनेको छ । भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको भन्दै निगमले यस्तो जनाएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि