काठमाडौं । पुरु भण्डारी एक सामान्य गाउँका युवा हुन्, जो कठिन परिस्थितिलाई चिर्दै आफ्नो पहिचान निर्माण गर्ने यात्रामा निरन्तर अघि बढिरहनुभएको छ । ओखलढुंगा जिल्ला, सिंहदेवी-७, कुवापानी-प्रकृतिले भरिएको सुन्दर र शान्त गाउँ । यही गाउँमा २०५४ साल असार ३ गते पुरुको जन्म भएको हो । सुन्दर गाउँमा जन्मिए पनि उहाँको बाल्यकाल भने आर्थिक अभाव र सीमित सुविधाबीच बित्यो । विद्यालय नजिकै भए पनि पढाइका लागि समय निकाल्न सजिलो थिएन । बिहानैदेखि गाईभैंसी चराउने, दूध बजार लैजाने जस्ता जिम्मेवारीले उहाँको दिन सुरु हुन्थ्यो । जसो-तसो समय मिलाएर दिउँसो विद्यालय जाने र साँझ झिलिमिली बत्तीको उज्यालोमा गृहकार्य गर्ने उहाँको नियमित दैनिकी थियो । बाल्यकालदेखि नै उहाँले अनुशासन, धैर्य र मिहिनेतको पाठ सिक्नुभयो । उमेर बढ्दै जाँदा उहाँले आफ्नो भित्री शक्ति र आत्मविश्वासलाई आकार दिन थाल्नुभयो ।
विसं. २०७३ साल वैशाखमा केही पुराना कपडा, एक जोडी चप्पल र अनेकौं सपना बोकेर उहाँ राजधानी काठमाडौं छिर्नुभयो । राजधानीको व्यस्त सडक, अपरिचित अनुहार र भविष्यको अनिश्चितताले उहाँलाई विचलित बनाएन, बरु झन् प्रेरित बनायो । काठमाडौंमा उहाँले आफ्नो पहिलो जागिर श्रमिकका रूपमा सुकेधारास्थित ‘अल्फा फर्निचर’ मा सुरु गर्नुभयो ।
केही समयपछि उहाँ गाउँ फर्किएर ‘जनसेवा सहकारी संस्था’ मा कम्प्युटर कर्मचारीका रूपमा काम गर्न थाल्नुभयो । जीवन केही सहज बन्दै थियो, तर दुर्भाग्यवश उहाँकी आमाको स्वास्थ्यमा अचानक समस्या आयो । आर्थिक अभावले उहाँलाई पुनः काठमाडौं फर्कन बाध्य बनायो ।
दुःखपछि अवश्य सुख आउँछ, यो भनाइ उहाँको जीवनमा पनि सत्य साबित भयो । पछिल्लोपटक काठमाडौं फर्किनु उहाँको जीवनको महत्वपूर्ण मोड बन्यो । उहाँले बालुवाटारस्थित ‘तिरुमाला इन्टरप्राइजेज’ मा मार्केटिङ म्यानेजरका रूपमा काम गर्ने अवसर पाउनुभयो । श्रमिकबाट म्यानेजरसम्म पुग्नु उहाँको आत्मबल, मिहिनेत र निरन्तरताको स्पष्ट परिणाम थियो ।
तर, उहाँको मनभित्र एउटा सपना अझै जीवित थियो- कला, संगीत र अभिनय । परिस्थितिका कारण लामो समय उहाँले आफ्नो यो सपना पूरा गर्न सक्नुभएन । समयसँगै अभिनयप्रतिको लगाव र निखार बढ्दै गयो र अन्ततः उहाँले म्युजिक भिडियोको क्षेत्रमा आफ्नो पाइला अघि सार्नुभयो । पछिल्लो समय उहाँ अभिनयमा सक्रिय रहँदै आफ्नो सपना साकार पार्ने यात्रामा हुनुहुन्छ । आज पुरु भण्डारी आफ्ना गाउँका युवाहरूका लागि संघर्ष र प्रेरणाको प्रतीक बन्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘संघर्ष नै मेरो सशक्त गुरु हो र त्यसको प्रतिफल नै मेरो ऊर्जा हो’, उहाँ थप्नुहुन्छ, ‘कहिले काँधमा भारी थियो, कहिले मनमा सपना । तर, जीवन त्यहीँ छ, जहाँ दुःखसँगै संघर्षका अनेक कथाहरू हुन्छन् र त्यहीँबाट मैले आफ्नो छुट्टै बाटो बनाउनु छ ।’ यो केवल पुरु भण्डारीको प्रसंगमात्र होइन, यो हजारौँ युवाहरूको प्रेरणाको कथा हो, जो कठिनाइहरूकै बीच आफ्नो जीवनको मार्ग खोजिरहेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि