काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ‘अप्रत्यासित पराजय’ व्यहोरेका पुराना तीन दल चुनावी समीक्षा गर्नतिर लागेका छन् । चुनावमा ‘नयाँको लहर’ सामु लत्रिएका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मतगणना सम्पन्न भएसँगै परिणामको समीक्षा गर्न थालेका हुन् । चुनावको प्रारम्भिक नतिजासँगै केही नेताहरूले विभिन्न प्रश्न उठाए पनि मतगणना सकिएपछि औपचारिक रूपमा चुनावी समीक्षाको विषयले पार्टीभित्र प्रवेश पाउन थालेको हो । पराजयका कारण नेतृत्वमाथि गम्भीर प्रश्न उठिरहेको बेला तीनै पार्टीले पार्टी संयन्त्रभित्रै छलफल अगाडि बढाउने तयारी गरेका हुन् । तीनमध्ये एमाले र कांग्रेसभित्र नैतिक जिम्मेवारी लिएर नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने आवाज पनि उठिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगन थपाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज पार्टीभित्रै उठेको छ । यद्यपि, नेकपामा भने त्यो आवाज निकै मलिनो छ ।
नेकपाले मतदाताको मन परिवर्तन भएका कारण सोचेअनुसार परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ । नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले मतदाताले मन परिवर्तन गर्दा चुनावमा सोचेभन्दा उल्टो परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको हो । केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो ।
यसैगरी, एमाले अध्यक्ष ओलीले पनि चुनावको नतिजा आफू र आफ्नो पार्टीले अपेक्षाअनुसार नआएको भन्दै हार स्वीकार गर्नुभएको छ । उहाँले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गर्नु आफ्नो र आफ्नो पार्टीको कर्तव्य भएको बताउनुभएको हो ।
एमालेका महासचिव शंकर पोखरेलले देशभरका सबै निर्वाचन क्षेत्रको परिणामको समीक्षा प्रक्रिया सुरु गरिएको बताउनुभयो । प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको नतिजा समेटेर चरणबद्ध रूपमा विश्लेषण हुने उहाँको भनाइ छ । क्षेत्रगत समीक्षा सकिएपछि आमनिर्वाचन २०८२ को समग्र समीक्षा पार्टीले गर्ने महासचिव पोखरेलले बताउनुभयो । पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले ‘मिडिया ट्रायल’ गरिएको समेत उहाँले आरोप लगाउनुभयो ।
यसैगरी, कांग्रेसले पनि निर्वाचन परिणामका विषयमा पार्टीभित्र गम्भीर छलफल गर्ने भएको छ । जनताले दिएको मतलाई पार्टीले स्वीकार गरे पनि निर्वाचनबारे पार्टीभित्र गम्भीर छलफल हुने कांग्रेस नेतृ डा. डिला संग्रौलाले बताउनुभयो । निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी सभापति गगन थापाको केन्द्रीय समितिले लिने उहाँले उहाँले बताउनुभयो । तर, सभापतिको राजीनामा अहिलेको विकल्प नभएको उहाँको भनाइ छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुईतिहाइ जनमत पाउँदा पुराना तीन दल निकै तल खुम्चिएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १८० सिट कटाउँदा कांग्रेस, एमाले र नेकपा तीनैको मिलाएर सय पनि कटेको छैन ।
सात दिनभित्र समीक्षा प्रतिवेदन बुझाउन नेकपाको निर्देशन
नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र समीक्षाका लागि सात दिनभित्र प्रतिवेदन बुझाउन मातहतका समितिलाई निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाले मातहतका कमिटीलाई ‘निर्वाचन विशेष निर्देशन-३’ पठाउँदै प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत गठित निर्वाचन परिचालन समितिलाई यस्तो निर्देशन दिइएको हो । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित निर्देशनमा निर्वाचन परिचालनका क्रममा भएका समग्र गतिविधिहरूको तथ्ययुक्त अध्ययन गरी एक हप्ताभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन भनिएको छ । निर्वाचन परिणामबारे चर्चा गर्दै नेकपाले असामान्य अवस्था र विभिन्न षड्यन्त्रबीच सम्पन्न निर्वाचनले लोकतन्त्रलाई पुनः लिकमा ल्याएको निष्कर्ष निकालेको छ । मतदाताले दिएको अभिमतबमोजिम अब संसद्मा पार्टीले जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने नेतृत्वले स्पष्ट पारेको छ । पार्टीले अपेक्षा गरे अनुसारको परिणाम नआउनुमा भने नेतृत्वले विभिन्न कारणहरू औँल्याएको छ । भर्खरै एकता प्रक्रियाबाट अगाडि बढेको पार्टीको संगठन समायोजन नसकिँदै निर्वाचनमा होमिनुपरेको तथा नयाँ चुनाव चिह्न र नीति जनतामा स्थापित गर्न समय नपुगेको पार्टीको बुझाइ छ ।
नेकपाले प्रतिनिधि निर्वाचनले लोकतन्त्रलाई पुनः लिकमा ल्याउने स्थिति बनाएको निष्कर्ष निकालेको छ । मातहतका कमिटीमा ‘निर्वाचन विशेष निर्देशन-३’ पठाउँदै विभिन्न आशंका, अनिश्चितता र षड्यन्त्रको पृष्ठभूमिमा असामान्य अवस्थामा भएको निर्वाचनले लोकतन्त्रलाई ट्र्याकमा ल्याउन सकारात्मक भूमिका खेलेको नेकपाको निष्कर्ष छ ।
कोही एकजना व्यक्तिलाई दोष लगाएर कोही पनि उम्किन पाउँदैन : तामाङ
एमाले नेता शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता तामाङले चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने भए पनि एउटा मात्रै नेतालाई दोष दिएर केही नहुने बताउनुभएको हो । एमालेभित्र कोही अमुक नेताले अर्को नेतालाई दोष लगाएर आफू चोखो छु भन्ने ट्रायल गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । ‘नेकपा एमालेका तर्फबाट जनमत स्वीकार गरेका छौँ । श्रद्धेय अध्यक्षले पनि स्वीकार गरिसक्नु भएको छ । पार्टीभित्र यसको समीक्षा हुन्छ,’ उहाँले भन्नुभयो, ‘कोही एकजना व्यक्तिलाई दोष लगाएर कोही पनि उम्किन पाउँदैन । म पनि उम्किन पाउँदैन । कसैले छोड्नै चाहनुहुन्छ भने त्यो उहाँको निजी कुरा हो । कसैले दबाब दिएर छोड्नुपर्छ, नैतिकता देखाउनुपर्छ भन्न थाल्यो भने त्यो नैतिकताको प्रश्न हुँदैन, दबाबको प्रश्न हुन्छ ।’ पार्टी अध्यक्ष वा कोही नेताले अहिल्यै छाडेर केही नहुने उहाँको भनाइ छ । ‘कसैले छाडेर के-के न सिङ-जरो उम्रिहाल्छ भन्ने छैन । हामीलाई त्यो लाग्दैन । सिंगो पार्टीको समग्र पक्षको समीक्षा गरेर निष्कर्ष निकाल्छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसको मतलब जनताको हामीप्रति सकारात्मक विश्वास छ र त्यो मतमा कन्भर्ट हुन्छ भन्ने हामीलाई लागेको थियो त्यो भएन । तर, यस्तो सुनामीका बीचमा जति मत पाएका छौँ, त्यो सम्मानजनक मत पाएका छौँ ।’
लोकतन्त्रमा हार-जित दुवै हुन्छ, राजीनामा विकल्प होइन : संग्रौला
कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले लोकतन्त्रमा हार-जित दुवै स्वाभाविक भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले निर्वाचनको नतिजा आत्मालोचनासहित स्वीकार गर्ने बताउनुभयो । पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको उहाँको भनाइ छ । ‘हामी जनतामा आत्मालोचना गरेर जान तयार छौँ । राजीनामा अहिलेको विकल्प होइन,’ उहाँले भन्नुभयो, ‘गगन थापा व्यक्ति होइन संस्था हो । आज पदाधिकारी र केन्द्रीय समितिले मात्रै रोक्न खोजेका छन् भनिएको छ । त्यो होइन । कुन परिवेशमा गयौँ, कुन परिस्थितिमा गयौँ भन्ने हुन्छ । लोकतन्त्रमा हार र जित दुवै हुन्छ । हामी आत्मालोचनासहित पराजयलाई स्वीकार गर्छौँ । जनता जनार्दनको शक्ति अगाडि केही छैन ।’
पार्टी संरचना निर्वाचनमा कत्तिको सक्रिय भयो भन्नेले पनि नतिजा फरक पार्ने उहाँको भनाइ छ । सभापति थापा नियमित महाधिवेशनबाट आएको सभापति पनि नभएकाले अहिले नै छाडेर जाने छुट नभएको उहाँले बताउनुभयो । ‘कांग्रेसको आठ लाख क्रियाशील सदस्यता, यत्तिको संरचना, भ्रातृ–शुभेच्छुक कति परिचालन भए/कति भएनन् । हाम्रा उम्मेदवारले कस्ता बाधा व्यवधान बेहोर्नुपर्यो त्यो रिपोर्ट आउने क्रम चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘विशेषबाट भएको पाँच दिनमा आएको सभापति भएकाले उहाँको जिम्मेवारी नियमित महाधिवेशन गरेर पुनर्जागरण गर्नुपर्ने दायित्व छ । यो कुरा देशभरबाट आइरहेको छ ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि