काठमाडौं । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकसँग सम्बन्धित घटनामा प्रहरीले वैज्ञानिक तवरले अनुसन्धान गरिरहेको छ । त्यसका लागि सिआइबीको एक टोलीदेखि पोलिग्राफसम्मको विज्ञ टोली अनुसन्धानमा सक्रिय भएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर हुनुभएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आउनुभएको थियो । शनिबार बिहान ६ बजे ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किनुभएकी उहाँ बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका-४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिनुभएको थियो । प्रहरीले उहाँलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार उक्त टोलीले बिहीबार नै सुर्खेत आएर अनुसन्धान अघि बढाइसकेका छन् । उहाँले अनुसन्धानको कुनै पाटो नछुटोस् भनेर थप विज्ञहरूको टोलीको सहयोग लिइएको बताउनुभएको छ । सुर्खेत प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकिएको दाबी गरेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेको छ ।
अनुसन्धान अधिकृतले फरेन्सिक ल्याबहरूमा मोबाइललगायत पठाइसकिएको छ । त्यस्तै, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल रिपोर्टको लागि र बायो-सेरोलोजिकल परीक्षणका लागि पठाइएको जनाइएको छ । प्रहरी उपरीक्षक शाहीले ती सबै रिपोर्ट आएपछि र त्यसको विश्लेषण गरेपश्चात् प्रहरी एउटा निष्कर्षमा पुग्ने बताउनुभयो । जिल्लामै पनि अनुसन्धानका लागि छुट्टै टोली गठन गरेर काम भइरहेको उहाँले जानकारी गराउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार प्रहरी अनुसन्धानको करिब निष्कर्षमा पुगिसकेको अवस्थामा सामाजिक सञ्जालदेखि सबैतिरबाट विभिन्न तरिकाले बहस गराइएपछि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको हो । उहाँले भन्नुभयो, ‘घटना गम्भीर प्रकृतिको भयो । परिवारहरूले समेत विश्वास नमान्ने अवस्था होला भनेर सबै किसिमको अनुसन्धान गर्न लागिएको हो । ताकि पछि प्रश्न उठ्ने ठाउँ नहोस् ।’
भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुनसक्ने उल्लेख छ ।
पीडित पक्षले फागुन २४ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताउनुभयो । परिवारले सामूहिक बलात्कारको आशंका गर्दै न्यायको माग गरेको छ ।
न्याय नमिले शव नबुझ्ने परिवारको घोषणा
रोजगारीका सिलसिलामा दुबईमा जानुभएका बुबा इन्द्र छोरीको मृत्युपछि घर फर्किएर न्याय नमिलेसम्म शव नबुझ्ने बताउनुभएको छ । उहाँले जिल्ला प्रहरी कार्यालय अगाडि बसेर ‘मेरो छोरीमाथि जघन्य अपराध भएको छ, बलात्कारपछि हत्या भएको छ, न्याय मर्नुभएन’ भन्ने बताउनुभएको छ । उहाँले न्याय नपाएसम्म अस्पतालको शवगृहमा रहेको छोरीको शव नउठाउने पनि बताउनुभएको छ । साथै निष्पक्ष तरिकाले अनुसन्धान हुनुपर्ने माग राख्दै उहाँले ‘प्रहरीले पनि न्याय मिल्छ भन्नुभएको छ, मेरो भनाइ बलात्कारीहरूलाई आजीवन काराबास होस्, कि मृत्युदण्ड हुनुपर्छ, यस्तो नीति नलिए यस्ता घटना घटिरहने’ बताउनुभयो ।
न्याय माग्दै निरन्तर प्रदर्शन
बलात्कारपछि हत्या गरिएकी इनिसालाई न्यायको माग गर्दै देशका विभिन्न स्थानमा विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे’, ‘नारीहरूको सुरक्षा गर्’, लगायतका नारा लेखिएका प्लेकार्डसहित दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै प्रदर्शन भइरहेका छन् । कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले पीडित परिवारले न्याय नपाएसम्म विरोध प्रदर्शन नरोकिने बताएका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि