साहित्यिक क्षेत्रमा वसन्तराज अज्ञात कुनै परिचय दिइरहनुपर्ने नाम होइन । मूलतः गीति–लेखनमा वसन्त एउटा स्थापित नाम हो । त्यसो त उनी कविता पनि लेख्छन्, यस अर्थमा उनी कवि वर्गभित्रको परिचित स्रष्टा हुन् । कविताकै प्रसङ्ग आउँदा, अन्य विधाको दाँजोमा हिजोआज नेपाली साहित्यमा कविता-विधाले निकै अग्लाइको यात्रा गरिरहेको छ । भन्नै परेन, वसन्तराज अज्ञात यस यात्रामा तदारुकताका साथ अघि बढिरहेका छन् । खास गरेर, कविता-विधाअन्तर्गत छोटो रूपमा लेखिने उपविधा-तांका, हाइकुकै लश्करमा देखापरेको ‘सेन्युकविता’ अहिले नेपाली कविताको क्षेत्रमा निकै प्रचलित छ । वसन्तले त्यही उपविधालाई पछ््याउँदै यही वर्ष एउटा सङ्ग्रह प्रकाशित गरेका छन्, जुन सङ्ग्रहको नाम हो–‘सिरिसा’ । हाइकु शैलीमा लेखिनुपर्ने प्रावधान रहेको यस सङ्ग्रहभित्र रहेका सेन्युअन्तर्गतकाछोटा कविताहरूको अर्थ वा भाव निकै गहन रहनु यिनका विशेषता हुन् । उदाहरणका लागि-
‘छेकिन्न सधैँ
थुम्सेले थुन्दैमा त्यो
अधम कृत्य !’
००
‘कुकुर लड्छ
एक टुक्रा हाडमा
आखिर भोकै !’
वास्तवमा, भनिनुपर्ने कुरालाई भूमिका बाँधेर लम्बेतान रूपले व्याख्या गरिरहनुपर्ने परम्परलाई ‘सेन्यु–टेक्निक’मार्फत वसन्तले भत्काइदिएका छन् । हुन पनि जम्मा तीन लाइनका छ–सातवटा शब्दले सिङ्गो परिवेशलाई बुझाउन सक्नु यी कविताहरूको विशेषता हो ।सङ्ग्रहमा भूमिका लेख्ने डा.यज्ञेश्वर निरौलाका यी पङ्क्तिहरूले पनि यसलाई पुष्टि गर्छन्- ‘सेन्युकार अज्ञातका ३२९ (सङ्ग्रहमा ७८ पृष्ठमा चारवटाको दरले जम्मा ३१२ रहेको) वटा सेन्युहरूको सङ्ग्रह ‘सिरिसा’मा देशप्रेम, विकृति, गरिबी, प्रेम, राष्ट्रियता, मातृवन्दना, प्रेमसौन्दर्य, नारी उत्पीडन, समाजमा देखिएका विकृत–विसङ्गत पक्षको उद्घाटनलगाया विषयमा रचना... )’ ।
‘झुपडी घर
महलको सपना
बेटुङ्गो यात्रा !’
००
‘मनमा डर
बोकेर हिँड्नुपर्ने
भीरको यात्रा !’
उपर्युक्त हरफहरू कति मार्मिक छन् ! दुवै कविताका सङ्केतले एउटै अर्थ दिन्छ, त्यो हो- कुनै सपनाको लक्ष । र, त्यो सपना भनेको आफ्नो घर छाडेर कतै परदेश हिँड्नु हो र त्यो हिँडाइको एउटै लक्ष छ-कमाइ । आर्थिक उपार्जनका लागि विदेश हिँड्नु हाम्रो जस्तो विकासोन्मुख देशका बासिन्दाको बाध्यता वा अपरिहार्यता नै बनेको छ । तर, विदेश गएर कमाउनु त्यति सजिलो छैन । विदेश जानुबित्तिकै कमाइ भइहाल्ने कुनै त्यस्तो जादुको छडी त्यहाँ छैन । जति सजिलो सोचिन्छ त्यो बाटो त्यति सहज छैन । मनमा सधैँ डर बोकेर बाँच्नुपर्छ त्यहाँ ।
प्रेमको कुनै नियम हुँदैन । यो एउटा सार्वजनिक भनाइ हो । प्रेमको बाटोमा हिँड्नेहरू यो भनाइबाट कोही पनि अछूत हुँदैनन् । त्यसो त, प्रेमको बाटो नहिँड्ने को नै पो हुन्छन् र ! प्रेम भन्नु नै बेनियमको बाटो हो । जे सोच्छन् त्यही गर्न खोज्छन् प्रेमीहरू, कल्पनामा तरङ्गिएका भावहरूलाई मूर्तरूप दिन खोज्छन् ।
भीरजस्ता डरलाग्दा त्रासमय हुन्छन् त्यहाँका दिनहरू, कुन सड्को त्यो भीरबाट लडिन्छ पत्तो हुन्न । नामै विदेश, अर्काको देश । त्यो देश आफ्नो मातृभूमि होइन, मातृभूमि भए पो त्यहाँको माटोले माया गर्थ्यो ! कदाचित् पराई माटोमा पाइने माया स्वार्थपूर्ण हुन्छ । हो, यिनै भावलाई बडो सुन्दर तरिकाले माथिका यी दुई छोटा कविताले दर्शाएका छन् । अर्कोतर्फ, प्रेम-विषयक हरफहरूलाई उनले अत्यन्त आकर्षक ढङ्गले कवितामा उनेका छन् :
‘चल्नेछ जब
सम्झनाको लहर
धड्कन तीव्र !’
००
‘बढेर गयो
प्रेममा परेपछि
आसक्ति राग !’
प्रेमको कुनै नियम हुँदैन । यो एउटा सार्वजनिक भनाइ हो । प्रेमको बाटोमा हिँड्नेहरू यो भनाइबाट कोही पनि अछूत हुँदैनन् । त्यसो त, प्रेमको बाटो नहिँड्ने को नै पो हुन्छन् र ! प्रेम भन्नु नै बेनियमको बाटो हो । जे सोच्छन् त्यही गर्न खोज्छन् प्रेमीहरू, कल्पनामा तरङ्गिएका भावहरूलाई मूर्तरूप दिन खोज्छन् । प्रेममा पर्नेहरू (प्रेम गर्नेहरू) आफ्नो प्रेममा आँखा चिम्लेर लागिपरेका हुन्छन् । ज्ञान-विवेक सबै नै दिल-दिमागमा पूर्णतः निषेध हुन्छ, त्यहाँ रहेको हुन्छ त केवल यही ‘अढाई अक्षर- प्रेम’को । यस अर्थमा, प्रेममा आत्मा जोडिएको हुन्छ भन्ने यो भनाइ शतप्रतिशत सही होइन । त्यसो त, भन्नेमात्रै हो प्रेम र त्यसमा विशेषण दिएर-स्वच्छ/चोखो प्रेम ।
विश्वेश्वरप्रसाद कोइरालाले ‘हिटलर र यहुदी’ उपन्यासमा एउटा पात्रमार्फत गहन प्रश्न उठाएका छन्- के प्रेममा शरीर अप्रासङ्गिक हुन्छ ? उपन्यासमा-श्रीमान् बिरामी छन्, औषधोपचारका लागि पैसाको जरुरत छ । श्रीमती बिरामी श्रीमान्लाई असाध्यै प्रेम गर्छिन् । त्यो असाध्य प्रेमका कारण औषधोपचार गर्ने आर्थिक उपार्जनहेतु उनी अर्को गैरपुरुषसँग बेरिन्छिन् । यस स्थितिमा यहाँ एउटा ज्वलन्त प्रश्न खडा हुन्छ– के चोखो प्रेम यस्तै हो ? एकदम अन्योल छ यहाँ । एकातर्फ प्रेम छ अर्कातिर छ शरीर । वसन्तराज अज्ञात प्रेमको विषयमा निश्चिन्त छैनन् । प्रेमका कारण विशुद्ध प्रेमका शब्दहरू पनि लेख्छन् भने त्यही प्रेममा आशक्तिको भाव पनि कोर्छन् । वसन्तका यी सेन्युमा विशेष गरेर राजनीतिक विषय पनि उल्लेखनीय रूपमा प्रस्तुत गरिएका छन् :
‘जनतासामु
लमतन्न नेताजी
चुनावअघि !’
००
‘गठबन्धन
सत्तालिप्सामा लिप्त
ठगबन्धन !’
नेपालको वर्तमान राजनीतिप्रति सिधै मुखरित छन् यी चोटिला हरफ । अत्यन्त मीठो पारामा व्यङ्ग्यको प्रहार पाइन्छन् यिनमा । वास्तवमा, लेखकले आफ्ना शब्द पाठकलाई दिनुमात्रै होइन चित्तबुझ्दो खुराक दिनसक्नु नै लेखकको उपलब्धि र सफलता हो । तीनवटा राम्रा–उपलब्धिकमूलक पुस्तकहरू प्रकाशित गरिसकेका वसन्तराज अज्ञातको यो सेन्यु कवितासङ्ग्रहले उत्तिकै लोकप्रियता कमाउनेमा विश्वस्त हुँदै उनकैशब्दहरू उनैलाई समर्फित–
‘वसन्तराज
मनको दरबार
अज्ञात नाम !’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि